+
+

अन्तरीक्षमा जाने वैज्ञानिक समुद्र मुनि जान किन डराउँछन् ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार १० गते ११:३५

काठमाडौं । मानिस चन्द्रमासम्म पुगिसकेको छ र अन्तरीक्षमा स्टेशन नै खडा गरेर बसेको छ । मंगल ग्रहमा वस्ती बसाल्ने कुरा चलिरहेको छ । तर आफ्नै पृथ्वीमा रहेका महासागर भने मान्छेका लागि दुरुह छन् । आखिर किन त ? वैज्ञानिकहरुका अनुसार समुद्रको गहिराइ नाप्ने काम अन्तरीक्षमा पुग्नु भन्दा पनि धेरै रहस्यले भरिएको र कैयन् गुणा खतरनाक काम हो । आखिर त्यो कुन चिज हो जसले समुद्रलाई यतिधेरै प्राणघातक बनाइदिएको छ ?

कहाँ–कहाँ, कति समय बिताइसकेका छन् वैज्ञानिक ?

अहिलेसम्म १२ जना अन्तरीक्षयात्रीहरुले ३ सय घण्टा चन्द्रमामा बिताइसकेका छन् जसको दूरी पृथ्वीभन्दा करीब ४ लाख किलोमिटर टाढा छ । जबकि समुद्रको सबैभन्दा गहिरो भागमा भने ३ जना मानिस अहिलेसम्म अधिकतम जम्मा ३ घण्टामात्रै बस्न सकेका छन् । समुद्रको उक्त सबैभन्दा गहिरो भागलाई च्यालेन्जर डिप भनिन्छ ।

सबैभन्दा गहिरो महासागर कहाँ छ ?

उड्स होला ओसनग्राफिकका अनुसार महासागरको औसत गहिराइ करीब १२ हजार फिट छ । सबैभन्दा गहिरो भागलाई ‘च्यालेन्जर डिप’ भनिन्छ । यो ठाउँ प्रशान्त महासागरको मारियाना ट्रेन्चको दक्षिणी कुनामा छ । यो करीब ३६ हजार फिट गहिरो छ । सन् १८७५ मा पहिलोपटक वैज्ञानिकहरुले यो भाग पत्ता लगाएका थिए । त्यतिबेलादेखि नै यो ठाउँमा पुग्ने कोसिस भएको थियो तर हरेकपटक असफलता हात पर्यो ।

सन् २०१६ मा मारियाना ट्रेन्चको अध्ययनका लागि पठाइएको रिमोटबाट सन्चालित यन्त्र ।

च्यालेन्जर डिपको गहिराइ यति धेरै छ कि त्यहाँ निष्पट्ट अन्धकार छ । त्यहाँको तापक्रम पानी जम्ने तापक्रम भन्दा केही मात्रै बढी छ । त्यो ठाउँमा पुगेपछि पनि मानिसहरुले त्यहाँ जीवन सम्भव छ या छैन भन्ने भेउ पाउन सकेनन् । किनकि सामुद्रिक जीवहरु पनि प्रकाश भएको ठाउँमा मात्रै पाइन्छन् ।

च्यालेन्डर डिपको पिँधमा चाप यति धेरै छ कि त्यहाँ जो कोही सेकेण्डभरमै थिचिन्छ । त्यहाँको पानीको चाप १५ हजार पाउण्ड प्रति वर्गइन्च रहेको छ । यो पृथ्वीमा रहेको सामान्य वायुमण्डलीय चापको तुलनामा १ हजार गुणा धेरै हो । सजिलो भाषामा भन्नुपर्दा पिँधमा १ इन्चमा रहेको चाप ५० वटा जम्बो जेट जहाजको बराबर हो ।

अन्तरीक्षमा शून्य हुन्छ चाप

समुद्रको भित्री गहिराइसम्म जानु किन लाखौँ किलोमिटर टाढाको अन्तरीक्षमा जानुभन्दा पनि कठीन हुन्छ त ? यसका धेरै कारणहरु छन् र पहिलो कारण चाहिँ समुद्रको भित्र हुने चाप नै हो ।

केवल समुद्रको नजिक जाँदा नै हामीमाथि १५ पाउण्ड प्रति वर्गइन्चको चाप पर्दछ र गहिराइ बढ्दै जाँदा यो चापको मात्रा पनि बढ्छ । जबकि अन्तरीक्षमा भने यस्तो चाप शून्य हुन्छ ।

बर्मुडा त्रिकोणको रहस्य

आन्ध्र महासागरमा रहेको यो रहस्यमय क्षेत्रमा आकाशमा उडिरहेका जहाजहरु समेत खसेर बेपत्ता भएको र पानी जहाजहरु पनि त्यो क्षेत्रले निलेको बताइन्छ । यो त्रिकोणीय क्षेत्रमा अत्यधिक गुरुत्वाकर्षण बल रहेको हुँदा आफ्नो क्षेत्रमा पर्ने सबै चिजलाई पानीभित्र तान्ने गर्छ भनिन्छ । त्यसैले त्यसलाई पृथ्वीको ‘ब्लाकहोल’ पनि भनिन्छ ।

