+
+

कविता यात्रा : सिक्किम-कालेबुङको फन्को लगाउँदा

प्रगति राई प्रगति राई
२०८० असार ११ गते ७:१४

यदि तिमी यात्रा गर्दैनौ भने

यदि तिमी पढ्दैनौं भने

यदि तिमी जीवनको धुन सुन्दैनौ भने 

यदि तिमी आफैंप्रति प्रभावित हुँदैनौ भने

तिमी बिस्तारै मर्दैछौ

विश्वचर्चित साहित्यकार पाब्लो नेरुदाको यो कविता साँच्चै नै जीवनप्रति उत्तरदायी छ । यसो भएकाले मैले पनि यात्रा गर्नुछ । पढ्नुछ धेरै, जीवनलाई प्रेम गर्नुछ र आफूलाई सोधिरहनु छ, ‘प्यारो जीवन ! औधी प्रेम गर्दछु तिमीलाई । प्रेम दर्शाउन मैलै जीवनका लागि के के गर्नुपर्छ ?’

आँखा चिम्म गरेर नसर्माइकन मनको कुरा सुन्ने हो भने रहरका चाङ लागेर आकाश छेलिने गरीको उचाइ बन्नेछ । तर त्यो रहरको उचाइ क्षणभरमै लडाइदिने एउटै शक्ति छ, त्यो हो आर्थिक र समयको अभाव । ‘यसो गर्नु पैसा छैन, उसो गर्नु समय छैन’ त्यसपछि नेरुदाको कविताले भनेको कुरा खोलामा बगाइदेऊ । छिट्टै मर्न कसलाई मन छ र रु एकै ठाउँ बसिरहन कसलाई मन छ र रु थाहा पाउँदापाउँदै आफूलाई निर्जीव बनाएर बस्नु बाध्यता पो छ त ।

साँच्चै नै निर्जीवजस्तै भएको बेलामा एकरात अबेर कवि कविता राईको फोन आयो म्यासेन्जरमा, ‘लु साथी १ सिक्किममा कविता देउरालीका संयोजक प्रवीण भाइले विश्व कविता दिवस सन् २०२३ को उपलक्ष्यमा नानाहरुलाई बोलाउने भन्नुभएको छ, के गर्ने ?’

निम्तालु भयौं कवि दीपा राई पुन र म । उहिल्यैदेखि सिक्किम दार्जिलिङ घुम्ने रहर यसै थाँती थियो । ‘चिया कविता’ उर्फ प्रवीण खालिङले जुराइदिनु भएपछि अरु के चाहियो र रु हुन त साथी दीपाजीको जन्मस्थान उतै रहेछ । उहाँले पनि कालेबुङ, सिक्किम, दार्जिलिङ एकचोटि मलाई घुमाइदिन्छु भन्नुभएकै थियो । मेरा लागि साहित्यको पहिल पठन संस्कृति नै उपन्यासकार प्रकाश कोविद थिए । ती उपन्यासमा उल्लेखित ठाउँहरु हेर्न मलाई कति रहर लागेको थियो ।

जे होस् बाटो फुक्यो ।

महामारीले पहिले मान्छेलाई थला पर्दोरहेछ, उसपछि मान्छेका मनस्थितिलाई । कोरोना महामारीका कारण संसारै कमजोर मनस्थितिमा गुज्रिरहेको बेलामा यसरी टाढाको मान्छेलाई निम्ता गरेर कविता उत्सव मनाउन सक्ने त निक्कै ज्याद्रो मान्छे हुनुपर्छ । तिनै ज्याद्रो मान्छे अथवा मनको धनी अनि कविता देउरालीको संयोजक प्रवीण खालिङलाई देख्ने हुटहुटी चलिरह्यो जाने दिनसम्म । फेसबुक उहाँ चलाउनुहुन्न रहेछ । उहिल्यै–उहिल्यै नदेखेको मान्छेसँग विवाह हुन्थ्यो । तस्तै मान्छे नै देखभेट नभइकन निम्ता पाइयो । मनमा एक किसिमको नौलो अनुभूति पनि भइरह्यो ।

