+
+

प्रचण्डको गेरुबस्त्र विगतको आत्मसमीक्षा हो: दिनबन्धु पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते २०:४५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण धार्मिक क्रियाकलापका कारण पनि चर्चामा रहृयो । भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको सरकारले हिन्दुत्वको राजनीतिलाई अगाडि बढाइरहेको सन्दर्भमा नेपालका प्रमुख दलका कतिपय नेताहरूको धार्मिक रुझान झल्काउने गतिविधि एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन् ।

यसै सन्दर्भमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल भन्छन्, ‘वास्तवमा हामी हिन्दु होइनौं, वैदिक हौं ।’ उनका अनुसार- फारसी भाषामा ‘स’ उच्चारण हुँदैन, ‘ह’ उच्चारण हुन्छ । जस्तै- ‘सप्ताह’लाई ‘हप्ताह’ भनिन्छ । ‘सिन्धु’लाई ‘हिन्दु’ भन्न थालियो । त्यही मान्यता अहिलेको भारतबाट प्रभावित हुँदै नेपालसम्म आयो ।

पोखरेल भौतिकवादी विचारबाट साम्यवाद सम्भव नरहेको भन्दै नेपालमा वैदिक साम्यवादका लागि राजनीतिक नेतृत्वले काम गर्नुपर्ने तर्क गर्छन् ।

मार्क्सवादी चिन्तक कार्ल मार्क्सले वैदिक दर्शन अध्ययन गरेको भए धर्मलाई अफिम नभन्ने उनले तर्क गरे । पोखरेलसँग धर्म र राजनीतिको आसपास रहेर अनलाइनखबरले गरेको कुराकानी –

प्रधानमन्त्रीप्रचण्ड भारत भ्रमणको क्रममा गरेको तीर्थाटन र पहिरिएको बस्त्रका कारण चर्चामा हुनुहुन्छ । तपाईं त युद्धकालमा माओवादीबाट मारिएका पन्डित पिताको सन्तान । खासगरी प्रचण्डको विगतसँग तुलना गरेर पनि सार्वजनिक प्रश्नहरू उठेका छन् ।  उहाँमा बदलावै आएको हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा महाकालेश्वर र नेपाल फर्केपछि पशुपतिनाथ दर्शन गर्नुभएपछि समाजमा विभिन्न तर्क-वितर्क जन्मिएका छन् । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु । हिजो उहाँ एउटा संस्कार र संस्कृतिबाट हुर्कनुभयो । त्यो उहाँको अवचेतन मन-मस्तिष्कमा रहेको छ, जसलाई टाढा लैजान सम्भव छैन । त्यसको केही प्रभाव अहिलेसम्म परेको मैले अनुभूति गरेको छु ।

हिजो क्रान्तिकारी पृष्ठभूमिमा रहँदा पूजा, संस्कार, पद्धतिप्रति उहाँहरूको वितृष्णा देखिएको थियो । अहिले त्यसप्रति केही सम्मानभाव व्यक्त गरेको हामीले अनुभूति गरेका छौं । यसलाई दुइटा कोणबाट व्याख्या गर्ने गरेको छु । एउटा, जीवनको एउटा कालखण्डमा जो-सुकै पनि क्रान्तिकारी बन्छ, जस्तोसुकै आध्यात्मिक व्यक्ति पनि क्रान्तिकारी आयाममा प्रविष्ट गरेको हुन्छ । कृष्णको उदाहरण हेरौं, कंशको बध र महाभारतको युद्धको बेला उहाँमा क्रान्तिकारिता, लडाकुपन, चिन्तन र त्यसप्रतिको लगाव थियो । जीवनको उत्तरार्द्धमा गीतामा अर्जुनलाई ज्ञान दिने बेला परिवर्तन देखिन्छ । उमेर र स्कुलिङले पनि प्रभाव पार्छ । समाज बुझ्दै जाँदा व्यक्तिले आफूलाई सच्याउन पाउँछ, जुन स्वाभाविक हो । विस्तारै उहाँले आफूलाई परिवर्तित गर्नुभयो, सच्याउनुभयो र एउटा नयाँ आयाममा आफूलाई प्रविष्ट गराउनुभयो ।

