+
+

अर्थमन्त्रीलाई गोकुल बास्कोटाको प्रश्न : आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ५ गते १४:५८

५ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।

शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै एमाले सांसद बास्कोटाले बजेटको समन्यायिक वितरण नभएको बताए ।

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ?’

कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर दिएअनुसार अर्थ मन्त्रालयले बजेट राख्दा यस्तो भएको उनले बताए । ‘कसले दियो त्यो चिर्कटो ?’ अर्थमन्त्री डा. प्रकाशशरण महत र शहरी विकासमन्त्री सीता गुरुङलाई उनले भने, ‘प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?

नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै उनले असन्तुष्टि जनाए । आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न गरे ।

‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा’, बास्कोटाले भने, ‘म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?