नरबहादुर गाउँको एक साधारण किसान थियो। भएको थोरै जग्गामा धेरै नै मिहिनेत गर्दथ्यो। चार जनाको सानो परिवार चलाउनु नै उसको प्रमुख जिम्मेवारी र दायित्व थियो। उसको मिहिनेत देखेर गाउँका भद्रभलादमी र नेता लगायत सबैले उसको प्रशंसा गर्दथे।
ऊ गाउँमा कसैलाई केही पर्दा सघाउन अघि सर्दथ्यो। खेतीपातीमा लाग्ने विभिन्न खर्चको जोहो उत्पादन भएपछि हुने आम्दानीबाट र अर्मपर्म गरेर चलाउने गर्दथ्यो। उसले आफ्नो खेतीपाती गर्ने क्षेत्रफल धेरैअघिदेखि नै बढाउने योजना बनाएको हो तर आर्थिक स्रोत जुटाउन नसक्दा त्यतिकै थियो।
नरबहादुर एक दिन सहकारीमा मल आउने समय बुझ्न त्यतातिर लाग्छ। सोही बेलामा पालिकाले आफ्नो क्षेत्रमा भएका किसानलाई खेती क्षेत्र विस्तार गर्नका लागि अनुदान दिनको लागि सूचना प्रकाशन गरेको थाहा पाउँदछ। आफ्नो खेतीको क्षेत्रफल बढाउने आशामा बसेको नरबहादुर यो खबरले धेरै नै खुशी हुन्छ। घर पुगेर आफ्नो श्रीमतीलाई पनि यो कुरा सुनाउँदछ।
क्षेत्रफल बढेपछि आम्दानी बढाउन सकिन्छ भन्ने कुराले दम्पती हर्षित हुन्छन्। भोलिपल्ट नै कागजपत्र बोकेर ऊ पालिकामा पुग्दछ। पालिकामा निवेदन बुझाउने किसानको भीड रहेको थियो। किसानहरूको लामो लाइनको अन्तिममा गएर नरबहादुर पनि उभिन्छ। करिब ३/४ घण्टा पछि उसले आफ्नो आवेदन बुझाउँदछ र घरतिर लाग्दछ।
आवेदन बुझाएको २०-२५ दिनपछि नतिजा आएको थाहा पाएर ऊ पालिकातिर लाग्दछ। पालिकाको सूचनापाटीमा नतिजा टाँसिएको थियो। ऊ नतिजाको सूचीमा माथिदेखि तलसम्म आफ्नो नाम खोज्न थाल्दछ तर भेट्टाउँदैन। ठूलो नतिजाको सूचीमा उसले आफ्नो नाम नदेखेपछि पुनः दोहोर्याएर त्यसलाई नियालेर हेर्दछ।
निराश हुँदै टाउकाको टोपी निकालेर निधारको पसिना पुछ्दै घरतिर लाग्दछ। घर पुग्दासम्म नतिजाको सूचीमा नाम भएका विभिन्न व्यक्तिहरू सम्झँदै हिंड्दछ।
ऊ घर पुग्नासाथ उसकी श्रीमतीले उसलाई सोध्छे- ‘पर्यो कि नाइ’? पिंढीमा टुक्रुक बसेर सुस्केरा लिंदै भन्छ ‘के को पर्थ्यो- लिस्टा गाउँका झोले किसान, नेताका आसेपासेको मात्र नाम देख्छु। यो सुनेर उसकी श्रीमती भुइँमा खेलिरहेको छोरो काखमा बोकेर नेतालाई सराप्दै र भुत्भुताउँदै घरभित्र पस्दछे। नरबहादुर आफ्नी श्रीमतीलाई धेरै नकरा भन्दै कुटो बोकेर आफ्नो घरपछाडिको बारीभित्र छिर्दछ।
प्रतिक्रिया 4