त्यस्तै, बहुसंख्यक जनमानसको चाहना र भावनालाई कदर गर्ने धारणा पनि उहाँमा रहेको विगतमा पाएका छौं । एउटा राजनीतिकर्मी मत सिर्जना गर्न, त्यस्तो मतलाई आफूतिर आकषिर्त गर्न पनि अभिप्रेरित हुनसक्छ । व्यक्तिको हिजो र आजको बुझाइ फरक हुनसक्छ । हिजोको क्रान्तिकारिता अब दिगो रहँदैन भन्ने आशयले उहाँले आफूलाई परिवर्तन गरेको हुन पनि सक्नुहुन्छ, त्यो स्वागतयोग्य कुरा हो । जनमतको सम्मान गर्दै आफूलाई अगाडि बढाएको पनि हुन सक्नुहुन्छ । यी दुवै परिवर्तन स्वागतयोग्य छन् ।

प्रचण्ड मात्र होइन, केपी ओलीको पनि पछिल्लो समय अलि धार्मिक रुझान बढिरहेको देख्छौं । आत्मस्वीकारोक्ति वा रूपान्तरणको हकमा सकारात्मक नै होला । तर राजनीतिक दाउपेच पो हो कि ?

म पश्चिम गोरखातिर जन्मिएकोले कालीगण्डकी र सेतीगण्डकीलाई हेर्ने गर्छु । राजनीति सेतीगण्डकी हो भने अध्यात्मनीति कालीगण्डकी । सेती कहिले लुक्छिन्, कहिले फुक्छिन् । राजनीतिमा भूमिगत हुने, देखिने, प्रदर्शन गर्ने, कहिले लुप्त हुने परम्परा देखिन्छ । त्यसैले उहाँहरू कहाँ कसरी प्रस्तुत हुँदा जनमानसको सम्मानभाव प्राप्त हुन्छ, त्यसअनुसार मूल्यांकन गर्नुभएको होला । तर अध्यात्मनीतिमा चाहिं कालीगण्डकी जस्तो लुक्नु/छिप्नु छैन, पारदर्शी हुन्छ । जस्तो- मनस्येकं वचस्येकं कर्मण्येकं महात्मनाम् अर्थात् महापुरुष मन, वचन र कर्मबाटै समान हुन्छन् तर दुष्ट व्यक्ति सोचेअनुसार बोल्दैन र बोले अनुसार गर्दैन ।

पछिल्लो समय उहाँ (प्रचण्ड)ले दौरा-सुरुवाल लगाएको, महाकालेश्वरदेखि पशुपति दर्शन र गेरुबस्त्र धारण गरेको सन्दर्भमा केही विरोधाभास त पक्कै हो । हिजोको क्रान्तिकारितामा आधारित दर्शन र विचारको स्कुलिङसँग यो अत्यन्तै विरोधाभासपूर्ण देखिन्छ । तर आत्मस्वीकारोक्तिको कोणबाट हेर्दा आत्मसमीक्षा गरेर अगाडि बढेको दृष्टिकोणले यो स्वागतयोग्य छ ।

उहाँहरू धर्मलाई अफिम भन्नुहुन्थ्यो । अहिले अफिमको लतमा उहाँहरू आफैं लटि्ठन थाल्नुभएको हो ?

त्यतिबेला पोप पादरीहरू वा क्रिश्चियन क्याथोलिकहरूले जर्मनीमा आफ्नै ढंगबाट गिर्जाघरबाट शासन चलाउने, शासकहरूलाई आफ्नो कब्जामा लिने, महिलालाई बलात्कार गर्ने जस्ता क्रियाकलापको प्रत्यक्ष भागीदार कार्ल मार्क्स हुनुभयो । त्यो देख्दा उहाँलाई सहृय भएन । यही सन्दर्भमा उहाँले धर्म भनेको अफिमको नशा हो भनेर व्याख्या गर्नुभयो । शायद वैदिक दर्शन अध्ययन गरेको भए उहाँले त्यसो भन्नुहुँदैनथ्यो । वैदिक दर्शनले स्वतन्त्रता अर्थात् आत्मानुशासनमा रहेर काम गर्न भन्छ ।

वास्तवमा हामी हिन्दु होइनौं, वैदिक हौं । फारसी भाषामा ‘स’ उच्चारण हुँदैन, ‘ह’ हुन्छ । जस्तै- ‘सप्ताह’लाई ‘हप्ताह’ भनिन्छ । ‘सिन्धु’लाई ‘हिन्दु’ भन्न थालियो । त्यही मान्यता अहिलेको भारतबाट प्रभावित हुँदै नेपालसम्म आयो । यो हाम्रो समाजमा आएको जम्मा २/३ सय वर्ष मात्रै भयो

