+
+
साफ च्याम्पियनसिप :

कीर्तिमान नजिक अञ्जन

हरिले लामो समय खेलेर १३ गोल गर्दा निराजनको करिअरमा भने उतारचढाव थियो । निराजनले लगातार खेलेको वा खेल्न सकेको भए हरिको कीर्तिमान दशकअघि नै तोडिन पनि सक्थ्यो । कीर्तिमान तोड्ने अवसर अहिले अन्जनलाई आएको छ ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार ८ गते २०:०२

८ असार, बैंगलुरु । नेपालको अन्तर्राष्ट्रिय फुटबल इतिहास पाँच दशक पुग्न लागेको छ । सन् १९८२ को एसियाली खेलकुदमा वाईबी घलेले कुवेतविरुद्ध गरेको गोल पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

त्यसयता आधिकारिक अन्तर्राष्ट्रिय खेलहरुमा गोलसंख्या थपिँदो क्रममा छ । तर, संख्या त्यति थपिएको छैन, जति अपेक्षा गरिएको छ । अहिलेसम्म नेपालका लागि एउटा खेलाडीले करिअरभर गरेको सबैभन्दा धेरै गोल १३ हो । यो कीर्तिमान दुई जनाको नाममा छ । आआफ्नो समयका नेपालका महान स्ट्राइकरहरु हरि खड्का र निराजन रायमाझी ।

हरि खड्काको कीर्तिमान निराजन रायमाजीले बराबरी गरेको पनि १५ वर्ष भइसक्यो । २००८ मा निराजनले हरि खड्काको कीर्तिमान बराबरी गरेका थिए ।

तर, त्यसयता कुनै पनि स्ट्राइकरले त्यो कीर्तिमान छुन सकेका छैनन् । अहिले सबैभन्दा नजिक पुगेका छन्– अन्जन विष्ट ।

भारतको बैंगलुरुस्थित कान्तिरवा रंगशालामा भइरहेको १४औं साफ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै कुवेतसँग ३–१ ले पराजित रह्यो । हारेको खेलमा १ गोल फर्काएका अन्जन विष्ट सर्वाधिक गोलकर्ताको कीर्तिमान नजिक पुगेका छन् । सन् २०१९ मा पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता अन्जनले कुवेतविरुद्ध १२औं गोल गरेका हुन् ।

हरि र र निराजन स्ट्राइकर हुन भने अन्जन विंगर हुन् । फरवार्डले गोल हान्न संघर्ष गरिरहेको बेला विंग्सबाट खेल्ने अन्जनले लगातार जसो गोल गरिरहेका छन् ।

हरिले लामो समय खेलेर १३ गोल गर्दा निराजनको करिअरमा भने उतारचढाव थियो । निराजनले लगातार खेलेको वा खेल्न सकेको भए हरिको कीर्तिमान दशकअघि नै तोडिन पनि सक्थ्यो । कीर्तिमान तोड्ने अवसर अहिले अन्जनलाई आएको छ ।

नेपालले बेंगलुरुमा समूह चरणमै घरेलु टोली भारत र पाकिस्तानसँग खेल्न बाँकी छ । कम्तीमा पनि अन्जनले यही दुई खेलमै त्यो कीर्तिमान बराबरी गर्न सक्नेछन् वा आफ्नो नाममा सार्नेछन् भन्ने धेरैको अपेक्षा छ ।

हरिको १३ गोल

हरि खड्काले सन् १९९५ मा भएको सार्क गोल्डकपमा पाकिस्तानविरुद्ध करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । त्यही वर्ष सातौं दक्षिण एसियाली खेलकुदमा हरिले माल्दिभ्सविरुद्ध दोस्रो गोल गरे ।

यस्तै१९९६ मा एसिया कप छनोटमा ओमानविरुद्ध तेस्रो र १९९७ मा मकाओविरुद्ध विश्वकप छनोटमा चौथो गोल गरे ।

सन् १९९९ मा भारतको गोवामा सम्पन्न साफ च्याम्पियनसिप उनले माल्दिभ्सविरुद्ध आफ्नो पाँचौ र छैटौं गोल गरे । १९९९ मै काठमाडौंमा भएको दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध दुई गोल गरेका हरिले पाकिस्तान र माल्दिभ्सविरुद्ध पनि गोल गर्दै संख्या १० पुर्‍याए ।

