+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ब्रोकर लाइसेन्स प्रक्रिया सुरु गर्न माग गर्दै एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १७:०३

३ असार, काठमाडौं । नयाँ सेयर ब्रोकहरुको संस्था ‘न्यू स्टक ब्रोकर एसोसिएसन अफ नेपाल’ ले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया सुरू गर्न माग राख्दै नयाँ सेयर ब्रोकरहरुले एमाले अध्यक्ष ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर लाइसेन्सको प्रक्रिया रोकेको छ । सोही कारण उक्त प्रक्रिया अगाडि बढाउनका लागि नेतृत्व लिइदिन एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाइएको नयाँ सेयर ब्रोकरहरुले बताएका छन् ।

२९ जेठमा बसेको अर्थ समितिको बैठकले सेयर ब्रोकरको लाइसेन्स प्रक्रिया रोक्ने निर्देशन दिएको थियो । सर्वोच्च अदालतले समेत ऐनको परिधिभित्र रहेको भन्दै रिट खारेज गरेपछि दिएको लाइसेन्समा अर्थ समितिले अनावश्यक हस्तक्षेप भएको दाबी नयाँ सेयर ब्रोकरहरूको छ । लाइसेन्स लिएका ब्रोकरको मासिक ठूलो खर्च भइरहेकोले यथासक्य चाँडो प्रक्रिया पूरा गरी व्यावसायिक कारोबार गर्ने इजाजत दिनुपर्ने माग उनीहरूको छ ।

विभिन्न ४३ वटा नयाँ कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारी सम्बन्धी कार्य अगाडि बढाउन आशय पत्र दिएर भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुलाई धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

त्यसमध्ये ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर जानकारी गराई नेप्सेको सदस्यताका लागि राजस्व समेत बुझाइसकेको न्यू ब्रोकर एसोसिएसन अफ नेपालले जनाएको छ । यस्तोमा अर्थ समितिले लाइसेन्स सम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिँदा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको इजाजत सम्बन्धि सम्पूर्ण प्रक्रिया रोकिन पुगेको भन्दै उक्त प्रक्रिया सुरु गर्नुपर्ने माग गर्दै एमाले अध्यक्ष ओलीलाई उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

हालसम्म नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र तथा सदस्यता प्राप्त गर्ने क्रममा इजाजत वापत मात्रै करिब १४ करोड राजस्व सरकारलाई तिरिसकेको, ४३ कम्पनीमा करिब ५०० जना कर्मचारीहरुले प्रत्यक्ष रोजगारी पाएको, भौतिक पूर्वाधार वापत करिब ४० करोड जति रकम खर्च भइसकेको र अहिले पनि ४३ कम्पनीहरुको मासिक औसत ४ करोड खर्च भइरहेको नयाँ सेयर ब्रोकरहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?