+
+

तरकारी खेतीमा रमाएको कामसिंहको परिवार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १०:३९
कामसिंह योञ्जन

३ असार, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका-१७ रानीगञ्ज डाँडाटोलका कामसिंह योञ्जनको परिवारलाई यतिबेला बोडी टिपेर बजार पुर्‍याउन भ्याइनभ्याइ छ । ६ कठ्ठामा लटरम्म फलेका बोडी बेचेर हुने आम्दानीले उनको परिवारको खर्च धानेको छ ।

‘दैनिक झण्डै दुई क्वीन्टलसम्म बोडी फल्छ,’ कामसिंहका जेठा छोरा गोपाल भन्छन्, ‘प्रतिकिलो ५० रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भइरहेको छ । बजार भाउ यस्तै रहिरह्यो भने दुई महिनामा प्रतिकठ्ठा लाख रुपैयाँसम्म कमाइ हुन्छ ।’

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ का ९९ प्रतिशत बासिन्दा कृषिकर्ममा संलग्न छन् । तिनैमध्येका एक नमूना कृषक हुन् कामसिंह । कामसिंहको जम्मा २८ कठ्ठा जग्गा छ । आधा जतिमा तरकारी र बाँकीमा धान, गहुँ र कोदो उब्जाउँछन् ।

खेतीपातीमा श्रीमती डोलमाया, जेठो छोरा गोपाल र कान्छो छोरा दिलीपले साथ दिएका छन् । छोराहरु गोपाल र दिलीप वैदेशिक रोजगारीबाट फर्किएपछि आमा-बुवालाई खेतीपातीमा सघाइरहेका छन् ।

२०५२ सालदेखि नै तरकारी खेती गरिरहेका कामसिंह पछिल्लो तीन वर्षयता उत्पादन र आम्दानी बढाएको बताउँछन् ।

उनलाई औषधि, कृषि उपकरण र खर्च अनुदान दिएर समृद्धि परियोजनाले सघाएको छ ।

तर अन्य स्थानका किसानहरु समयमा मल, बिउ, औषधि र बजार नपाउने समस्याबाट हैरान छन् । सरकारले पनि कृषि क्षेत्रलाई उपेक्षा गरेको अनुभव उनीहरुसँग छ । त्यसैले विदेश जानुपर्ने बाध्यता आइलाग्ने गोपालको बुझाइ छ । ‘सकभर परिवारमै बसेर हाँसीखुसी जीवन बिताउने चाहना हुन्छ,’ गोपाल भन्छन्, ‘तर यहाँ रोजगारी पाइँदैन । कृषि क्षेत्र सरकारको प्राथमिकतामा पर्दैन । तीन तहको सरकार भए पनि समन्वय हुँदैन । समन्वय गरेर कृषि क्षेत्रलाई प्रवर्द्धन गरे धेरै युवाले खेतीबाटै मनग्य आम्दानी गर्न सक्छन् ।’

गोपाल र दिलीप ।

कामसिंहको परिवार जस्ता रानीगञ्जका किसानले फलाएको तरकारी ७० प्रतिशतसम्म काठमाडौं र ३० प्रतिशत जनकपुर लगायत अन्य ठाउँमा निर्यात हुन्छ । कामसिंहका छोरा गोपालका अनुसार बोडी खेती गर्दा राम्रो प्रजातिको बिउ, मल, औषधि, गोडमेल, तारबार, प्लास्टिक समेत गर्दा प्रतिकठ्ठा ३० हजार रुपैयाँसम्म लगानी लाग्छ । त्यसबाट हुने आम्दानीले खर्च कटाएर वर्षमा १० लाख रुपैयाँसम्म कमाउन सकिने उनी बताउँछन् ।

घर परिवारसँगै बसेर खेतीपाती गर्दा आफूलाई रमाइलो लागिरहेको कामसिंहका कान्छा छोरा दिलीप बताउँछन् । उनी भन्छन्, ‘अहिलेको जस्तै आम्दानी भइरहे विदेश नजाने मनस्थिति बनाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?