+
+

जाँचबुझ आयोगमा मिटरब्याजका २२ हजार उजुरी, मधेशका मात्र १८ हजार

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते १८:५५

९ असार, काठमाडौं । सरकारले मिटरब्याज समस्याको समाधान गर्न गठन गरेको आयोगमा पीडितका २२ हजार वटा उजुरी परेका छन् ।

आयोगले शनिबार विज्ञप्ति जारी गरी मधेशका ८ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) मा १७ हजार ८०० र पश्चिम नवलपरासीमा १ हजार ८८९ वटा उजुरी परेको जानकारी दिएको छ । त्यस्तै रुपन्देही र काठमाडौंमा ५-५ सय वटा उजुरी परेको छ ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि २० चैतमा गौरीबहादुर कार्कीको अध्यक्षतामा अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । जनकपुरधाममा मुख्यालय रहेको आयोगले पीडितबाट उजुरी संकलन र मेलमिलाप गराउँदै आएको छ ।

अध्यक्ष कार्कीका अनुसार मिटरब्याजी साहु र पीडितबीच मेलमिलापलाई प्राथमिकता दिइएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी, सहायक सरकारी वकील र प्रहरी निरीक्षकसहितको कार्यदलमार्फत मिटरब्याजी र पीडितबीच मेलमिलाप गराइरहेको कार्कीले शनिबार विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

‘पीडित र मिटरब्याजी बीच मेलमिलापबाट समस्या सुल्झिएमा दुवैबीच जितजितको अवस्था हुने र सामाजिक सद्भाव बढ्ने हुनाले सुरुमा मेलमिलाप गराएर समस्या समाधान गराउनेतिर आयोगले गृह मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालयबाट काम गराइ रहेको छ’ उनले भनेका छन् ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्की

अध्यक्ष कार्कीले ८ असारसम्म विभिन्न जिल्लामा ५६४ वटा निवेदनमा मिटरब्याजी र पीडितबीच मेलमिलाप भएको बताए । मेलमिलाप हुँदा साहुको नाममा राजीनामा पास भएको जग्गा पनि फिर्ता भएको र केही साहुले अदालतबाट फैसला भइसकेका जग्गा र बढी असूल गरिसकेको ब्याजपनि स्वेच्छाले फिर्ता गरेको कार्कीले जानकारी दिएका छन् ।

जाँचबुझ आयोगमा निवेदन दिएपछि ऋण तिर्न पर्दैन भन्ने अफबाहले पनि केही निवेदन परेको कार्कीले बताएका छन् । ‘बीसौं बर्ष अगाडि जग्गा बेचेकोमा पनि मोल बढेकाले फिर्ता गराउन सकिन्छकी भनी निवेदन दिएको पनि पाइएको छ । राजधानी र शहरी क्षेत्रमा ब्यापार गर्न लगायत करोडौ रकमको लेनदेनलाइ पनि ऋण तिर्नु पर्दैनकी भनी मिटरब्याजको नाममा उजुर दिएको पाइएको छ’ उनले भने ।

५ असारसम्म केही पीडित ऋणीले ३ करोड ४२ लाख ऋण लिएकोमा साहुहरुले ७ करोड ३८ लाख ७६ हजार रुपैंयाँ माग गरेको पाइएको कार्कीले बताएका छन् । दुइ पक्षबीच छलफल र वार्ताबाट ब्याजसमेत गरी ३ करोड ९२ लाख ७४ हजारमा दुवै पक्ष सहमत भएर फर्छ्यौट भएको उनले जानकारी दिए ।

महोत्तरीकी जैगेदा लहिरनले ३२ हजार कर्जा लिएकामा साहु सरस्वती देवीले १२ लाखको माग गरेको पाइएको र ४ लाख ५० हजार रुपैयाँमा मिलापत्र भएको कार्कीले बताए । मिलापत्र भएपछि रोक्का रहेको ऋणीको जग्गा पनि फुकुवा भएको छ ।

सोही ठाउँका किशोरीशरण रायले विद्यादेवीसंग १ लाख ५० हजार कर्जा लिएकोमा १० लाख माग गरेको पाइएको र ४ लाख ५० हजार तिर्नेमा सहमति भएको कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यसपछि ऋणीको रोक्का रहेको ११ धुर ७ कट्ठा जग्गा पनि फुकुवा भएको छ ।

हेर्नुहोस् मिटरब्याजमा भएका मेलमिलाप र फर्छ्यौटको विवरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?