विशेषतः वैदिक दर्शनका तीन वटा लक्ष्य छन्- सत्य, ज्ञान र आनन्द । यी तीन चिजको खोजीमा हरदिन, हरपल, हरेक व्यक्ति त्यो मार्गमा परिलक्षित भएको हुन्छ । त्यही विषयलाई साध्य मानेर अगाडि बढ्ने काम गर्न सक्दा व्यक्ति सधैं शान्तिकामी हुन्छ, जीवनमा सुख र आनन्द मिल्छ । चाहे साधनाजन्य काम होस् वा सामान्य काम, वैदिक दर्शनले यसरी व्याख्या गरेको पाइन्छ । तर त्यतिबेला मार्क्सले क्याथोलिकहरूको ज्यादतीको विरुद्धमा बोलेको पदावलीलाई अहिले २/३ सय पछाडि पनि त्यसैलाई स्वीकारिएको छ । अब समय कहाँ पुगिसक्यो । कुन दर्शनले कुन समयमा के भनेको छ त्यो कुरालाई मूल्यांकन नगरी कार्यकर्ता वा अनुयायीहरूले धर्मलाई अफिमको नशा भन्नु सान्दर्भिक हुँदैन । अहिले सबै जनमानसमा विचार, चेतना र चिन्तन भरिएको छ । कसैले झुक्याउँदैमा या कसैले केही पदावली प्रयोग गर्दैमा मानिस पछिपछि लाग्दैनन् । म विशेषतः हाम्रा राजनेतालाई सबै विषयलाई गहन रूपमा अध्ययन गर्न पनि अनुरोध गर्दछु ।

आम मानिसको आँखाबाट हेर्दा स्वीकारोक्ति पनि चाहिएला नि ?

बोलीले आत्मसमीक्षा गर्ने एउटा पक्ष होला तर व्यवहारले नै स्वीकारोक्तिको मान्यतामा अगाडि बढिसकेपछि प्रश्नको उत्तर खोजिरहनुपर्छ भन्ने मलाई लाग्दैन । अहिलेको व्यवहार हेर्दा उहाँले आत्मसमीक्षा गर्नुभयो होला भन्ने लाग्छ । भेटमा पनि प्रचण्ड मलाई नरमपन्थी लाग्छ । भौतिकवादी र आध्यात्मिकताको फ्युजनको मध्यमार्गी धारमै छौं भन्ने आशयका साथ कुरा गर्नुहुन्छ । पूर्वीय दर्शनप्रति ठूलो लगाव देखिन्छ । गत वर्ष असारमा एक सप्ताहमा उहाँले मेरो प्रवचन सुन्नुभयो र भन्नुभयो, ‘आध्यात्मिकताको क्रान्तिकारी प्रवचन मैले आज सुनें ।’

फ्युजनको कुरा सुनेपछि तपाइँ मख्खै पर्नुभयो । प्रचण्डसँग यसरी लठ्ठै पार्ने क्षमता रहेछ !

उहाँमा त्यस्ता केही गुणहरू छन् जसमा म मात्र लÝएिको होइन, धेरै मानिस युद्धमा मर्न र मार्न तयार भएकै हुन् । त्यो कला उहाँसँग छ, स्वीकार गर्नैपर्छ । यो मान्यतामा म उहाँलाई सम्मानभाव व्यक्त गर्छु ।

पौराणिक आख्यानहरूमा राजनीति र धर्म मिसाउने, साम-दाम-दण्ड-भेद जस्ता सबै हतियार प्रयोग गरिएको पाइन्छ । यसरी हेर्दा राजनीतिमा यस्तो चल्छ भन्न मिल्छ ?

