+
+

र्‍यापर गिरिशसहित ३ जनाविरुद्ध ज्यान मुद्दाको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते २०:१७

७ असार, विराटनगर । क्याफेमा मासु ल्याउने व्यक्तिको मृत्यु भएपछि चर्चित र्‍यापर गिरीश खतिवडामाथि कर्तब्य ज्यानको उजुरी गरेको छ ।

खतिवडाले विराटनगर महानगरपालिका–१० मा सञ्चालन गरेको ‘जी क्याफे एन्ड बिस्त्रो’ मा मासु पुर्‍याउन आएका व्यक्तिको मृत्यु भएपछि उनीसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा कर्तब्य ज्यानको उजुरी परेको हो ।

खतिवडा उक्त क्याफेका सञ्चालक हुन् । उनको पसलमा मासु ल्याउने मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालक कासीद अन्सारीको मृत्यु भएपछि खतिवडासहित तीन जना विरुद्ध कर्तब्य ज्यानको दाबीसहित जाहेरी परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए । दाहालका अनुसार अन्सारीले क्याफेमा मासु बेच्ने गरेका थिए ।

गत असार ३ गते बिहान खतिवडाको क्याफेमा उनले मासु लिएर आएका थिए । तर एक्कासी उनी गम्भीर घाइते भए । होटलमा घाइते भएका उपचारका लागि कोशी अस्पताल हुँदै विराटनगर नर्सिङहोम लगिएको थियो ।

नर्सिङ होममा सोही दिन बेलुका उनको मृत्यु भएको थियो । आफन्तले पसल सञ्चालक र कामदारले कुटपिट गरी हत्या गरेको दाबी गरेका छन् । मासु दिए बापतको ४० हजार रुपैयाँ लिन बाँकी हुँदा कुटपिट गरी हत्या गरेको दाबी गरेका हुन् ।

मृतकका भाइ मासिद अन्सारीले मासु बिक्री गरेको पैसा माग्न जाँदा दाजुको हत्या भएको आरोपसहित जाहेरी दिएका हुन् । विराटनगर महानगरपालिका ८ का खतिवडासँगै क्याफेमा काम गर्ने जहादा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका– १६ बस्ने अनुराग राउतविरुद्ध जाहेरी परेको प्रहरीले बताएको छ ।

हत्या कि दुर्घटना ?

अन्सारी मासुको पैसा माग्न आउँदा हत्या भएको आफन्तको दाबी छ । तर प्रहरी स्रोत भने आफन्तको दाबी अनुसार घटना भएको नदेखिएको बताउँछ । प्रहरी स्रोतका अनुसार असार ३ गते विहान मासु ल्याएका अन्सारी होटलबाट फोनमा बोल्दै बाहिर निस्कन खोज्दा होटलको सिसामा ठोक्किएका कारण सीसाले काटेको थियो ।

सीसाले तिघ्रामा गहिरो चोट बनाएका कारण उनी गम्भीर घाइते भएका थिए । होटलबाट बाहिर निस्कने क्रममा सीसामा ठोक्किएपछि सिसा फुट्यो, फुटेको सिसाले उनको शरिरमा गम्भीर चोट लागेको देखिएको प्रहरी स्रोतको दाबी छ ।

घाइते अवस्थामा होटलबाट उनलाई उपचारका लागि कोशी अस्पताल हुँदै विराट नर्सिङहोम लगिएको थियो । नर्सिङहोममा उपचारका क्रममा उनको मृत्यु भएपछि आफन्तले सञ्चालक र दुई जना कामदार विरुद्ध जाहेरी दिएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरी पोष्टमार्टम रिपोर्ट आएपछि सबै विषय खुल्ने बताउँछ । ‘पोष्टमार्टम रिपोर्ट आएको छैन, रिपोर्ट आएपछि थप विषय खुल्छ’, डीएसपी दाहालले भने, ‘घटनाको सबै कोणबाट अनुसन्धान गरिरहेका छौ ।’

मृतकका परिवारले अन्सारीको योजनाबद्ध हत्या भएको दाबी गरेको छ । तर प्रारम्भिक अनुसन्धानका क्रममा हत्या भन्दा पनि दुर्घटना जस्तो देखिएको प्रहरी स्रोतको दाबी छ । हत्या वा दुर्घटना भन्ने विषय पोष्टमार्टमपछि खुल्ने प्रहरी नायव उपरीक्षक दाहालले बताए । जाहेरी परेपनि घटनाको अनुसन्धान भइरहेकाले प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?