+
+

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुखसहितका ३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते १६:५३

८ असार, धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका केन्द्रीय प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा शाहले सवारी चालक अनुमती पत्रको लिखित परीक्षामा सहभागी १८० जना र प्रयोगात्मक परीक्षामा २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेको देखिएको उल्लेख गरिएको छ ।

शाहले लिखित परीक्षामा सहभागी १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा/प्राप्तांक र २३ जनाको नतिजा÷प्राप्तांक सच्याएको पनि भनिएको छ ।

शाहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएको भएकाले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी गर्दै आरोप पत्र विशेष अदालतमा दायर गरिएको अख्तियारले जनाएको छ ।

यस्तै सोही कार्यमा तत्कालीन करार सेवामा सहायक कम्प्युटर अपरेटरमा कार्यरत नरेन्द्रकुमार कठरिया र पवनकुमार रावलको समेत संलग्नता देखिएकाले उनीहरुविरुद्ध समेत सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

तत्कालीन प्रमुख शाहले २८३ जना परीक्षार्थीहरुको परीक्षाको परिणाम फेरबदल गरेकोमा कठरियाले १६४ जना परीक्षार्थीहरुको प्रविष्ट नतिजालाई आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको र पवनकुमार रावलले लिखित परीक्षाहरुमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरेर आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट (अपलोड) गरेको पाइएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?