बोलाउन पाुछैन, हिंड्न तयारी भा’को देखेर कविताजी पनि छक्कै पर्नुभएछ । पछि भेटमा खुब हाँस्यौं । मनपर्ने साथी दीपा राई पुनसँग पहिलोचोटि यात्रामा थिएँ । त्यो अर्को खुसी थियो । उहाँको दिल पनि ठूलो, आफन्त चिनजानको सञ्जाल पनि ठूलो । ठाउँठावै मेजमान र व्यक्तिगत गाडीको व्यवस्था फोनबाटै मिलाउनु भयो । म त सिर्फ कोसेलीजस्तो भएर दीपाजीको पछिपछि

लेखकसँग अरु त के नै हुन्छ र, त्यै किताबको भारी त थियो । ‘धेरै किताब नाकामा रोक्ला, नबोक्नू। बरु पछि म ल्याइदिउँला’  भन्नुभएथ्यो कविताजीले । त्यै भएर थोरै बोक्यौं तीन झोला मात्र । दीपाजी र मेरो एक–एक झोला । कवि कृशु क्षेत्रीजीको ‘चराको गीत’ कविता संग्रह एक झोला । भद्रपुर एयरपोर्टमा झरेपछि गोपाल मुखिया ज्वाइँसाप हामीलाई लिन आउनुभयो । सिधै सीमानाछेउ पुर्‍याइदिनुभयो । दीपाजीले ज्वाइँसँग भारतको फोनसिम लिनुभयो । ज्वाइँ फर्कनुभयो । तर कृशुजीको एक झोला किताब ज्वाइँको गाडीबाट झार्न छुटेछ । नेपालै आएछ । टेम्पोमा सीमाना काट्नै लाग्दा मैले सम्झिएर फेरि लिन आयौं । त्यहाँ अलिकति हाहाकार भयो । ज्वाइँसँग कुरा गर्न दुई पाइला उता नेपाली सिम नचल्ने, दुई पाइला यता भारतीय सिम नचल्ने । त्यसो गर्दागर्दै फिल्मीशैलीमा निकैबेर यता र उता भइरह्यौं । टेम्पोबाट झरेर हात हल्लाउँदै ‘है ! है !’ गरेपछि बल्ल टेम्पो र ज्वाइँको गाडी भेट भयो ।

सिक्किमबाट फर्किंदा पनि गोपाल ज्वाइँ सीमानापारि नै लिन आउनुभयो । उहाँको बिर्तामोड घरमा बहिनी बबिताले पोर्क भोजन साह्रै गज्जबको गराउनुभयो । म चाहिं बबिताको कुकिङ भन्दा पनि हाइट देखेर कम्ता लोभिइनँ ।

एक बजे मेचीपारि पुगियो । त्यहाँ राईको होटल रहेछ । खानपिन त्यहीं गरियो । तर खानेकुरा मीठो थेन । थोरै पनि । सिट भर्नलाई अरु मान्छे कुर्न दुई घण्टा बसाइ भयो । ड्राइभरले हाम्रै छेउमा खाना खान बसे एक जम्बो कोक पनि तयार पारेर । मलाई बिर्को खोलिमागे । मैले बिर्को खोलिंदै बडो अधिकारवाला झैं ‘आइन्दा कोक नखानू, खाँदै नखानू’ भनेर अर्ती उपदेश गरें । दीपाजीले पनि थप्नु भो । उसले आधा खाएर बाँकी छाड्यो । मैले फेरि अर्ती थपें, ‘आइन्दा कोक देख्नासाथ मेरो गाली सम्झनू ।’

‘तपाईंलाई चाहिं नसम्झिनु रु’ उसको बोली थियो ।

‘फेद न टुप्पो काँटो सम्झिनु रु’ मैले यति भनेर हामी हास्यौं ।

सिट भरियो । हामी पनि सिटमा बस्यौं ।

‘गोडा हटाउनुस्,’ ड्राइवरले स्टेरिङ घुमायो ।

‘मेरो गोडा पसार्ने ठाउँमा तपाईंको स्टेरिङ ?’