त्यसपछि सन् २००१ को विश्वकप छनोटमा मकाउविरुद्ध र इराकविरुद्ध समान १–१ गोल गरे । सन् २००३ मा एसियाकप छनोट प्रारम्भिक चरणमा अफगानिस्तानविरुद्ध गोल गर्दै हरिले कीर्तिमान १३औं गोल गरे । हरिले नेपालका लागि ४९ खेल खेले ।

कीर्तिमान बराबरी गर्ने निराजन

निराजन रायमाझीले ८ वर्षको अरिकरमै १३ गोल गर्दै हरिको कीर्तिमान बराबरी गरेका हुन् । त्यसमा पनि उनले केही प्रतियोगिता र खेलमा सानदार प्रदर्शन गरे । २००१ को विश्वकप छनोटमा ७ गोल गरेका उनले मकाउविरुद्ध ह्याट्रिकसमेत गरेका थिए ।

निराजनले सन् २००० मा एसियाकप छनोटमा भुटानविरुद्ध पहिलो गोल गरेका थिए । त्यसको अर्को वर्ष भएको विश्वकप छनोमा उनले ह्याट्रिकसहित ७ गोल गरे । २००१ मा विश्वकपक छनोटमा उनले मकाउविरुद्ध २ खेलमा ५ गोल गरे भने इराकविरुद्ध २ गोल गरे ।

२००३ मा साफ च्याम्पियनसिपमा भुटान र माल्दिभ्सविरुद्ध १–१ गोल गरेपछि उनको गोल संख्या १० पुग्यो ।

त्यसपछि २००३ मै एएफसी एसियन कप छनोटमा निराजनले अफगानिस्तानविरुद्ध २ गोल गर्दै गोल संख्या १२ पुर्‍याए ।

निराजनले सुरुको चार वर्षभित्रै १२ गोल गर्दै हरिको कीर्तिमान नजिक पुगेका थिए । तर, उनको करिअर उस्तै रहेन ।

त्यसपछि पनि विदेश पलायन भए । नेपाल फर्केर राष्ट्रिय टिममा पुनगामन गर्दै २००८ जुनमा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै हरिको १३ गोलको कीर्तिमान बराबरी गरे । तर, त्यसपछि उनले राष्ट्रिय टिममा धेरै समय खेल्न पाएनन् र थप गोल भएन । उनले नेपालका लागि जम्मा २२ खेलमै १३ गोल गरेका हुन् ।

अन्जनले अहिलेसम्म गरेका गोल

अन्जन विष्ट स्ट्राइकर होइनन् । विंगर पोजिसनमा खेल्ने अन्जन नेपालको राष्ट्रिय टिमका मुख्य गोलकर्ताका रुपमा देखिँदै आएका छन् । नेपालका लागि ५४ खेल खेलिसकेका अन्जनको गोलसंख्या १२ छ ।

त्यसमा पनि अन्जनले पछिल्लो ९ खेलमै १२ गोल गरेका हुन् । यसमा एउटा ह्याट्रिक पनि सामेल छ । अन्जनले २०२२ (असोज २०७९) मा नेपालमै भएको मैत्रीपूर्ण खेलमा बंगलादेशविरुद्ध ह्याट्रिक गरेका थिए ।

अन्जनले सन् २०१९ मा विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोलको खाता खोलेका थिए । चाइनिज ताइपेईमै भएको उक्त खेलमा नेपाल २–० ले विजयी हुँदा दुवै गोल अन्जनले गरेका थिए ।

त्यसपछि अन्जनले दक्षिण एसियाका भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानसहित इराक र कुवेतविरुद्ध गोल गरेका छन् ।

उनले बंगलादेशविरुद्ध ४ गोल गरेका छन् भने चाइनिज ताइपेईविरुद्ध ३ गोल गरेका छन् । यस्तै इराक, भारत, श्रीलंका, पाकिस्तान र कुवेतविरुद्ध १–१ गोल गरेका छन् । २०१९ मा पहिलो दुई गोल गरेका अन्जनले २०२१ मा सर्वाधिक ५ गोल गरेका थिए भने २०२२ मा ४ गोल गरेका थिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?