+
+

प्रचण्ड किन गर्दैछन् नेकपा ब्युँताउने कुरा ?

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते २०:२१
Photo Credit : RSS

३२ जेठ, काठमाडौं। सामान्यत: मोर्चाहरु संघर्षका लागि बनाइन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने सत्ताको बागडोर सम्हालेकै बेला मोर्चाको खाँचो पर्न गएको छ। दुई दिनअघि दाङ पुगेर उनले भने, ‘नेकपा एकताका लागि हामीले फेरि पहल गर्नुपर्नेछ। त्यसका लागि समाजवादी मोर्चाको दस्तावेज पहिले टुंग्याऔं।’

प्रचण्डले समाजवादी मोर्चाको चर्चा त गर्दै आएका हुन्, तर प्रधानमन्त्री बनेपछि पहिलोपल्ट नेकपाको सम्झना गर्न पुगे। उनले इंगित गर्दै आएको समाजवादी मोर्चामा माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, उपेन्द्र यादव, वामदेव गौतम लगायत घटकहरु पर्छन्। प्रधानमन्त्री बनेपछि पहिलोपल्ट प्रचण्डले स्मरण गरेको नेकपा ब्युँताउने चर्चाभित्र भने केपी ओलीसमेत पर्न जान्छन्।

राजनीतिले जोडेको, अनि अन्तरसंघर्ष जेलिँदै जाँदा अदालतसमेतले तीन वर्षअघि छुटाइदिएको तत्कालीन नेकपाको सम्झना प्रधानमन्त्री प्रचण्डलाई ठिक यसै बेला किन हुन गयो होला ? किनभने नेकपा भन्नाले मूलभूत रुपमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्डको पुनर्मिलन भनी सम्झनुपर्ने हुन्छ।

आम सम्झनामा अझै ताजा छ, तीन महिनाअघि उनै प्रचण्डले ओलीसँगको गठबन्धन त्यागेर नेपाली कांग्रेससँग मोर्चाबन्दी गर्न पुगेका थिए। कांग्रेससँगको सत्तायात्रामा सवार प्रचण्डलाई अकस्मात् नेकपाको आवश्यकता महसुस हुनु अर्थपूर्ण छ।

प्रचण्डले दाङमा भने, ‘माओवादी केन्द्र, माधव नेपाल, बाबुराम भट्टराई, विप्लव, वामदेव गौतम, उपेन्द्र यादव लगायत शक्तिहरुसहित केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छ। तल्लो तहसम्मै समाजवादी मोर्चा बन्छ। एमालेको मूख्य नेतृत्व एकताको बाधक रहे पनि धेरै नेता कार्यकर्ताहरु एकता पक्षधर छन्। नेकपालाई पुनजीर्वित गर्न, अझ नयाँ नेकपा बनाउन असम्भव छैन।’

प्रचण्डले भनेझैं नेकपा ब्युँताउन असम्भव नहोला, त्यति सहज भने छैन। एमाले पंक्तिभित्र विगतमा माओवादीसँग गठबन्धन, मोर्चाबन्दी औचित्यपुर्ण भए पनि पार्टी एकताको हदसम्म जानु गल्ती थियो भन्ने बुझाई व्याप्त छ। एमालेले प्रचण्डलाई अस्थिरताका पर्याय भनी बुझ्ने गरेको छ। उल्टै आफ्नो दलभित्रका माधव नेपाल लगायत नेताहरु फुटेर अन्यत्र पुग्नुमा एमालेले प्रचण्ड समेतलाई कारक मान्ने गर्छ।

उता प्रचण्डलाई भने नेकपा त परै जावस्, समाजवादी मोर्चा बनाउन समेत केही कठिनाई बाँकी नै छन्। उसो त उनी सक्दो छिटो समाजवादी मोर्चा बनाएर जान हतारिएका छन्। पार्टी सूत्रका अनुसार बाबुराम भट्टराई पक्षसँग सहमति जुट्न सके तुरुन्तै समाजवादी मोर्चा या समाजवादी केन्द्र घोषणा गर्न सम्भव भएको छ।

उनै प्रचण्डले पोहोर साउनमा बाबुराम भट्टराई भेट्दै मोर्चा मात्रै नभई पार्टीकै नाम नेकपा समाजवादी केन्द्र राखेर पुनः एक हुन सकिने प्रस्ताव राखेका थिए। भट्टराईले नेकपा किन जोड्नुपर्यो भनी प्रतिप्रश्न गरेका थिए। उनी अब कम्युनिस्ट पार्टी नाम राखेर जान नहुने मत राख्ने गर्छन्।

‘भट्टराईजी विचारको सवालमा अलिक परै पुगिसक्नुभयो भन्ने बुझाई छ, त्यसैले पार्टी नभए पनि मोर्चाबन्दीसम्म गरेर वाम शक्तिलाई एकगठ्ठा गराउने योजना हो,’ प्रचण्ड निकट नेताले भने।

प्रधानमन्त्रीका मूख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल समाजवादी केन्द्र या मोर्चा बनाएर तल्लो तहसम्म जान सकिने बताउँछन्।तर, आफ्ना पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले दाङमा बोलेझै नेकपा ब्युँताउन सहज परिस्थिति रहेकामा आशंका व्यक्त गर्छन्। ‘नेकपा एक हुँदा सबैलाई राम्रो हुन्छ, तर अहिले नै त्यो अवस्था बनिरहेको छ जस्तो मलाई लाग्दैन,’ गजुरेलले भने।

तत्कालै नेकपा ब्युँतिन सहज नरहेको बताउँछन् नेकपा एकीकृत समाजवादीका उपहासचिव जगन्नाथ खतिवडा। त्यसका लागि विगतमा आन्तरिक संघर्षमा सहभागी पक्षहरुले नयाँ ढंगको स्वीकारोक्तिमा आउनु प्राथमिक हुने उनको भनाइ छ।

‘नेकपा ब्युँताउने परिस्थिति तयार भएको भन्ने लाग्दैन, अहिले गर्न सकिने भनेको संसदमा वामपन्थी जनमत एक ठाउँ आउने हो,’ खतिवडाले भने, ‘किनभने हाम्रो संसदमा विचारधाराका हिसाबले धेरै छरियो, वैचारिक ट्र्याक समाएर अगाडि जान पनि समाजवादी धारका शक्तिहरु एक ठाउँहरु ल्याउनुपर्छ। हामी ल्याउँछौं।’ खतिवडाले केही दिनभित्रै समाजवादी मोर्चाको घोषणा हुन सक्ने बताए।

सत्तारुढ घटकका नेताहरु प्रधानमन्त्री प्रचण्डले नेकपाको पुनःजीवनका लागि दाङबाट संकेतहरु गरे पनि त्यसका लागि कुनै पहल नगरिरहेको बताउँछन्। सरकार चलाउने क्रममा संसदको ठूलो दल कांग्रेससँग कतिपय बेमेलहरु देखिन थाले पनि अहिले नै प्रचण्ड विकल्पको खोजीमा पुगिनसकेको उनीहरुको भनाई छ।

‘कतिपय निर्णय, नियुक्तिहरुमा प्रधानमन्त्री र शेरबहादुर देउवाजीका आ-आफ्नै रुचि र प्राथमिकताहरुले काम गरेका छन्,’ एक नेताले भने, ‘तर यसको मतलब अहिले नै प्रधानमन्त्री दायाँबायाँ सोचिरहनुभएको छ भन्ने होइन।’

राजनीतिक विश्लेषकहरु नेकपा ब्युँतिने परिस्थिति तत्काल तयार नभए पनि असम्भव नरहेको बताउँछन्। नेकपालाई पहिलेको रुपमा या नयाँ अर्को रुपमा ब्युँताउनु ओली र प्रचण्ड दुवैको बाध्यता रहेको उनीहरको विश्लेषण छ।

खासगरी बहकिँदै गरेको मतदाता पंक्तिलाई फकाउन कठिन पर्दै गएको अवस्थामा आगामी चुनावसम्ममा प्रचण्ड र ओली एक ठाउँ आउने प्रयास गरेमा अनौठो नहुने उनीहरुको बुझाइ छ।

विश्लेषक झलक सुवेदी भन्छन्, ‘नेकपा ब्युँताउन प्रचण्डले सोचेजत्तिको सजिलो छैन। तर नेताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्न, दोस्रो तहका नेताहरुको महत्वाकांक्षा पूर्ति गर्नका लागि पनि त्यो आवश्यक हुन सक्ला। कुनै एजेन्डाका कारणले होइन, व्यक्तिहरुको आकांक्षा पूर्तिका लागि नेकपा पुनर्जीवनको अभिव्यक्ति अघि सारिएको हुन सक्छ ।’

एमाले र माओवादी केन्द्रले ०७४ को आम चुनावअघि असोजमा पार्टी एकतासम्मको लक्ष्य राखेर वाम गठबन्धन घोषणा गरेका थिए। त्यसै अनुरुप उनीहरुले संघ र प्रदेशमा ६०-४० अनुपातमा भागबन्डा गर्दै चुनावमा स्पष्ट बहुमत बराबरका सिटहरु जिताएका थिए।

०७५ जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस पारेर एकीकृत पार्टीका रुपमा नेकपा घोषणा भएको थियो। ओली र प्रचण्ड दुवै यसका अध्यक्ष बन्न गएका थिए।

दलभित्र अन्तर्संघर्ष चुलिँदै जाँदा पार्टी एकता लामो टिक्न पाएन। अदालतले पार्टीको नाम ऋषि कट्टेल नेतृत्वको नेकपासँग जुध्न पुगेको भन्दै अर्को नाम ल्याएर दल दर्ता नगर्दासम्म एमाले र माओवादी केन्द्र पूर्ववत रहने फैसला गरिदिएको थियो।

पछिल्लो स्थानीय, संघ, प्रदेश चुनावमा एमाले र माओवादीले एक अर्काविरुद्ध जनमत आकर्षित गर्ने कोसिस गरेका थिए। यद्यपि चुनावपछि ओलीको समर्थनमा प्रचण्ड १० पुसमा प्रधानमन्त्री बन्न पुगे पनि त्यो गठबन्धन समेत दुई महिना पनि टिकेन।

यस्तो परिस्थितिमा प्रचण्डले उही पुरानै नेकपाको प्रासंगिकता बोध गर्नुका अर्थहरु आगामी दिनमा खुल्दै जानेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?