+

८ मध्ये ६ टिममा विदेशी कोच

२०८० असार  १२ गते १०:५१ २०८० असार १२ गते १०:५१
८ मध्ये ६ टिममा विदेशी कोच

१२ असार, बैंगलुरु । भारतको बैंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३मा सहभागी ८ मध्ये ६ टिममा विदेशी प्रशिक्षक छन् ।

त्यसमा पनि युरोपियन राष्ट्र इटलीका दुई प्रशिक्षक अहिले साफ च्याम्पियनसिपमा टच लाइनमा बसेर निर्देशन दिइरहेका छन् । ती हुन् नेपालका प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस र माल्दिभ्सका प्रशिक्षक फ्रान्सेस्को मोरेइरा ।

यसपटक साफमा प्रतिस्पर्धा गरिरहेका ८ टिम मध्ये पाकिस्तान र भुटान बाहेक ६ टिममा विदेशी प्रशिक्षक छन् । पाकिस्तानी टिममा सहायक प्रशिक्षक भने विदेशी (तोबर्ने विटाजेवस्की) नै छन् ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस भारतमा यसअघि नै घरेलु फुटबलमा काम गरेकोले चर्चित नै छन् । उनी गत मार्चमा मात्रै नेपालको मुख्य प्रशिक्षक बनेका थिए र साफ च्याम्पियनसिप नै उनको पहिलो मुख्य अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

माल्दिभ्सका प्रशिक्षक फ्रान्सेस्को मोरेरोको पनि पहिलो राष्ट्रिय टिम माल्दिभ्स नै हो । उनी २०२१ मा माल्दिभ्सको प्रशिक्षक नियुक्त भएका थिए ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस

एलेन र मोरेरोको यो कुरा समान रहे पनि जारी साफ च्याम्पियनसिपमा भने यी दुई प्रशिक्षकको मानसिकता फरक देखियो । नेपालका प्रशिक्षक एनेस पोष्ट म्याच कन्फ्रेन्समा खुलेर पत्रकार माझ प्रस्तुत हुन्थे भने माल्दिभ्सका प्रशिक्षक मोरेरो सकेसम्म कम बोल्न रुचाउँथे ।

नेपाल भलै सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको छ । तर कुवेत र भारतसँगको खेलपछि उनी पोष्ट म्याचमा उपस्थित भएर मजाले बोले ।

भारतसँगको हारपछि उनले यसको नैतिक जिम्मेवारी आफूले लिने बताए । ‘हारको नैतिक जिम्मेवारी म लिनेछु । मैले जे जति समय पाएँ त्यसमा खुशी नै छु ।’ साथै उनले त्यसको कारण समेत दिएका थिए ।

उनले ११ जुनदेखि मात्र नेपाली टिमलाई एकैपटक पाएको र आफूले थोरै समय मात्र सँगै प्रशिक्षण दिन पाएको बताएका थिए । ‘मैले ११ जुनमा मात्र टिम पाएको थिएँ । टिमसँग जम्मा चार दिनको प्रशिक्षण गरे । अनी फिलिपिन्स गएर खेल्यौं र यहाँ आयौं’, भारतले मेदेखि नै साफका लागि तयारी गरेर र लगातार खेलिरहेको सन्दर्भमा एनेसले भने ।

उनले वर्षको १० महिना जति फुटबल गतिविधि हुने हो भने त्यसले खेलाडीलाई फाइदा पुग्ने बताएका थिए । यसले राष्ट्रिय टिमको नतिजाका लागि पनि सहयोग गर्ने उनको भनाइ थियो ।

खेलाडीहरुले भविष्य बारे सोच्नुपर्दा विदेशिन बाध्य भएको समेत उनले बताए ।

भिनसेन्जो एनेसले यसअघि आई लिग र इन्डियन सुपर लिग आईएसएलमा काम गरिसकेका छन् । उनले गोकुलम केरलालाई लगातार दुई पटक उपाधि दिलाएका थिए भने नेपालको प्रशिक्षक बन्नुअघि आइएसएलमा नर्थ इस्ट युनाइटेडको केही खेलमा प्रशिक्षण सम्हालेका थिए ।

एनेसले साफअघि नेपालमै गत मार्चमा भुटान र लाओस सम्मिलित थ्री नेसन्स कपको उपाधि जिताएका थिए ।

प्रशिक्षक एनेसले नेपाली टिमका आयुष घलान, मनिष डाँगी जस्ता खेलाडीहरुमा ठूलो सम्भावना रहेको र उनीहरु विदेशी लिगमा खेल्न लायक रहेको समेत बताए ।

‘यदि यी खेलाडीहरुले भारतमा लिग खेल्ने भवसर पाए नेपाली फुटबलको भविष्य नै राम्रो हुनेछ ।’

इटालियन प्रशिक्षक मोरेरो भने एक हारपछि नै अर्कै मानसिकतामा देखिए ।

माल्दिभ्सका प्रशिक्षक फ्रान्सेस्को मोरेरो

मोरेरोले आइतबार बंगलादेशसँग ३-१ को हारपछि पोष्ट म्याच कन्फ्रेन्समा पत्रकारको प्रश्नको सामना नै नगरी बाहिरिए । उनले सुरुमै माल्दिभ्स पराजित भएकोमा माफी मागे अनी खेलाडीले प्रदर्शन गर्न नसकेको भन्दै अन्तिममा माल्दिभ्सका जनतासँग सरी भनेर निस्किए । पछि माल्दिभ्स फुटबल संघले यस विषयमा अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

