+
+

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १०:०७
बाढीले क्षति पुर्याएको पुल ।

१ असार, ताप्लेजुङ । बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्‍याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्‍यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने ।

स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै ताप्लेजुङमा वर्षा भएको थियो । बिहीबार राति करिब १० बजे ठूलो बाढी नै आयो । वर्षा र बाढीले सुरुमखिम–खेवाङ–याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको छ । यो पुल गत जेठमा मात्रै उदघाटन गरिएको थियो ।

बाढीले काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामानसमेत बगाएको छ । ठाउँ–ठाउँमा पहिरो र बाढीले बाटो अवरुद्ध भएकाले सवारी साधन पनि सञ्चालन हुन सकेका छैनन् ।

कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र केही स्थानीयका घर जोखिममा छन् । जोखिम महसुस भएपछि स्थानीयवासी आफ्ना सामान बोकेर सुरक्षित स्थानमा गइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा गत २४ घण्टामा ३१.६ मिलिमिटर वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म गएरातिजस्तो धेरै पानी भने परेको छैन । तर दिउँसोतिर पुनः वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद सन्जिव अधिकारीका अनुसार अहिले कोशी प्रदेशमा मनसुनी प्रणाली एक्टिभ भएकाले ताप्लेजुङ लगायतका पहाडी जिल्लामा वर्षा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?