पौराणिक आख्यानहरूमा विभिन्न पात्र र चरित्र निर्माण गरेर साम, दाम, दण्ड र भेदको चार नीतिलाई अवलम्बन गर्दै अगाडि बढेको पाइन्छ । तर यो केका लागि प्रयोग गरियो ? कृष्णले कंश विरुद्ध लड्नुभयो, महाभारतको युद्ध लड्नुभयो, त्यसको आशय अन्यायको विरुद्धमा लड्नु भन्ने थियो । रामले रावणको विरुद्ध अन्यायकै विरुद्धमा लड्नुभयो । नरसिंहले हिरण्यकशिपुको वध अन्यायको विरुद्ध थियो । अन्याय विरुद्ध लडेर न्याय स्थापित गरेर जनमानसमा शान्ति, अमनचयन र स्थिरता, प्रेम, सद्भाव र शान्तिकामी समाज निर्माण गर्ने हेतु पौराणिक आख्यानहरूमा यस्ता प्रसंग पाइन्छन् ।

तर त्यतिबेलाका राजनीतिकर्मी अलि दूरगामी थिए र दूरचिन्तन गर्दथे । आफ्नो निर्णयलाई ठिक प्रमाणित गर्दथे । अहिले भने हिजो क्रान्तिकारिताको नाममा एउटा प्रहसन गर्ने र अहिले अर्कै गरिन्छ । अहिले समय सन्दर्भ र सबै पृष्ठभूमिहरूलाई ननियाली अगाडि बढ्दा अलि अदूरदर्शीपन हो कि भन्ने अनुभूति हुन्छ ।

अहिले भारतमा चलिरहेको हिन्दुत्वको राजनीतिको नेपाल प्रभाव कस्तो होला ?

मेरो मूल्याङ्कनमा भारत र नेपालको हिन्दुत्वमा आकाश-जमिनको फरक छ र त्यसको प्रभाव यहाँ पर्नुपर्छ भन्ने मान्यतामा मेरो विमति छ । नेपाल शैव सभ्यताको भूमि हो । यसभित्र किराँत सभ्यता पनि पर्छ । प्रकृतिपूजक बोन सभ्यता पनि पर्छ । उनीहरूले पछि आफूलाई बौद्ध सभ्यता पनि भन्न थाले । शैव सभ्यतामा ११२ वटा आयाम छन् । त्यसमध्ये एक आयाम समातेर सिद्धार्थ गौतम बुद्ध बन्नुभयो । शिवका धेरै आयाम छन् ।

समाजमा भौतिकवाद र अध्यात्मवादको समायोजन हुनुपर्छ । भौतिक काम गर्नुपर्छ । उन्नति, प्रगति गर्नुपर्‍यो । खानु-बस्नु पर्‍यो । आत्मिक शान्ति पनि चाहियो । व्यक्ति अर्बपति छ तर आत्महत्या गरिरहेको छ । किनकि उसलाई मानसिक शान्ति छैन । शान्तिको बीजारोपण र आनन्दका लागि आध्यात्मिक साधना, प्रेम, ज्ञान इत्यादि चाहिन्छ

यो पशुपतिको भूमि हो र यहाँ आफ्नै खाले मान्यताको विकास भएको छ । वास्तवमा हामी हिन्दु होइनौं, वैदिक हौं । फारसी भाषामा ‘स’ उच्चारण हुँदैन, ‘ह’ हुन्छ । जस्तै- ‘सप्ताह’लाई ‘हप्ताह’ भनिन्छ । ‘सिन्धु’लाई ‘हिन्दु’ भन्न थालियो । त्यही मान्यता अहिलेको भारतबाट प्रभावित हुँदै नेपालसम्म आयो । यो हाम्रो समाजमा आएको जम्मा २/३ सय वर्ष मात्रै भयो । न कुनै पौराणिक प्रसंगमा न वेदमा कुनै हिन्दु भन्ने शब्द छ । हाम्रो वैदिक सनातन धर्म या दर्शन हो । यसको आदियोगी शिवजीले पाशुपत क्षेत्रबाट सुरु गर्नुभएको हो ।

पर (भारत)मा राजनीतिक हिसाबले हिन्दुत्व वा हिन्दुवादको व्याख्या भएको पाइन्छ । नेपालमा अलिकति यसको हावाले छोएको पक्कै हो । तर त्यहाँ र यहाँको दर्शन र सभ्यतामा धेरै फरक छ । हामी यहाँ प्रकृति पूजन गर्छौं । वायु, भूमि, काग, नाग र पशुलाई पूजा गर्छौं । हामी विशेषतः शिवजीले दिएको दर्शन ‘सर्वे भवन्तु सुखिनः’ लाई स्वीकार गर्छौं । शिवजीको स्वरूप हेर्नुस्, नेपालको शैव दर्शन साधना वा आफू आनन्दित बन्ने हो ।

यो दर्शनले विशेषतः नेपालको सन्दर्भमा राजनीतिपरक वा दाउपेचको ढंगबाट कहिल्यै पनि राज गरेको पाइँदैन । तर भारतमा त्यसको प्रभाव अलि बढी भएको हुनाले यहाँ र त्यहाँको हिन्दुत्वमा एउटै हो भन्ने आशयले व्याख्या गरे पनि जमिन-आकाशको फरक छ ।

तर धर्मलाई सत्ता स्वार्थको भर्‍याङ बनाउने क्रम त यहाँ पनि सुरु भएको छ नि, छैन र ?

