+
+

कसरी बन्छ जुजु धौ दही ? (भिडियो)

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०८० असार ९ गते २०:३३

९ असार, काठमाडौं । असार १५ नजिकिएसँंगै भक्तपुरमा जुजु धौ दही बनाउनेहरुलाई भ्याईनभ्याई छ । असार १५ मा दहीको माग धेरै हुने भएकोले दही बनाउने चटारो भएको हो । यस दिन दही–चिउरा खाने प्रचलन छ ।

सैंजू जुजु धौ पसलका संचालक तथा भक्तपुर जुजु धौ एशोसिएसनका अध्यक्ष कृष्णगोपाल सैंजूले असार १५ को लागि दही बनाउन भ्याईनभ्याई भएको बताए । दैनिक बिहान ८ बजेदेखि बेलुकीसम्म दही बनाउने गरेको उनी बताउँछन् । यो समयमा व्यवसायीले दैनिक ४० लिटरदेखि ८ सय लिटरसम्मको दही बनाउने गरेको उनको भनाइ छ ।

दही प्लास्टिक र माटोको गरी दुुई थरीका भाडामा राखेर बनाइने गर्दछ । ‘गर्मी मौसममा दही चिसो भइराख्ने भएका कारण माटोको भाडामा जमाएको दही ग्राहकले रुचाउँछन्’, उनी भन्छन् ।

तर माटोको भाडाको मूल्य प्लास्टिकको भाडा भन्दा महँगो भएका कारण प्लास्टिककै भाडामा दही जमाउने गरेको उनले बताए ।

अहिले एक लिटर दहीको भाँडा अनुसार मूल्य फरकफरक छ । एक लिटर दहीको मट्काको २८० पर्छ भने माटोका (कला) को २६० पर्छ । त्यस्तै प्लास्टिकको भाँडाको २५० रुपैयाँमा बिक्री भइरहेको छ ।

असारमा आधा लिटरदेखि २ लिटरका दहीको माग बढी हुने सैंजूले बताए ।

जुजु धौ बनाउने तरिका

जुजु धौ परम्परागत शैलीबाट बनाउने गरिन्छ । जुजु धौ तयार गर्न सबैभन्दा पहिले दही बनाउने स्थानमा आवश्यकताअनुसार भुस बिछ्याइन्छ । डेरीबाट ल्याएको दूधलाई बाक्लो हुने गरी कराहीमा राम्रोसँग चलाउँदै उमाल्नुपर्दछ । दूध उमाल्दा कम्तीमा ४० लिटर दूधलाई ३० लिटर हुने गरी उमालिएको हुन्छ ।

उमाल्न पुगेपछि भूसमाथि माटोको कतरामा लहरै राखिन्छ । कतरामा तीन चरणमा दह राख्ने गरिन्छ । पहिलो चरणमा आधा भाग मात्र दूध राखिन्छ । त्यसपछि उक्त दूध सेलाए पछि फेरि माथिबाट कतरामा दूध राख्ने गरिन्छ । त्यसपछि अन्तिममा पूरा भर्ने गरी दूध राखिन्छ । उक्त दूध सेलाएपछि दहीलाई अर्को माथिबाट कतराले नै छोप्ने गरिन्छ ।

त्यसलाई माथिबाट बाक्लो सिरक या केही न्यानो हुने ओढ्नेले छोपेर राखिन्छ । करिब चार/पाँच घण्टापछि जुजु धौ तयार हुन्छ । तर प्लाष्टिकको भाडामा वा रेफ्रिजेरेटरमा जमाउने दही दूध उमालिसकेपछि सेलाउन राखिन्छ । त्यसपछि सेलाएको दूध एकैचोटि भरिने गरी प्लास्टिकको भाडामा राख्ने गरिन्छ । नेपाल भाषामा जुजुको अर्थ राजा र धौको अर्थ दही हो । यस अर्थमा जुजु धौको अर्थ सबैभन्दा उत्कृष्ट दही भन्ने हो ।

भक्तपुरमा ६५ परिवार दही बनाउने पेशामा आबद्ध रहेको जुजु धौ एशोसिएसनको अनुमान छ । त्यसमध्ये ५० परिवार एशोसिएसनमा आवद्ध छन् ।

तस्वीर/भिडियो : विकास श्रेष्ठ

 

 

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?