+
+
Shares

शंकरलाई विष्णुको कटाक्ष- ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थिति मूल्यांकन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते २२:५८

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा नेताहरुबीच कटाक्ष र सवाल–जवाफ समेत भएको छ । केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने उद्देश्य सहित आज शुरु भएको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले महेश बस्नेतको प्रशंसा गरेका छन् ।

जेनजी विद्रोहका कारण प्रधानमन्त्री पद त्याग्दै १० दिन सैनिक ब्यारेकमा सुरक्षा लिएका ओलीलाई बस्नेतले गुन्डुमा अस्थायी घर खोजी दिएका छन् । अहिले त्यही घरबाट भेटघाट, सार्वजनिक अपिलदेखि पार्टी बैठक गरिरहेका ओलीका निम्ति बस्नेतले स्थायी घरकै सार्वजनिक प्रस्ताव गरेका छन् ।

जेनजी पुस्ताप्रति चर्को अभिव्यक्ति दिइरहेका बस्नेतबारे उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बैठकमा कुरा उठाएकी थिइन् ।

शाक्यलाई ओलीले तत्कालै जवाफ दिएका थिए । ‘अप्ठ्यारो पर्दा, संकट पर्दा अरु नबोल्ने रहेछन्,’ महेशको बचाउ गर्दै ओलीले भनेका थिए, ‘पार्टीभित्र उनै एउटा बहादुर रहेछन् । उही बोल्छ्, उसैले काम गर्छ ।’

महेशको प्रशंगमा ओली–शाक्य बीच सवाल–जवाफ चलेपछि नेताहरूबीच एकअर्कामा कटाक्ष पनि चल्यो  । महासचिव शंकर पोखरेलले पार्टीभित्र कार्यकर्तामा निराशा नरहेको ब्रिफिङ गरेका थिए । जेनजी घटनापछि पनि एमालेभित्र उस्तै उत्साह रहेको पोखरेलको विश्लेषप्रति उपाध्यक्ष विष्णु पौडेलले ल्यापटपको उदाहरण दिएर कटाक्ष गरेका थिए ।

‘सधैं ल्यापटप बोकेर अघिपछि हिँड्दैमा परिस्थितिको मूल्याकंन हुँदैन । यहाँ बोकेको ल्यापटपले तलको स्थिति बुझ्न सकिँदैन,’ पौडेलले भनेका थिए, ‘तलको परिस्थिति भनेजस्तो छैन ।’ पौडेलले कार्यकर्ता पंक्तिमा भयंकर ठूलो निराशा र अन्योल रहेको रिपोर्टिङ सुनाएका थिए ।

पौडैलको कटाक्ष सुनेका महासचिव पोखरेलले प्रतिगमन आधा सच्चिएको भन्ने एमाले निष्कर्षकालीन परिस्थिति सम्झिदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कमजोर पार्ने प्रयत्न गरेका थिए । प्रतिगमन आधा सच्चियो भनेर सरकारमा जाँदा ईश्वर पोखरेलमाथि समेत प्रहार भएपनि त्यसलाई चिरेर नेतृत्व स्थापित गरिएको उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?