अन्तरीक्षका बारेमा बृहत ज्ञान भएका विज्ञहरु समेत यसलाई प्यारानर्मल थ्योरी या एलियन्ससँग जोड्दछन् । उक्त ठाउँ माथिको आकाशमा उडिरहेका अमेरिकी बमवर्षक विमानहरु समेत त्यहाँ खसेर बेपत्ता भएका बताइन्छ । त्यसपछि उक्त क्षेत्रलाई डेभिल्स त्रिकोण भन्न थालियो । सामुद्रिक अनुसन्धानमा लागेका विज्ञहरुको आशंका छ कि समुद्रहरुमा यस्तै अन्य ठाउँहरु पनि हुनसक्छन् ।

सामुद्रिक जनावरको त्रास

समुद्रको पिँधसम्म जान मानिसहरु डराउनुको अर्को कारण चाहिँ विभिन्न भिमकाय तथा घातक सामुद्रिक जीवहरु पनि हो ।

समुद्रभित्र अनेक खालका जीवहरु हुन्छन्, जबकि अन्तरीक्षमा यस्ता जीवहरुको डर हुँदैन । अरु त अरु निकै सुन्दर देखिने जेलीफिसका कतिपय प्रजातिहरु समेत निकै घातक हुन्छन् र मानिसले छोइहालेमा पनि स्नायु प्रणालीमा घातक असर परेर ज्यानै गुम्न सक्दछ ।

अमेरिकाको नेसनल ओसन सर्भिसका अनुसार अष्ट्रेलियन बक्स जेलिफिस समुद्रमा पत्ता लगाइएको अहिलेसम्मकै सबैभन्दा खतरनाक सामुद्रिक जीव हो । यसका अलावा पफरफिस पनि निकै खतरनाक हुन्छ जसले मात्र ३० मिनेटमा मानिसलाई मारिदिन सक्छ । यो माछाको विषको उपचार अहिलेसम्म छैन ।

समुद्रभित्र डंगुर

केही दिनअघि मात्रै आन्ध्रमहासागरमा एउटा पनडुब्बी विस्फोट भएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भयो । उक्त पनडुब्बी टाइटानिक जहाजको अवशेष हेर्न गएको थियो । समुद्रमा हजारौँ वर्षदेखि जहाजहरु दुर्घटना भइरहेका छन् जो लाखौँको संख्यामा हुनसक्छन् । त्यसैले समुद्रको पिँधमा दुर्घटनाग्रस्त जहाजहरु तथा त्यसमा रहेका सामानहरुको डंगुर नै थुप्रिएको छ ।

अन्तरसरकारी सामुद्रिक आयोगका अनुसार समुद्रको पिँधमा हालसम्म ३० लाख भन्दा धेरै जहाजको अवशेष थुप्रिएको छ । यो आफैमा खतरनाक हो । यसमा फसेर प्राविधिक रुपमा अब्बल जहाजहरु पनि दुर्घटनाग्रस्त हुन सक्दछन् ।

समुद्रमुनि जान डराउनुका अन्य कारणहरु पनि छन्, जस्तैः

  • उसो त समुद्रमा जमिनमा भन्दा चट्यांग पर्ने खतरा कम हुन्छ । तर यदि समुद्रमा चट्यांग परिहाल्यो भने त्यो निकै खतरनाक र घातक हुन्छ । पानी सुचालकको काम गर्दछ र चट्यांगमा पर्ने बिजुली पानीमा प्रसार भएर आसपासका हरेक जीवलाई करेन्ट लाग्दछ अनि ज्यानै जाने सम्भावना हुन्छ ।
  • समुद्रको पानीमा विभिन्न प्रकारका ब्याक्टेरिया पनि हुन्छन् जसमा कतिपय यस्ता पनि हुन्छन् जसले मासु खान्छन् । समुद्रको पानीसँग सम्पर्कमा आएका मानिसहरु पछि विभिन्न ब्याक्टेरियाको आक्रमणको सिकार भएका घटना पनि सार्वजनिक हुने गरेका छन् ।
  • समुद्रभित्र लगातार आँधी चलिरहेको हुन्छ । गहिरो पानीमा भैरहने हलचल बाहिरबाट अनुमान गर्न सकिँदैन । समुद्रमा बाहिर देखिने आँधीबेहेरी यसको केवल सानो हिस्सा मात्रे हो ।
  • समुद्रमा शार्क, ह्वेल तथा अन्य खतरनाक तथा हिंश्रक जीवहरुको पनि अत्यधिक खतरा हुन्छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?