+
+
क्रिकेट विश्वकप छनोट :

‘नतिजाबाट निराश हुनुपर्दैन’

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०८० असार १० गते १७:२६

१० असार, काठमाडौं । पछिल्लो पाँच महिनाको अविश्वसनीय प्रदर्शनका आधारमा नेपाल क्रिकेट टिमप्रतिको अपेक्षा स्वभाविक रुपमा उच्च छ । यसपल्ट अपेक्षाअनुसार भएन । प्रदर्शन सधैं एकनासको रहँदैन । त्यसमा पनि नेपालले बलिया विपक्षीको सामना गर्नुपरेको थियो ।

जिम्बाव्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोटमा शनिबार नेदरल्याण्ड्ससँग पराजित भएपछि नेपाल समूह चरणबाट माथि पुग्न असफल भएको छ । १० टोली सम्मिलित प्रतियोगिताको कम्तिमा पनि सुपर सिक्ससम्म पुग्ने आशा नेपाली समर्थकको थियो ।

नेदरल्याण्ड्ससँग पराजित हुनुअघि समूह चरणमा नेपालले घरेलु टोली जिम्बाव्वेसँग ८ विकेट र वेष्ट इण्डिजसँग १०१ रनले हारेको थियो भने अमेरिकामाथि जित निकालेको थियो ।

एसोसिएट प्रतिस्पर्धी अमेरिकासँगको ६ विकेटको जितबाहेक हरारेमा नेपालको प्रदर्शन सन्तोषजनक थिएन । पहिलो खेलमा कुशल भुर्तेलको ९९ रन सहयोगमा जिम्बाव्वेमाथि २९१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिए पनि नेपाली बलरहरुले घरेलु ब्याटरलाई नियन्त्रण गर्न सकेनन् ।

पछिल्ला दुई खेल (वेष्ट इण्डिज र नेदरल्याण्ड्स)विरुद्ध भने नेपालको बलिङ, ब्याटिङ र फिल्डिङ सबैतिर नेपालको कमजोरी उदांगो भयो । दुईपल्टको विश्व विजेता वेष्ट इण्डिजसँग पहिलोपल्ट खेल्दा १०१ रनले हारे पनि नेपालको निडर प्रदर्शनले सबैको मन जित्यो । हरारे स्पोर्ट क्लबमा ३४० रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम ओभरमा अलआउट हुनुअघि २३८ रन बनाएको थियो ।

शनिबार नेदरल्याण्ड्ससँग हारेपछि नेपालले अर्को चरणमा प्रवेश नपाउने निश्चित भयो । समूह ए बाट नेपाल र अमेरिका पनि बाहिरिएका छन् । जिम्बाव्वे, वेष्ट इण्डिज र नेदरल्याण्ड्सले यो समूहबाट सुपर सिक्स खेल्नेछन् ।

नेपालका कप्तान रोहितकुमार पौडेलले ठूलो प्रतियोगिता र बलिया विपक्षीसँग खेलेर अनुभव र एक्स्पोजर हासिल भएको बताए । नेदरल्याण्ड्ससँग पराजित भएपछि रोहितले भनेका छन्, ‘राम्रो टिमको सामना गर्दा धेरै सिक्न पाएका छौं । प्लेअफमा राम्रो प्रदर्शन गर्नेछौं ।’ नेपालले सातौं र नवौं स्थानको प्लेअफका लागि दुई खेल खेल्नेछ ।

शर्ट बलमा संघर्ष

वेष्ट इण्डिजका विश्वस्तरीय बलरको सामना गर्न संघर्षरत नेपाली ब्याटरहरु शनिबार नेदरल्याण्ड्ससँग झनै निरीह देखिए । नेपालको कमजोरी थाहा पाएका डच बलरले लगातार बाउन्सर र शर्ट बल फाल्दा नेपालले लामो साझेदारी बनाउनै पाएन । ओपनर कुशल भुर्तेल, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र गुल्सन झासम्मका ब्याटरहरु त्यही शर्ट बलको शिकार बनेका थिए ।

यस्तै समस्या नेपाली ब्याटरका लागि वेष्ट इण्डिजसँगको खेलमा पनि भएको थियो । अल्जारी जोसेफ, जेसन होल्डरलगायत विश्वस्तरीय बलरहरुसामू नेपाल शर्ट बलमै माथ खानपुगेको थियो ।

अफ्रिकी राष्ट्र जिम्बाव्वेको पीच र विकेटको अवस्था एसियाको भन्दा निश्चित रुपमा फरक छ । एसियाबाहिर अफ्रिका, इंग्ल्याण्ड र अस्ट्रेलियामा बाउन्सर र शर्ट बलको असर धेरै हुने गर्छ । एसियाली पीचको तुलनामा अरु महादेशमा बलको उचाइ र गति धेरै हुने गर्छ । त्यसैले एसियाका शीर्ष ब्याटरहरु इंग्ल्याण्ड र अस्ट्रेलियाको पीचमा निरन्तर संघर्ष गरिरहेका देखिन्छन् ।

नेपालका पूर्वक्रिकेटर शक्ति गौचन बाउन्सर र शर्ट बलको समस्यालाई त्यति ठूलो मान्दैनन् । तर, यसपल्ट विश्वकप छनोट हेरेपछि नेपालले सुधार गर्नुपर्ने समस्या चाहीँ यही हो भनेर उनलाई पनि लागेको छ ।

