+
+
Shares

ज्ञानको मन्दिरमा आगजनी र तोडफोड (तस्वीर/भिडियो)

जेन-जी प्रदर्शनकारीको निशानामा निजी विद्यालय र कलेज पनि परे । काठमाडौं उपत्यकाका विभिन्न निजी विद्यालय र कलेज जलेर ध्वस्त भए । संरचना नष्ट हुँदा कक्षा सञ्चालनको पत्तो छैन । विद्यार्थी, अभिभावक र शिक्षकहरूमा डर, त्रास र संशय छ ।

दिनेश गौतम दिनेश गौतम
२०८२ भदौ २७ गते २०:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको युलेन्स स्कुलमा २४ भदौमा भएको तोडफोड र आगजानीले विद्यालयका संरचना, सामग्री र प्रमाणपत्र जलेर खरानी भएका छन्।
  • नाइटिङ्गेल स्कुलमा प्रदर्शनकारीले तोडफोड गर्दा गाडी जलाइयो, कक्षा ब्लक फुटाइयो र कम्प्युटरसमेत चोरी गरियो।
  • मध्य बानेश्वरस्थित ग्लोबल कलेजमा ठूलो तोडफोड र आगजानी हुँदा भवनको पहिलो तला जलेको छ र ३० वटा ग्यास सिलिन्डर पड्काइएको छ।

२७ भदौ, काठमाडौं । ललितपुरको युलेन्स स्कुलमा कक्षा १ मा पढ्ने एकजना विद्यार्थी शुक्रबार अभिभावकसँग स्कुलको गेटमा आएका थिए । तर ती बालक पढ्न आएका थिएन् । सामाजिक सञ्जालमा स्कुल जलेको भिडियो देखेपछि हेर्न आएका थिए ।

उनले स्कुलको वालबाट आफ्नो कक्षा नियाले । ‘के भएको हो ?,’ उनले अभिभावकसँग जिज्ञासा राखे । आन्दोलनकारीले जलाएको जवाफ अभिभावकले दिए ।

‘विद्यालयको हालत देखेर शब्दविहीन छु । बाबुले शिक्षा पाइरहेको थियो,’ अभिभावकले भने, ‘जे भयो राम्रो भएन । जेनजीले पनि यस्तो चाहेको जस्तो लाग्दैन । कसले यस्तो गर्‍यो । यहाँ धेरैले रोजगार पाएका थिए । बच्चाले शिक्षा पाएका थिए ।’

२४ भदौ दिउँसो ठूलो समूह नाराबाजीसहित युलेन्समा प्रवेश गर्‍यो । एक अभिभावकले फोन गरेर विद्यालय तोडफोर्ड गर्न ठूलो समूह आइरहेको जानकारी पनि गराएका थिए ।

‘शिक्षा शान्ति क्षेत्र हो । तोडफोड आगजानी गर्नुहुँदैन भनेर सम्झाउन बसेका थियौं,’ एक स्थानीयले भने, ‘तर ठूलो समूहले कसैको कुरा सुनेन । स्कुलका गार्डलाई बाहिर निकालेर तोडफोड गरे ।’

तोडफोड र आगजनी गर्नेहरूले कम्प्युटर लगायतका सामग्रीसमेत बोकेर हिँडे । ‘१८ जनाजति गार्ड थिए । हजारौंको भिडलाई कसरी रोक्नु । राज्यले नसकेको काम गार्डले के सक्थे,’ एक प्रत्यक्षदर्शी स्थानीयले भने । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहालको घरमा आगजानी गरेर त्यो समूह युलेन्समा आएको थियो ।

विद्यालयको कुनै पनि संरचना बाँकी छैन । विद्यार्थीका प्रमाणपत्र, परिचयपत्र, परीक्षाको प्रवेशपत्र जलेर खरानी भएको छ । डेक्स-बेञ्च जलाइएको छ । कक्षा कोठा, डिजिटल बोर्ड, पाठ्यसामग्री, ल्याब, लाइब्रेरी जलेका छन् । क्याफ्टेरिया जलेको छ । पार्किङमा जलेर खरानी भएका गाडीहरू छन् । कारुणिक दृश्य देखिन्छ युलेन्समा ।