ड्राइभरसँग यसरी खुलेको थियो संवादको खाता । जीप जसै चल्यो, दुई किनारमा बाक्लो रंगीचंगी जंगल, बीचमा चिल्ला सडक । एक रफ्तारले गुडिरहेको जीपको गतिमा मैले एउटा मान्छे सम्झिएँ, जोसँग त्यस्तै रमाइलो यात्राका अनुभव सँगालेपछि केके नमिलेर बोलचाल बन्द भएको थियो । देख्नै मन नलाग्ने भएको थियो । दृश्यको रमाइला भिडियो खिचेर राखें । राम्रा चीज आफूले मात्र हेरेर काँ धित मर्दोरहेछ र ? जसलाई पायो उसलाई देखाएर पनि काँ आश गरेको अनुभूतिको उत्तर पाइँदो रहेछ र रु अनि त फेरि उसैलाई पठाएँ । लब रियाक्ट आयो ।

यात्राको बीचबीचमा जीप रोकेर मान्छेमाथि मान्छे थप्ने काम गरिरहे ड्राइभरले । यात्री उकुसमुकुस भएर बोल्न छाडेको निकैबेर भएको रहेछ । शून्यतालाई चिर्दै ड्राइभर बोले, ‘सबैजना यसरी एकसाथ यात्रा गर्न पाउँदा भएन त मज्जा रु’

‘तपाईंलाई पो मान्छे कोच्न पाएर मज्जा आयो त । ह्याँ, दुई जनाको सिटमा पाँच जना बस्नुपर्दा हामलाई……..’ मेरो जवाफमा फेरि सबैजना मरिञ्जेल हाँसे ।

तीन घण्टाको सुमो यात्रामा ड्राइभर अलिक बेसी नै बोल्न थालेको थियो । ‘हरेक गल्ती आफूबाट सुरु हुन्छ’ भन्ने सोच्नु मैले कोरिया बसाइमा जानेकी थिएँ । सुरुबाटै मैं बोलेकाले होला उसले त्यस्तो बोल्यो कि, ‘उसको गफले म लवमा पर्नसक्छु’ रे । दीपाजीले झाँको झार्दिनुभो । एक जनाकै गालीले भुत्ला खसेको कुख्राजस्तो भएकालाई फेरि के थप्नु गाली भनेर म बोलिनँ । रिसको तोडमा सिक्किमेभीरतिर सुमो गुडाउला भन्ने पीर जो थियो । बाटो घुम्ती, सघन साँझ अनि झरीउस्तै ।

गन्तव्यसम्म जीप नजाने रहेछ । दीपाजी र प्रवीण भाइको बारम्बार कुरा त भइनैरहेको थियो । भाइको डाइरेक्सन अनससार नै हामी ओर्लेपछि ड्राइभरले नै सेयरिङ ट्याक्सी ९अरुसँग मिलेर चढ्नुपर्ने० ट्याक्सी मिलाइदियो । अघि जीपमा भएको तीतोपन उसको सहयोगको गुणले पखालेर गयो । अन्तमा धन्यवाद दिएर उनीसँग बिदा भयौं । सिमसिम पानी परिरहेको थियो । अँध्यारोमा ट्याक्सी उकालो मात्र लागिरह्यो । करिब आधा घण्टापछि ‘देउराली’ भनेर ट्याक्सी रोकियो । त्यो चर्चित गान्धी रोडनेरको गान्तोक देउराली रहेछ ।

‘कहिल्यै नदेखेको आयोजक प्रवीण खालिङलाई कसरी चिन्नेहोला रु’ भनेर मन डराइरहेको बेला कविताजी एक जना गोरो मान्छेसँग एउटा छाता ओढेर उभिइरहनु भएको थियो । अनि सजिलो भयो । प्रवीण खालिङ उनै हुनुहुँदो रहेछ ।

सिक्किम गान्तोकमा तेर्सो हिंड्न चाहिं अलिक नपाइने रहेछ । कि अलिक ओरालो, कि अलिक उकालो । शुटकेशहरु पाल्टाङ्पुल्टुङ् लडाउँदै होटलसम्म पुग्यौं । ‘के खाने रु’ भन्नेमा मैले ‘अवश्य नै बिफ’ भनें । गान्तोके पेय हनी बीको कुरा पनि नउठेको होइन, तर घोर माग चाहिं भएन । किनकि हामी सबै ‘दिए खाने खोजेर नखाने’ खालका थियौं । मैले बिफ खाएँ, अरुले पोर्क । आयोजक भाइ त झन् शाकाहारी रहेछन् । म शाकाहारी बन्न नसके पनि बन्न सकेकालाई मेरो सम्मान छ । तर ‘मांसाहारी हुनु पाप हो शाकाहारी चाहिं धर्माती’ भन्ने सिद्धान्तमा मेरो कुनै सहमत छैन । किनकि शाकाहारीले पनि सागसब्जी, फलफूल खाएकै हुन्छन् । नखाइ बाँचिन्न । खानु पाप हो भने बढ्दै गरेको चिचिला, फैंलिदै गरेका हाँगा, फूल्दै गरेका कोपिला खानु पनि पापै हो । आवाज नहुनेहरुलाई खाँदा चाहिं पाप लाग्दैन भन्ने जुन तर्क छ, त्यो वाहियात लाग्छ । सृष्टि नै कसैले कसैलाई खाएरै चलिरहेको हुन्छ । हामीलाई पनि एक दिन कालले खान्छ, मरेपछि धमिरा,कमिला,कीरा केकेले खाला ।

कुरा फेरि बत्ती गएछ कताकता । अँ, हामी बस्ने होटल फेरि अर्कै रहेछ । पानी सिमसिम परिरहेकै थियो । छाता तानातान गर्दै होटलतर्फ लाग्यौं । अहो १ गान्तोक बाहिर मात्रै साँगुरो रहेछ । घरभित्र त खुबै फराक । दुईवटा बेडरुम, किचन, सिटिङ रुम र दुईवटा बाथरुम पनि । टेबलकुर्सी उसै कलात्मक । मलाई उसैउसै कोरियाको सम्झना आयो । सरसफाइ, शान्त र कलात्मक सजावट । जतिदिन बस्नुछ, आफैं पकाउने खाने गर्न मिल्ने खालको होटल रहेछ । अंग्रेजीमा यसलाई ‘अन एअर’ भन्दा रहेछन् । प्रवीण भाइलाई त्यसको रेन्ट सोधें, त्यै २५–३५ सय चौबीस घण्टाको भन्नुभो क्यार ।

‘यति चर्को मूल्य तिरेर मलाई कसरी बोलाउने मन भयो रु’ भनेर सोधें । तर भाइले मेरो नालीबेली जान्नुभएको रहेछ । मेरो पहिलो उपन्यास ‘लेखककी स्वास्नी’ पढ्नु भएको रहेछ । दीपाजी त अब, अमेरिका बस्नेमान्छे । कविता पनि मीठो लेख्नुहुन्छ । उहाँको साथमा म पनि परेको हुँदा भाग्यमानी भएको महसुस गरें ।

प्रवीण भाइले सानो भुन्टे बोत्तलमा रक्सी ल्याइदिनुभएछ । चाखियो, निक्कै कडा हुँदोरहेछ पूर्वेली कोदाको जस्तै । बेलका त्यति केही कुरा भएन । भोलि कार्यक्रममा क(कसले के के गर्ने भनेर मात्र हल्का कुरा भयो । दीपाजी छुट्टै रुममा र कविताजी र म एउटा रुममा सुत्यौं । पानी सररर परिरहेको नै थियो ।

बिहान आठ बजेतिर उठ्यौं । र, पनि पानी दररर परि नै रहेको थियो । वर्षाको कारण सिक्किमे कविहरुसँग भेट नहुने भयो भनेर चिन्ता खुबै लाग्यो । उठेर वासरुम गएँ । झ्यासबाट दुईघरको ग्यापबाट अलिकति उज्यालो देखियो । तल हेरें, सानो खोल्सा पो बगिरहेको रहेछ । हामीले सोचेको वर्षा त्यो वर्षा नभई खोल्सा सुसाएको रहेछ ।

त्यहाँ १२ बजे खाना खाने चलन रहेछ । सहभागी कवि तथा अतिथिहरु कुनै भोजमा झैं खाना खान लामवद्ध भयौं । हुन त विश्व कविता दिवश कविहरुका लागि विशेष दिन नै हो । तर सन् १९९९ मा युनेस्केले २१ मार्चलाई विश्व कविता दिवस मनाउने घोषण गरेता पनि यसरी भव्य रुपमा दिवस मनाउन पाएको मेरो लागि पहिलो पटक थियो । ‘चिया कविता’ नामक टिमले हरेक महिना कविता गोष्ठी आयोजना गर्दोरहेछ । यो पल्ट भने हामीले पनि निम्ता पायौं ।