यहाँ पनि सुरु भएको छ । सत्ता स्वार्थका लागि मात्रै प्रयोग गर्नुभएको छ कि वैदिक दर्शनको उजागरका लागि यसको पुनर्जागरणको लागि गर्नुभएको छ ? त्यो परीक्षण हुन बाँकी नै छ । हेर्न बाँकी नै छ । जसले सत्ता स्वार्थको भर्‍याङ बनाउनुभएको छ, उहाँहरूले सत्ताको आस्वादन गर्ने क्रियाकलाप देखाउनुभयो भने टीकाटिप्पणी गर्नु मनासिव होला । अहिले नै हचुवाको भरमा टीकाटिप्पणी गर्नु मनासिव हुँदैन कि !

अब उहाँहरूले वैदिकताको पुनर्जागरण गर्नुपर्छ । त्यो भनेको राजनीति मात्र नभएर यहाँको अर्थनीति, समाजनीति, वैदिक खेती, चिकित्सा पद्धति, गुरुकुल शिक्षा पद्धति आफ्नै खालको छ । पूर्वीय दर्शनको समग्रतामा यसको बृहत्तर विकास गर्ने सोचले अगाडि बढ्नुभएको छ भने त्यो स्वागतयोग्य हो । सत्ता स्वार्थको लागि मात्रै हो भने त्यसमा हाम्रो विमति रहन्छ ।

पछिल्लो समय धर्मान्तरणको मुद्दा पनि उठिरहेको छ । त्यही भय देखाएर धर्म रक्षक जन्माउने अभ्यास छिमेकमा देखिन्छ । त्यसको केही न केही प्रभाव हाम्रोमा पर्ला नै । धर्म रक्षाको लागि यसमा के कस्ता बदलाव आवश्यक होला ?

धर्मले समग्रतामा बोलेको छ, विहंगम चिन्तन गरेको छ । तर धर्मलाई आधार मानेर छुवाछूत जस्ता कुराहरू अलि विभेदीकृत भावले अगाडि बढ्ने कुराहरू छन्, यिनलाई कमसेकम रुढिवादिताको समूल अन्त्य गरेर समतामूलक समाज निर्माण गर्नुपर्छ भन्ने मान्यतामा हामी छौं ।

यो हाम्रो धर्मले गरेको व्यवस्था होइन । वेदले कहीं पनि विभेद गरेको छैन । कुनै पनि पुराणमा छुवाछूतको प्रसंग उल्लेख छैन । कुनै कालखण्डमा शासक, प्रशासकले आफ्नो राज्य सञ्चालनका लागि वा आफू धर्मगुरु वा धर्मभीरु हुँ भन्ने मान्यताले अगाडि बढ्दा कसैलाई दबाउन गरिएको यो एक किसिमको राजनीति हो । त्यसैले छुवाछूत जस्तो नराम्रो प्रवृत्ति, सोच, कुसंस्कार र कलंकको समूल अन्त्य गर्नुपर्छ भन्ने मान्यतामा हामी अगाडि बढेका छौं । तदनुरूप क्रियाकलाप अगाडि बढाइरहेका छौं ।

विशेषतः हाम्रो दर्शनको गुदी र मौलिक पक्षलाई राम्रोसँग उजागर गर्न सकेनौं । यसलाई कर्मकाण्डीय पद्धतिबाट मात्रै लैजाने काम गर्‍यौं । यसको ज्ञान र उपासनाका पक्षलाई कमजोर तुल्यायौं । त्यसैले धर्मान्तर हुने प्रक्रिया अगाडि बढेको छ । त्यसैले कर्मकाण्ड मात्रै भन्दा वैदिकताको ज्ञान र उपासनाका पद्धतिलाई उजागर गरेर अगाडि बढ्न सक्दा यो विश्वको श्रेष्ठ दर्शन बन्नेछ र नेपालले एकदिन विश्वलाई नेतृत्व गर्नेछ ।

नेपालमा समाजवाद र साम्यवादलाई मान्ने प्रशस्तै दल छन् । तपाईंले वैदिक साम्यवादको कुरा गरिरहनुभएको छ । खासमा यो के हो ?

