 
																			१२ असार, काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पहाड र हिमाली क्षेत्रमा पनि संगठन विस्तारलाई तिब्रता दिएको छ ।
२०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट तराई मधेशमा राम्रो जनमत हासिल गरेको उक्त पार्टीले देशका ७७ वटै जिल्लामा संगठन विस्तारका लागि सार्वजनिक रुपमै आह्वान गरेको छ । तराई मधेशका २३ वटा जिल्लामा संगठन विस्तार गरिसकेको जनमत पार्टीले बाँकी ५४ वटा जिल्लामा नेतृत्वको खोजी गरिरहेको छ ।
पार्टीमा आवद्ध भएर काम गर्न चाहनेहरुका लागि अनलाइनमार्फत खुल्ला आह्वान गरेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिएका छन् । उनका अनुसार जनमत पार्टीले आगामी निर्वाचनमा देशभरका सबै निर्वाचन क्षेत्रमा एकल उम्मेदवारी दिने योजना बनाएकाले अहिले संगठन विस्तार सुरु गरिएको हो ।
‘हामी पहिलो निर्वाचनबाटै राष्ट्रिय पार्टीको रुपमा उदायौं, अब पार्टीको सांगठानिक संरचना पनि राष्ट्रव्यापी बनाउन लागेका छौं’, नेता साहले भने, ‘हिमाल पहाडका जनताले पनि डा. सीके राउतको नेतृत्वलाई स्वीकार गर्दै हुनुहुन्छ । हामी हिमाली र पहाडी भेगका जनतालाई पनि समेटेर पार्टी विस्तार गर्दैछौं ।’
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै जनमत पार्टीको वेबसाइटबाट फारम भर्न वा पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
हाल प्रतिनिधिसभामा ६ सिट रहेको जनमत पार्टी मधेश प्रदेश र लुम्बिनी प्रदेश सरकारमा सहभागी रहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4