मेरो मनमा थोरै चिन्ता थियो, मेरो विचारले सिक्किमे हृदयलाई छुन कति सम्भव होला रु कतै ठेस पो पुग्ने हो कि रु भन्ने खालका त्रासमा मैले धेरै बोल्न सकिनँ । बस् यति बोलें, जीवनमा सिक्किमे कविहरुसँग साक्षात्कार हुने रहर पुगेको कुरा गरें । अनि ‘कवि लेखकलाई सधैं आर्थिक अपाङ्गता भएको देखाइन्छ । आर्थिकवालहरुले जीवनमा एउटा गीत पनि नगाइकन, एउटा कविता पनि नलेखीकन भावनात्मक अपाङ्गता भएको किन देखाइँदैन रु के यो जीवन भातलाई मल बनाउनको लागि मात्र हो रु’ कविहल हाँसोमय भयो । लगभग यति नै बोलें, अनि एउटा कविता वाचन गरें । दीपाजी र कविताजीले पनि कविता वाचन गर्नुभयो ।

त्यहाँ वाचित कवितामध्ये मलाई मनमा बसिरहेको चाहिं छेवाङ योञ्जनको ‘पुल’ कविता हो । पुलवारिको सहर र पुलपारिको गाउँलाई तुलना गरिएको यो कविताको एक अंश यहाँ राख्छु–

प्रिय पाठक

पुलपारि मुस्कान, फू र प्रेम छ

पुलवारि नाफा, व्यापार र धोका

पुलपारि बादल, झरण र खेतहरु छन्

पुलवारि नाफाखोरी मानसिकताका अग्लाअग्ला हिमालहरु

सत्य होला महाशय !

पुलपारि मासुम एउटा गाउँ छ

पुलवारि भयंकर बदमास सहर

छेवाङसँग काठमाडौंमै हामी भेट भएको कुरा उनैले सम्झाएपछि मैले पनि सम्झिएँ । चर्चित उपन्यास ‘फातसुङ’का लेखक छुदेन काविमो, कान्तिपुर मिडिया हाउसका पत्रकार दीपक सापकोटा अनि ‘हाम्रो किताब घर’ सिलिगुडीका संस्थापक छेवाङसँग एक दिन माइतीघर मण्डलाछेउ कफी पिएको सम्झना दोहोरियो ।

त्यहाँ वाचित कविताहरुमा एनबी घिमिरेको कविता पनि मन पर्‍यो– ‘टिष्टाको बाँधमा अल्झेर मर्नै लागेका कविता’

एउटा युद्धको कथा छ

फूलहरुले घोषण गरे– एकदिन

अब हामी युद्ध गर्छौं मान्छे विरुद्ध

मान्छे ट्वाल्ल पर्‍यो

हेरिरह्यो

बीज–बिरुवा–फूल अनि बीजको जीवन चक्र।।।।

अर्का कवि गोपाल ढकालको व्यंग्यपूर्ण कविता थियो–

आजका कविताहरुमध्ये

अन्त्यानुप्रास मिलेका

शब्दका देवल

पुराना शिलोक

अनि रामायण भन्दै

छन्द भनेपछि नाक खुम्च्याउनेमा तिमी नि पर्छौ हो  ?

छन्द बुझेर खुम्च्याएको कि अनुसरण गरेको  ?

उनका कविताले माहोल हाँसोले भरियो । साँच्चै नै अनुप्रास मिलेकोवाला कविता कसैको थिएन । म त झन् पटक्कै जान्दिनँ । तरवार लेख्न मन लागेको ठाउँमा अनुप्रास मिलाउन चकमक लेख्नुपर्ने बाध्यता आइलाग्ने भएकाले झ्याउ लाग्छ ।

अर्को रमाइलो पक्ष थियो दावा योञ्जनको कविता । उनी पुलिससेवामा कार्यरत रहेछन् । उनको कविताको शीर्षक नै ‘एउटा पुलिस कविको कोठा’ कविताको अन्तिम अनुच्छेद–

अन्त्यमा, भित्ताको ऐनालाई हेर्छु

अनि गर्छु एउटा प्रश्न आफैंलाई

के म

यो कोठाभित्र पनि कवि बन्न सक्दिनँ ?

त्यहाँ वाचित कविताहरुबाट के थाहा भयो भने नेपालमाजस्तो जातीय द्धन्द्ध, राजनैतिक आक्रोश अनि महिला तथा दलितको थिचामिचो छैन । अझ भनौं दलित बनाइने समस्या नै छैन । त्यसैले केही जीवनवादी, केही गाउँको वासना र केही विज्ञानसँग सम्बन्धित कविताहरु सुन्न पाइयो । प्रवीण राई जुमेलीले कवि अमृत क्षेत्रीका कविता संग्रह ‘एकान्त भीड’माथि प्रकाश पारेका थिए ।

कविहरु थिए एनबी घिमिरे, दीपा राई, छेवाङ योञ्जन, गोपाल ढकाल, रुपा तामाङ, दावा योञ्जन, देवकुमारी दुमी, जीविका अश्रु, अमर बानिया लोहोरो, प्रवीण राई जुमेली, सुधा एम राई, सुधीर क्षेत्री ।

साँझ कालेबुङबाट आएका कविहरुलाई पनि हामी बसेकै होटलमा बास राखिने भएको रहेछ । त्यहाँ जलपान गर्ने क्रममा कालेबुङे कवि प्रदीप लोहागुणले कुनै बेला नेपालमा भएको विचार गोष्ठीको कुरा निकाले । जहाँ नेपालीभाषी भारतीय कविहरुलाई ‘अर्को नेपाल’ भनिंदा चित्त नबुझेको रहेछ । मैले पनि सिक्किमलाई त्यस्तै सोच्थें । अर्को नेपालभन्दा उताका नेपालीहरु खुसी हुन्छन् भन्ठानेको थिएँ, होइन रहेछ ।

होइन, नेपालीभाषी भारतीय नागरिक नै भन्नुपर्ने रहेछ । अर्का कवि सुधीर क्षेत्रीले कवि हृदयको सम्मान गर्दै त्यसो भन्दा पनि फरक नपर्ने जनाए । किन कि बिरानो ठाउँमा आफ्नो भाषा बोल्ने मान्छे एक जना भेट्दा पनि पूरै देश भेटिएजस्तो लाग्छ । त्यो दृष्टिबाट हामीले नेपाल बाहिरका नागरिकलाई त्यसो भन्दा हौं । तर संगीत र व्यापारले प्रभाव जमाएको आधारमा ‘नेपाल भारतको एक टुक्रा हो’ भनेर कुनै भारतीयले भनेको सुन्दा नेपालीलाई पनि बडो जंग चलेर आउँछ । मैले यहीं उदाहरण दिएर प्रदीपको कुरामा जोड समर्थन गरें । यस्तै–यस्तै छलफल भएर सकिएपछि केही क्षण कविता सुनाउने सिजन पनि चल्यो ।

सुधीर शर्माको कविताले ज्यादै मन छोयो । छेवाङको नास्तिकवाला कविता दामी थियो । कविता राईजीले प्रकाशनमा तयारी रहेको कविता संग्रह ‘फाटकमा घाम’ बाट शीर्ष कविता ‘फाटकमा घाम’ कविता सुनाउनुभयो । यो निक्कै सुन्दर र नयाँ पृष्ठभूमिमा लेखिएको कविता रहेछ । मैले पनि टोकरी नामको कविता सुनाएँ । जलपान, कविता अनि पहिलोचोटि भेटेको मानिस…….अहो  ! अरु के चाहियो र रु कविता दिवस सन् २०२३ बडो गज्जबले मनाउन पाइयो । यो विषयमा प्रवीण खालिङ र उनको ‘चिया कविता’ टिमलाई जतिचोटि धन्यवाद दिए पनि अपुग नै हुन्छ ।

भोलिपल्ट अनुवादक सुधा एम राईले झाँक्रीफल्स घुमाउन लानुभयो । स्थानीय पर्यटकको मारामार भीड थियो । झाँक्रीफल्स पारिराङका भन्ने ठाउँ दम्साइलो रहेछ । त्यहाँ किरात राई यायोक्खाको विशाल भवनको दर्शन गरियो । त्यो भवनको निर्माण इतिहासबारे केही लेख्न मन लागेको थियो, तर केही जानकारी पाइएन । अनि त्यो दिनको भोजन सुधा एमजीले गान्धी रोडको एक होटलमा गराउनुभयो । हामीलाई बिदाइ गर्न प्रवीण भाइ दीपा राई सिक्किम र लुईस बिष्ट पनि आइपुग्नुभयो । सिक्कमे चिया र उहाँहरुको कृति उपहार दिनुभयो । सामूहिक फोटो खिचिवरी बिदा भयौं ।

