
काठमाडौं । यतिबेला सेलिव्रिटी बैंकर रविना देशराज जोशीको विवाह सामाजिक संजालमा चर्चाको विषय बनिरहेको छ । आमाको विवाह गराइदिएपछि छोराहरु आयुष्मान र आशिरमानलाई पनि नेटिजन्सबाट प्रशंसा मिलिरहेको छ ।
बेलायती प्रेमी स्टुआर्ट च्याप्म्यानसँग रविनाले यसैसाता विवाह गरिन् । दुबैजनाका छोराछोरीले बाबुआमाको विवाह गराइदिएपनि सामाजिक संजालमा यो विवाहलाई लिएर सकारात्मक प्रतिक्रिया मिलिरहेको हो । अभिनेता छोराहरु आयुष्मान र आशिरमान र अभिनेत्री बुहारी प्रियंका कार्कीले समेत रविनाको विवाहलाई उत्साहसहित सामाजिक संजालमा सेयर गरिरहेका छन् ।
आमाको विवाह गराइदिएपछि प्रशंसा बटुलिरहेका आयुष्मानले आमाको खुशिकै लागि उनको विवाह गराएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले ममीको खुशिकै लागि आफूहरुले सहमतिमै विवाह गराइदिएको बताए ।
‘सिंगल मदरले विवाह गर्नुहुँदैन भन्ने मलाई लाग्दैन । उहाँकै खुशिको लागि हामीले विवाह गराइदिएका हौं । हामीले सिकेको संस्कार भनेको प्रत्येक व्यक्तिले खुशिपूर्व बाँच्नुपर्छ भन्ने हो’ उनले भने, ‘प्रत्येक मान्छे हरेक समय खुशि भएर बाँच्न पाउनुपर्छ ।’
आफूहरुको खुशि र सफलतामा आमा रविनाको योगदान रहेको स्मरण गर्दै आयुष्मान आमाको खुशिकै लागि आफूहरुले कसैलाई नोक्सान नगरिकन काम गरेको उनले बताए । समाजमा रहेको परम्परागत मूल्य र मान्यता सँधैभरि कायम नरहने उनको धारणा छ । आफूहरुले जतासुकैबाट सकारात्मक प्रतिक्रिया पनि प्राप्त गरेको उनको भनाई छ ।
सामाजिक संजालमा सेयर भएका तस्वीरमा पनि जोशी र च्याप्म्यान परिवार प्रफुल्ल देखिएको छ । उनीहरु रमाउँदै नाचगान गरेको देख्न सकिन्छ । यी भिडियो र तस्वीरमा नेटिजनले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।
प्रतिक्रिया 4