मैले वैदिक साम्यवादको कुरा गरिरहँदा भौतिकवादी विचारकहरूलाई अतिरञ्जित पनि लाग्न र सुपाच्य नहुन सक्छ । भौतिकतामा साम्यवाद सम्भव छैन । यो म जहाँ गएर पनि बहस गर्न तयार छु । भौतिकवादी विचारमा साम्यवाद सम्भव छैन । साम्यवाद भनेको साम्य अवस्था हो । यो भनेको इन्ऽिय र मनलाई पूरै नियन्त्रण गरेको अवस्था हो । भौतिकतामा इन्ऽिय र मनको नियन्त्रण हुँदैन । त्यो अध्यात्मले मात्रै गर्छ । हाम्रो पूर्वीय दर्शनले ‘सुखदुःखे समे कृत्वा लाभालाभौ जयाजयौ’ भन्छ । सुख-दुःख, लाभ-हानि, जय-पराजयमा पनि उस्तै बन्न सक्ने ।

अहिले हाम्रा नेतामा साना कुराले पनि विचलन हुने प्रवृत्तिले हामीलाई साम्यवादमा पुर्‍याउला ? कल्पना गर्नुहोस् त ! भौतिकतामा भौतिक कर्म गरेपछि व्यक्ति आसक्त बन्छ । त्यसप्रतिको लोभ जन्मन्छ, उचनीचको भावना र उछिनपाछिन हुन्छ । यसबाट व्यक्ति कहिल्यै मानसिक रूपमा साम्य अवस्थामा पुग्न सक्दैन । इन्द्रीयलाई नियन्त्रण गर्न सक्दैन । इन्द्रीय र मनको नियन्त्रण नहुने अवस्था पैदा हुन्छ । साम्य मनको अवस्था हो, वैचारिक अवस्था होइन । मनको अवस्थामा बदलाव ल्याएर साम्यवादमा पुग्न आध्यात्मिकता र साधना चाहिन्छ ।

रामको कालमा रामराज्य थियो । वेदले जहाँ भोक, शोक र रोग हुँदैन त्यस्तो राज्यलाई वैदिक रामराज्य वा वैदिक साम्यवाद भनेको छ । पछि सुकरात र उनको चेला प्लेटोले पनि एउटा अवधारणा ल्याए- युटोपिया दर्शन अर्थात् आदर्श राज्य जसलाई वैदिक साम्यवाद भन्न सकिन्छ । त्यसैले साम्यवादका लागि परनिर्भर बन्नुपर्दैन । यदि साँच्चै हाम्रो नेतृत्व इमानदार भएर अगाडि बढ्ने हो भने साम्यवादका लागि युरोपियन विचारको आवश्यकता पर्दैन । तनहुँमा जन्मिएका वेदव्यासले रचना गर्नुभयो वेद । पछि राष्ट्रगुरु योगी नरहरिनाथले ‘वैदिक साम्यवाद’ पुस्तक नै निकालेर तदनुरूप नेपालको गरिमा उँचो गराउने काम गर्नुभयो । त्यसैले साम्य अवस्थामा जानका लागि भौतिकताबाट सम्भव हुन्छ भन्ने लाग्दैन । व्यक्ति आध्यात्मिक बन्नुपर्छ ।

त्यसैले अहिले समाजमा भौतिकवाद र अध्यात्मवादको समायोजन हुनुपर्छ । भौतिक काम गर्नुपर्छ । उन्नति, प्रगति गर्नुपर्‍यो । खानु-बस्नु पर्‍यो । आत्मिक शान्ति पनि चाहियो । व्यक्ति अर्बपति छ तर आत्महत्या गरिरहेको छ । किनकि उसलाई मानसिक शान्ति छैन । शान्तिको बीजारोपण र आनन्दका लागि आध्यात्मिक साधना, प्रेम, ज्ञान इत्यादि चाहिन्छ । अबको समाज अध्यात्मवाद र भौतिकवाद दुवैको समायोजनको मध्यमार्गी धारबाट चल्नुपर्छ । जसले गर्दा समाजमा आध्यात्मिक शान्ति र भौतिक समृद्धि जरूरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?