+
+

फिर्केखोला मिचेर बनेको सगरमाथा स्कुलको पर्खाल पोखरा महानगरले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १८:४७

१ असार, पोखरा। पोखरा महानगरले फिर्के खोला अतिक्रमण गरी सगरमाथा स्कुलले बनाएको संरचनामाथि डोजर चलाएको छ। सगरमाथाले अटेरी गरी फिर्के खोला अतिक्रमण गरी पर्खाल लगाएको महानगरले जनाएको छ।

पोखरा महानगर नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले फिर्केको मापदण्डबारे नै विवाद रहेकाले नयाँ संरचना नबनाउन पटकपटक आग्रह गर्दा पनि अटेरी गरेपछि भत्काउनुपरेको जानकारी दिए।

‘उहाँ (सगरमाथा)को पुरानो संरचनाको विषयमै विवाद छ। त्यसका लागि छलफल भएर निर्णय हुनै बाँकी छ,’ थापाले भने, ‘नयाँ संरचना नबनाइदिन आग्रह गरेका पनि थियौं। तर, जबरजस्ती रुपमा तारजाली गरेर पर्खाल लगाएकोले भत्काउन बाध्य भयौं।’

पोखरा महानगरले फिर्केमाथि बनेका अन्य संरचना पनि चाँडै भत्काइने जानकारी दिएको छ। फिर्केखोला मापदण्ड मिचेर सरकारीदेखि गैरसरकारी तथा व्यक्तिगत गरी २ सयभन्दम बढी संरचना ठडिएको ०७५ मा महानगरकै प्रतिवेदनले देखाएको छ ।

महानगरले यसअघि पनि पटकपटक फिर्केखोला मापदण्ड तोकेर अतिक्रमण हटाउने घोषणा गर्दै आइरहेको छ। तर, आफ्नै निर्णय लागू गर्न सकेको नसक्दा दिनप्रतिदिन फिर्के साँघुरिँदै गइरहेको छ।

पोखरा १८ अँधेरीकुनाबाट सुरु भएको फिर्के खोला ८ किलोमिटर लामो छ भने खोलाको चौडाइ निरन्तर घट्दै गएको छ । फिर्के बचाउने भन्दै पैदलमार्ग बनाउन महानगरले ०७४ मा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा ‘५ मिटर राइट अफ वे’ मानेर रेखांकन गरेको थियो।

उक्त प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो। फिर्केको १० मिटर मापदण्ड भए पनि तत्कालीन समयमा ५ मिटरलाई नै आधार बनाइएको थियो। जसमा फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना बनेको उल्लेख थियो।

राजनीतिक दलका घोषणापत्र र पोखराको बर्सेनि नीति तथा कार्यक्रममै फिर्केखोला संरक्षण उल्लेख हुँदै आएको छ। तर, तत्कालीन पोखरा उपमहानगरपालिका हुँदैबाट ल्याइएको फिर्के संरक्षण योजनाले पनि सार्थकता पाउन सकेको छैन।

प्रतिवेदन अनुसार संरचनामाथि डोजर चलाउँदा पहुँचवाला निकाय र व्यक्तिको पनि संरचना भत्किने भएकाले महानगरले भत्काउन नसकेको आरोप लाग्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?