‘जल्न बाँकी केही छैन । क्षति मूल्यांकन गर्ने स्थिति पनि छैन,’विद्यालयका एक कर्मचारीले भने, ‘सबै खण्डहर भयो ।’

शुक्रबार हामी युलेन्स पुग्दा केही कर्मचारी स्कुल बाहिर सडकमै बसेर हेरिरहेका थिए । तर उनीहरू अझै डर र त्रासमा देखिन्थे । त्यो सँगै विद्यार्थी, अभिभावक, शिक्षकसमेत विद्यालयको संचना देखेर अन्योलमा छन् ।

ललितपुरकै नाइटिङ्गेल स्कुल पुग्दा तोडफोडबाट क्षति भएको संरचनाको सरसफाइ गरिरहेका थिए, शिक्षक-कर्मचारी । विद्यालयकी प्रधानाध्यापक रञ्जना प्रधानको नेतृत्वमा सरसफाइ चलिरहेको थियो ।

२४ भदौमा जेन-जीको आन्दोलन भएका कारण प्रधान घरमै थिइन् । विद्यालय नजिकैका स्थानीयले फोन गरेर तोडफोड भइरहेको जानकारी गराए । तर उनी आउन सकिनन् ।

‘आगजनी हुनबाट स्थानीयले नै जोगाउनु भएछ । होस्टेल पनि यहीं थियो । ग्यास सिलिन्डर थियो । आगो लगाएको भए पूरै टोलमा क्षति हुने थियो,’ उनले भनिन् । स्थानीयले आगो लगाउन नदिएपछि नाइटिङ्गेल स्कुलमा प्रदर्शनकारीले तोडफोड मात्र गरे ।

स्थानीयले रोक्दारोक्दै पनि नाइटिङ्गेलको एउटा गाडी प्रदर्शनकारीले सडकमा ल्याएर जलाए । अरू बसको सिसा फुटाइएको छ । भवनका सिसा छियाछिया भएका छन् । ‘कक्षा ११ र १२ को ब्लक फुटाए । बच्चाले जितेर ल्याएको ट्रफी, कम्प्युटरसमेत बोकेर गएछन् । अकाउन्टमा पेटी क्यास थियो, त्यो पनि छैन । सोफा, डेस्क-बेञ्च फुटाइएको छ,’ प्रधानाध्यापक प्रधानले भनिन् ।

एक हप्ताजति अनलाइन कक्षा चलाउने र सरकारको निर्णयपछि भौतिक रूपमा कक्षा चलाउने गरी संरचना बनाउने प्रधानले बताइन् । ‘३२ वर्षको इतिहासमा ठूलो क्षति भयो । विद्यार्थीको परीक्षा आइरहेको छ । एक हप्ता अनलाइन कक्षा र सरकारको निर्णय आएपछि विद्यालयमै कक्षा चलाउँछौं,’ उनले भनिन् ।

मध्य बानेश्वरस्थित ग्लोबल कलेजको अवस्था पनि उस्तै छ । भवनको पहिलो तला पूरै जलेको छ । ‘एकाएक आएर तोडफोड, आगजानी र लुटपाट गरे । ठूलो जमात आएको थियो । भवनमा ठूलो क्षति भयो । ३० वटा त ग्यासको सिलिन्डर नै पड्काइयो,’ कलेजका अपरेसन प्रमुख बाबुराम सुवेदीले भने, ‘थुत्न सक्नेजति सबै लगे । नमिल्ने सामान जलाएर हिँडे ।’

कलेजले शिक्षालयमा तोडफोड नगर्न आग्रह गरेको थियो । तर प्रदर्शनकारी उल्टै कलेजका कर्मचारीमाथि नै जाइलागे ।

यसरी निजी शिक्षालयहरू त्यो दिन प्रदर्शनकारीको निशानामा परे । जसका कारण विद्यार्थीको पठनपाठन अन्योल मात्र भएको छैन, अराजक समूहको गतिविधिले शान्ति क्षेत्रमा डर र त्रासको स्थिति बनेको छ ।

 तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?