सिक्किमे माया लुँडाएर हामी फेरि कालेबुङ हुइँकियौं । मैले कालेबुङ जाने रहर धेरै भएको दीपाजीलाई बारम्बार भनिरहेकाले हाम्रो यात्रा कालेबुङतिर मोडियो । दीपाजीका भाइ देवेन्द्र प्रधानले अतिथि बनाउनुभयो । बुहारी पनि सरकारी हाकिम अनि भाइ पनि सरकारी हाकिमका साथै गीतकार पनि हुनुहुँदो रहेछ । पहिले पनि दीपाजीको घरमा एकचोटि भेट भएको थियो । तर उस्तो बोलचाल भने भएको थिएन । तर कालेबुङमा उहाँकै घरमा पाहुना लागेपछि त अलिक निकै नै बोलियो । देव प्रोडक्सन नाम भएको युट्युबमा उहाँका गीतहरु सुन्दै जलपान जमायौं । त्यसपछि जगजीत सिंहका गजल सुनेर नपुगेपछि दीपाजीको सप्पै गीत सुनिभ्यायौं । मनपर्ने साथीको सबैथोक मन पर्छ भनेजस्तै प्रिय साथी दीपाजीको भाइ अनि बुहारी मलाई खुबै मन पर्‍यो । अहिलेसम्म सम्झनामा मीठो अनुभूति आइरहन्छ ।

कोविदका उपन्यासमा पढेको कालेबुङ, बोमबस्ती, दूरबीन डाँडा, गुम्बा घुमाइदिने हुनुभयो देवेन प्रधानज्यूले । उहाँ जान नभ्याए पनि गाडी दिनुभो र गाइड उहाँकै स्टाफ दीपा शर्मा हुनुन्थ्यो । साथमा निलु प्रधान पनि हुनुहुन्थ्यो । ‘डेलो’ कालेबुङकै ठूलो होटल रहेछ । त्यहाँ लञ्चको व्यवस्था गर्दिनुभएथ्यो प्रधानज्यूले । हामी फूलका नर्सरी घुम्दै कताकता भुलेछौं । उहाँले स्टाफलाई फोन गरेर तारैतार छिटो जानु भनिरहनुभयो । ड्राइभर म्याङगो ९प्रवीण राई०को गाडी हँकाइ चाहिं निक्कै माप्पाको रहेछ । सिटमा हामी गुल्टिङ खाएर हैरान भयौं । गाडी होटलतर्फ मोडियो । होटलमा प्रधानज्यूको उपस्थिति हाम्रो मनले खोजेको थियो क्यार, उहाँ सरप्राइजली गेटमा भेटिनुभयो । हामी खुसीले करायौं । ‘लञ्चमा सँगै हुन भ्याउँदिन सरी’ भनिवरी हामलाई सरप्राइज दिन सँगै लञ्चका लागि होटल जानुभएको रहेछ । हामी बेपत्ता भएको देखेर उल्टै बोरिङ हुनुभएछ ।

भोलिपल्ट बाँकी रहेका ठाउँहरु घुम्यौं । दिनमा देवेनज्यूका माइला दाजु शिव प्रधानले कालेबुङको सबैभन्दा ठूलो अर्को होटल ‘सिलभर ओक्स्’मा लञ्च गराउनुभयो । तर सँगै भने जानुभएन ।

ुकालेबुङ बीस वर्षअघि पनि यस्तै थियो’ भनेर दीपाजीले धेरैचोटि भन्नुभयो । नफेरिनुमा विभिन्न कारण होलान् । जे होस् नफेरिएर मलाई राम्रो लाग्यो । किन कि कोविदको उपन्यासमा पढेको जस्तै ठाउँहरु घुम्न पाएर प्रफुल्लित भएँ । कोविदको रिक्तस्थानमा देवेन प्रधानको माया पायौं । त्यो भन्दा अरु खुसीको कुरा के नै होला र रु

तर कालेबुङमा हामीलाई माया गर्ने कोही साहित्यकार रहेनछन् । अघिल्लो दिन सिक्किममा भेट भएको बाहेक कालेबुङमै चाहिं कसैलाई भेटने अवसर पाइएन । जीवनको आदरार्थी साहित्यकार कोविदको जन्मभूमिमा कोही साहित्यकारको सामीप्य नपाउनु साँच्चै नै दुःखलाग्दो कुरा थियो ।

यसरी सिक्किम र कालेबुङको धेरै मीठो सम्झना र अलिकति गुनासो बोकेर हामी टिष्टा तरी आयौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?