+
+

मन्त्री बनेपछि पहिलो पटक चुनाव क्षेत्र जाँदै थिए पृथ्वी सिंह

जनक विष्ट जनक विष्ट
२०८० असार ५ गते १९:४९

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह पत्नी अमृतासँगै सोमबार गृह जिल्ला बझाङतर्फ जाँदै थिए ।

६ जेठमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका सिंह मन्त्री बनेपछि पहिलो पटक निर्वाचन क्षेत्र जान लागेका थिए ।

मन्त्रालयका कर्मचारी र निजी सचिवालयका कर्मचारीसहितको टोली लिएर चुनाव क्षेत्र जाँदै गरेका उनी सोमबार साँझ डडेल्धुराको राइनो होटलमा बसेका थिए ।

मंगलबार बिहान मन्त्री सिंह सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडीमा अघि लागे भने मन्त्रालय र उनको सचिवालयका कर्मचारी सुपप्र ०१ ००१ झ ३३० नम्बरको अर्को गाडीमा उनीहरुलाई पछ्याउँदै बझाङतर्फ अघि बढे ।

दिउँसो १ः४३ बजे मन्त्री चढेको सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिका–१ को धारछडा भन्ने ठाउँमा सडकबाट ५० मिटर तल खस्न पुग्यो ।

कालङगाड नदीको किनारमा बजारिन पुगेको गाडीमा मन्त्री सिंहसँगै पत्नी अमृता, भाउजु जयादेवी, निजी सुरक्षा गार्ड (पीएसओ) प्रहरी सहायक हवल्दार दीपक भण्डारी र चालक धर्मराज जोशी थिए ।

मन्त्रीकी पत्नी अमृता र भाउजु जयाको बझाङकै एक निजी स्वास्थ्य संस्थामा मृत्यु भयो भने मन्त्री सिंहलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा लगियो । मेडिकल कलेजले अपरान्ह साढे ५ बजे मन्त्री सिंहको मृत्यु भएको घोषणा गरेको छ ।

निमित्त निर्देशक प्रा. डा. ढुण्डीराज पौडेलका अनुसार ४ः ५८ मन्त्री सिंहलाई हेलिकप्टरले अस्पताल ल्याईपुर्‍याएको थियो ।

‘मन्त्रीज्यूको अस्पतालमा पुग्ने बेलामा नै शरीरमा नाभीको चाल थिएन भने मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको थियो’ उनले विज्ञप्तिमा भनेका छन् । तर उनको शरीरमा जीवित लक्षणहरु नदेखिएपछि ५ः३० मा मृत घोषणा गरेका पौडेलले जानकारी दिए ।

गाडीचालक धर्मराज जोशी र मन्त्रीका निजी सुरक्षाकर्मी भण्डारीको नेपालगञ्जमै उपचार भइरहेको छ ।

जयपृथ्वी नगरपालिका–१० घर भई हाल कञ्चनपुरको बेलौरी नगरपालिकामा बसोबास गर्दै आएका मन्त्री सिंहको बुधबार ढंगार मष्टा मन्दिर दर्शन र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम थियो ।

मन्त्रालयका अनुुसार बुधबार नै बझाङमा जिल्ला स्तरीय आपतकालीन उद्दार केन्द्रको उद्घाटन र कार्यालय प्रमुखहरुसँग भेटघाट कार्यक्रम राखिएको थियो । उनी बिहीबार धनगढी फर्किने तय थियो ।

४ मंसिरमा भएको प्रदेशसभा चुनावमा उनी बझाङ–१ बाट सुदूरपश्मिम प्रदेशसभामा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । उनी १२ वर्षसम्म नेपाली कांग्रेस बझाङको जिल्ला समिति सभापति रहेका थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?