मोरेरोले अंग्रेजी राम्रो नभएको स्वीकार गर्दा पनि पहिलो खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा जबरजस्तै अंग्रेजीमै बोलेका थिए ।

अन्य विदेशी प्रशिक्षकले इन्टरप्रेटर राखेर पत्रकारको प्रश्न लिने गरे पनि मोरेरोले भने त्यो गरेनन् । पोष्ट म्याचमा पनि उनी आफ्नो जिम्मेवारीबाट पन्छिएर हिंडे ।

पहिलो खेलमा भुटानलाई हराएपछि नतिजाबाट खुशी रहे पनि प्रदर्शनबाट भने सन्तुष्ट नरहेको बताएका थिए ।

मोरेरोले खेलाडीको रुपमा इन्टर मिलान नापोली रोमा र काग्लियारी लेसे जस्ता क्लबबाट खेले । त्यसपछि उनले विभिन्न क्लबहरु सम्हाल्ने । उनको पहिलो राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा यो नै पहिलो काम हो । उनले सन् १९९८ मा इन्टर मिलानबाट खेलाडीको रुपमा यूईएफए कप जितेका थिए । त्यस टिममा ब्राजिलयन लेजेण्ड रोनाल्डो समेत थिए ।

यस बाहेक अन्य विदेशी प्रशिक्षकहरु समेत साफ च्याम्पियनसिपमा सहभागी छन् ।

घरेलु टोली भारतका मुख्य प्रशिक्षक इगोर स्टिमाक हुन् । उनी हाई प्रोफाइल प्रशिक्षक मध्ये हुन् । उनकै प्रशिक्षणमा भारतले साफअघि ओडिशामा भएको इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको थियो । २०२१ मा माल्दिभ्समा भएको साफ पनि भारतले उनकै प्रशिक्षणमा जितेको थियो । भलै फाइनलमा नेपाल विरुद्धको खेलमा उनी टचलाइनमा थिएनन् ।

यसपटक पनि त्यस्तै भयो । पाकिस्तान विरुद्धको पहिलो खेलमै रातो कार्ड पाएपछि उनले नेपाली विरुद्धको खेलमा टचलाइनमा बस्न पाएनन् र बाहिरै बसेर हेरे ।

इगोरले सन् १९९० देखि २००२ सम्म क्रोएसियाको राष्ट्रिय टिमबाट खेले । क्रोएसिया सन् १९९८ मा विश्वकप खेल्ने टिममा समेत थिए । त्यसपछि उनी २०१२-१३ मा क्रोएसियाका प्रशिक्षक नै ।

कुवेतका प्रशिक्षक रुई बेन्टो

कुवेतका प्रशिक्षक पोर्चुगिजका रुई बेन्टो हुन् । उनले पोर्चुगलको उमेर समूहदेखि राष्ट्रिय टिमसम्म खेलिसकेका छन् । सन् २०२२ सम्म पोर्चुगलको उमेर समूहको प्रशिक्षक नै रहेका उनी २०२२ मा कुवेतको प्रशिक्षक नियुक्त भएका थिए ।

सिनियर राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा उनको पनि यो नै पहिलो काम हो । उनले पोर्चुगलको बिग थ्री क्लब मध्ये उनले बेनफिका र स्पोर्टिङ सिएफबाट समेत खेलेका थिए ।

लेबनानका प्रशिक्षक सर्बियन अलेक्जान्डर इलिस । क्लब लेभलको फुटबल खेलेपनि राष्ट्रिय टिममा पुग्न सकेनन् । लेबनान उनले हेरेको पहिलो राष्ट्रिय टिम हो ।

लेबनानका प्रशिक्षक अलेक्जान्डर इलिस

बंगलादेशका स्पानिस जाभिएर फर्नान्डेज काब्रेरा डेपोर्टिभा अलाभेजको ३८ वर्षीय स्पानिस प्रशिक्षक काब्रेराले भुटान जानुअघि स्पेनको अलाभेजको युथ टिमको प्रशिक्षकको रुपमा काम गरेका थिए । त्यसबाहेक उनले स्पेनकै रायो माजादाहोन्डामा पनि युथ टिमको प्रशिक्षकको रुपमा काम गरे ।

पाकिस्तान प्रशिक्षक शाहजाद अनवर आफ्नै देशका हुन् । तर फिफा निलम्बनबाट फर्केपछि पाकिस्तानको प्रदर्शन खराब छ । २०२२ नोभेम्बरमा नेपालसँग मैत्रीपूर्ण देखि साफ सम्म आइपुग्दा लगातार ८ खेलमा पाकिस्तान पराजित भएको छ भने जम्मा एक गोल मात्र गर्न सकेको छ ।

भुटानका प्रशिक्षक काब्रेरा डेपोर्टिभा अलाभेज

अनवर यसअघि २००८ र २०१३ मा पनि पाकिस्तानको केयरटेकर प्रशिक्षकको रुपमा काम गरेका थिए । अर्को रमाइलो संयोग के छ भने सन् २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा पनि उनी पाकिस्तानको केयरटेकर प्रशिक्षकको भूमिका थिए । त्यस साफमा नेपाल र पाकिस्तान एकै समूहमा थिए र खेल १-१ को बराबरीमा सकिएको थियो ।

भुटान राष्ट्रिय टिमको पूर्व सदस्य समेत रहेका पेमा दोर्जी हाल भुटानको प्रशिक्षकको भूमिकामा छन् । उनले सन् २००९ देखि २०१३ सम्म भुटानका लागि ११ खेल खेलेका थिए ।

साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय