+
+
Shares

जलेका विद्यालयका विद्यार्थी भन्छन्- बाबा स्कुल हेर्न जाउँ न

‘आफूले पढिरहेको, खेलिरहेको विद्यालय खण्डहर भएको देख्दा बच्चामा मानसिक असर पर्न सक्छ भनेर विद्यालय देखाउन लगेका छैनौं,’ एक अभिभावकले भने ।

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज २४ गते २२:००
जेनजी आन्दोलनका क्रममा आगजनीबाट खण्डहर भएको विद्यालय हेर्न अभिभावकसँग गएका एक बालक ।

२४ असोज, काठमाडौं । ‘बाबा स्कुल हेर्न जाउँ न,’ ललितपुरस्थित युलेन्स स्कुलमा पढ्ने एक विद्यार्थी घरमा भनिरहन्छन् । तर अभिभावकले खण्डहर बनेको विद्यालय देखाउन लगेका छैनन् ।

‘आफूले पढिरहेको, खेलिरहेको विद्यालय खण्डहर भएको देख्दा बच्चामा मानसिक असर पर्न सक्छ भनेर विद्यालय देखाउन लगेका छैनौं,’ एक अभिभावकले भने ।

गत २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा युलेन्स स्कुल जलेर नष्ट भएको थियो । तर विद्यार्थीहरूले अभिभावकलाई विद्यालय हेर्न लैजान कर गरिरहन्छन् । बच्चाले धेरै नै अनुरोध गरेपछि एक अभिभावकले खण्डहर बनेको विद्यालय देखाउन ल्याएका थिए ।

जेनजी आन्दोलनमा युलेन्स स्कुलमा भएको आगजनी ।

सामाजिक सञ्जालमा स्कुल जलेको भिडियो देखेपछि उनी आफू पढ्ने विद्यालय हेर्न आएका थिए । ‘बाबुले धेरै नै अनुरोध गरेपछि देखाउन ल्याएको हो । जे नहुनुपर्ने हो त्यो भयो,’ ती अभिभावकले भने, ‘बाबुले राम्रो शिक्षा पाइरहेको थियो । जेनजीले यस्तो चाहेको जस्तो लाग्दैन । कसले यस्तो गर्‍यो ।’

जलेर नष्ट भएका कारण विद्यार्थी विद्यालय गएर पढ्न पाएका छैनन् । युलेन्सका १ हजार ४६१ विद्यार्थीको पठनपाठनमा असर परेको छ । यद्यपि, युलेन्सले विद्यार्थीको शिक्षण सिकाइमा प्रभावित हुन नदिन अनलाइनबाट पढाइरहेको छ ।

‘अनलाइनबाट पढाइ भइरहेको छ । अब विस्तारै भौतिक रूपमा कक्षा सञ्चालन होला,’ एक अभिभावकले भने ।

युलेन्समा कक्षा १०, ११, १२ र आईबीको भने भौतिक रूपमा कक्षा सुरु भइसकेको छ । ‘ठूलो कक्षाको पढाइ भौतिक रूपमा सुरु भएको छ,’ एक अभिभावकले भने ।

तोडफोड र आगजनी हुँदा युलेन्स स्कुलको १ अर्ब २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । खुमलटारस्थित विद्यालयका ५ वटा भवन, बाँसबारीस्थित विद्यालयमा ३ वटा भवन र काभ्रेको नालास्थित विद्यालयको आउटडोर लर्निङ सेन्टरमा तोडफोड, लुटपाट र आगजनी भएको युलेन्सले जनाएको छ ।

आगजनीबाट विद्यालयका ८३ वटा गाडी ध्वस्त भएका छन् । एसी, कम्प्युटर, फ्रिज, स्मार्ट बोर्ड, फर्निचर जलाइएका छन् ।

युलेन्स मात्र होइन, जेनजी आन्दोलनमा जलेका अरू विद्यालय र कलेजले पनि पठनपाठन सुरु गरेका छन् । कुनैले भने तिहारपछिबाट कक्षा सञ्चालन गर्ने तयारी गरेका छन् ।

ग्लोबल कलेजले जलेको भवन पुनर्निर्माण गरिरहेको छ । ‘तिहारपछि कलेजमै कक्षा हुने सूचना आएको छ,’ ग्लोबलमा अध्ययनरत एक विद्यार्थीले भने ।

जेनजी आन्दोलनमा ग्लोबल कलेजमा भएको आगजनी ।

नामी कलेजले भने छठपछि कक्षा सञ्चालन गर्ने जनाएको छ । ‘अहिले बिदा छ । छठपछि कक्षा सञ्चालन हुन्छ । जलेर नष्ट भएको भवनको पुनर्निर्माणको काम भइरहेको छ,’ नामीका एक कर्मचारीले भने ।

कालोपुलस्थिति जेभियर कलेजमा पनि पढाइ सुरु भएको छ । कलेजका अनुसार २२ असोजबाट कक्षा सुरु भएको हो । ‘२७ गतेबाट परीक्षा नै हुन्छ । हाम्रोमा पढाइ सुरु भयो,’ एक कर्मचारीले भने ।

कतै खुला कतै बन्द

जेनजी आन्दोलनका कारण शैक्षिक क्यालेन्डर प्रभावित भएपछि धेरैजसो निजी विद्यालयले दशैं र तिहारको बीचमा पनि विद्यालय खुलाएका छन् । ‘स्कुलहरू खुलेका छन् । पठनपाठन भइरहेको छ,’ एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानले भने ।

जेनजी आन्दोलनमा जेभियर इन्टरनेशनल कलेजमा भएको आगजनी ।

दशैंअघि घटस्थापनापछिसम्म खुलेका विद्यालयहरूले भने छठपछि खुलाउने गरी बिदा दिएका छन् । ‘६ असोज घटस्थापानासम्म खुलेका विद्यालयमा अहिले पढाइ भइरहेको छ । असोज १० सम्म खुलेका अहिले बन्द छन्, छठपछि खुल्छ,’ प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाले भने ।

जेनजी आन्दोलनका कारण एक साता कक्षा प्रभावित भएकाले कतिपयले दशैं र तिहारको बीचमा कक्षा चलाएका हुन् ।

कतिपय सामुदायिक विद्यालय पनि खुलेका छन् । स्थानीय तहले पढाइ प्रभावित भएको क्षेत्रमा विद्यालय खुलाएका छन् । ‘विद्यालय खोल्ने र बन्द गर्ने अधिकार स्थानीय सरकारको हो । कतै खुलेको कतै बन्द रहेको जानकारी आएको छ,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता महेन्द्र पराजुलीले भने ।

नेपाल शिक्षक महासंघका अनुसार कतै विद्यालय खुलेका छन् त कतै तिहारपछि मात्र खुल्ने छन् । आगामी २१ फागुनमा प्रतिनिधिसभा चुनाव तोकिएकाले त्यसबेला पनि विद्यालय बन्द हुने भएकाले अगाडि नै कोर्स पूरा गर्ने विद्यालयहरूको योजना छ । त्यसैले दशैं र तिहारको बीचमा विद्यालय सञ्चालन गरिएको हो ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?