‘हारेपछि धेरै समस्याहरु देखिन्छन् । अहिले शर्ट र बाउन्सर बलको कुराहरु आइरहेको छ’, गौचनले अनलाइनखबरसँग भने, ‘यो कुरा हाम्रो घरेलु क्रिकेटसँग आएर जोडिन्छ । शर्ट बलको समस्या एक दिनमा समाधान गर्छु भनेर हुने कुरा होइन । हामीले यू–१२ देखि उमेरसमूहमा यसको अभ्यास गराउन सक्नुपर्छ । नभए राष्ट्रिय टिमका लागि त्यसको विशेषज्ञ बलर झिकाएर अभ्यास गर्नुपर्छ ।’

जिम्बाव्वे पुग्नुअघि नेपालले दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेलसँगै विशेष अभ्यास गरेको थियो । उस्तै विकेट अवस्था रहेको दक्षिण अफ्रिकाको सिकाइले पनि नेपाललाई पर्याप्त भएन । एसियाली क्षेत्रमै आयोजना हुने आसन्न इमर्जिङ टिम्स एसिया कप र एसिया कपमा नेपाललाई शर्ट बलको समस्या तुलनात्मक रुपमा कम हुनेछ । तर, टेष्ट खेल्ने लक्ष्य लिएको नेपाल क्रिकेटका लागि यो तत्कालै सुधारमा लाग्नुपर्ने समस्या भएको गौचनले बताए ।

नेदरल्याण्ड्ससँगको हारपछि कप्तान रोहितकुमार पौडेलले पनि शर्ट बलका लागि आफूहरुको योजना कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरेका थिए । ‘बाउन्सर र शर्ट बल कसरी खेल्ने भन्ने योजनाले आज काम गरेन । यो कमजोरीबाट सिकेर आउने खेलहरुमा राम्रो पदर्शन गर्नेछौं,’ रोहितले भनेका थिए ।

सोमपालको चोट र सन्दीपको लय

सोमपाल कामी र सन्दीप लामिछाने नेपालका प्रमुख दुई बलर हुन् । तीव्र गतिका सोमपाल जिम्बाव्वेविरुद्धको पहिलो खेलमै चोटग्रस्त बनेपछि बाँकी खेलका लागि उपलब्ध रहेनन् । जिम्बाव्वेको पीच कण्डिसनमा सन्दीपको बलिङ प्रभावशाली रहेन ।

जिम्बाव्वेसँगको खेलमा सोमपालले ५.३ ओभरमा १ मेडल राख्दै ३० रन खर्चेर १ विकेट लिएका थिए । खेलको ३४औं ओभरमा जिम्बाव्वेका कप्तान सिन विमियम्सको प्रहार हातमा लागेपछि सोमपाल मैदान बाहिरिए । बाँकी ३ बल आरिफ शेखले गरेका थिए । उनी एक साता मैदानबाहिर रहँदा बाँकी तीन खेल गुमाए । सोमपाल सम्भवतः प्लेअफ खेलका लागि उपलब्ध हुनेछन् ।

नाबालिग बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछाने ठूलो अन्योलताकाबीच टिममा समावेश भएका थिए । उनलाई जिम्बाव्वे पठाउन काठमाडौं जिल्ला अदालतले झण्डै डेढ महिनासम्म पेशी स्थगित गरिदिएको छ ।

विश्वका शीर्ष सबैजसो फ्रेञ्चाइज लिग खेलिसकेका सन्दीपबाट जिम्बाव्वे, वेष्ट इण्डिजजस्ता ठूला टेष्ट टोलीविरुद्ध सशक्त प्रदर्शन आउने अपेक्षा थियो । तर, पहिलो खेलमा उनले जिम्बाव्वेविरुद्ध १० ओभरमा ७७ रन खर्चेर विकेटविहीन रहे ।

एकदिवशीय अन्तर्राष्ट्रियमा लगातार ३३ खेलमा विकेट लिएर कीर्तिमान बनाएका सन्दीप ३४औं खेलमा विकेटविहीन रहे । त्यसमात्र होइन अमेरिकासँगको दोस्रो खेलमा पनि उनले आफ्नो पूरा स्पेलमा ५८ रन खर्चेर विकेट लिन सकेनन् ।

तीव्र बलरहरुलाई सहयोग गर्ने जिम्बाव्वेको पीचमा सन्दीपले वेष्टइण्डिजविरुद्ध १ र नेदरल्याण्ड्सविरुद्ध २ विकेट लिए । विश्वकप छनोटको सुरुवाती ४ खेलमा शतप्रतिशत स्पेल बलिङ गरेका सन्दीले २४५ रन खर्चेर ३ विकेट लिए ।

‘सधैं एउटै बलरले धमाकेदार गर्नुपर्छ भन्ने हुँदैन । सन्दीप नचल्नु हाम्रो लागि घाटा भयो । किनभने उनीबाट धेरै आशा थियो’, नेपालका पूर्व अफस्पिनर गौचनले भने, ‘विकेट र कन्डिसनका कारणले पनि फरक पर्छ । हाम्रो बलिङ र ब्याटिङमा जति पनि कमजोरी भयो त्यसलाई सुधारेर अगाडि बढ्नुपर्छ ।’

नेपालका लागि सन् २०१४ मा टी–२० विश्वकप खेलेका गौचनले ठूलो टिमसँग खेल्दा अनुभव र एक्स्पोजरले धेरै फरक पार्ने बताए । ‘नतिजाबाट हामी निराश हुनुपर्दैन । किनभने जति पनि विपक्षीहरु थिए, उनीहरु सबै माथिल्लोस्तरका थिए । एसोसिएट टिमका रुपमा टेष्ट टिमलाई चुनौति दिएर खेलिरहेका छौं भने पक्के पनि नेपाल क्रिकेटमा केहि राम्रो हुँदैछ,’ गौचनले भने ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?