+
+
ललिता निवास जग्गा प्रकरण :

अख्तियारले जोगाएका कर्मचारी सीआईबीको अनुसन्धानमा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १६:२२

१२ असार, काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा छ जग्गा नै घुस लिएर आफन्तको नाममा राखेकाहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धानको दायरामा ल्याएको हो । त्यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् ।

शाह गृह मन्त्रालयमा लामो समय बसेका पूर्वसहसचिव हुन् । सरकारी सेवाबाट अवकाश पाएपछि उनलाई सरकारले निर्वाचन आयुक्त बनाएको थियो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमिततामा उनले घुसबापत पाएको जग्गा आफन्तको नाममा राखेको आरोप छ ।

सीआईबी स्रोतका अनुसार ललिता निवासको व्यक्तिको नाममा लगिएका बेला शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । सरकारले अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा पुनः सुवर्णशमशेर र उनको परिवारको नाममा फर्काएर भूमाफियाले अनियमितता गरेका थिए ।

राणा परिवारसँगको नाता पनि पर्ने सुधीरकुमार शाहले ललिता निवासको जग्गा व्यक्तिको नाममा फर्काउँदा पर्दा पछाडिबाट सहयोग गरेको सीआईबी स्रोत बताउँछ । उनले भुसवापत पाएको १ रोपनी ११ आना जग्गा पत्नी उर्मिलाको नाममा राखेको स्रोतको दाबी छ ।

प्रहरीले जग्गा घुस खाएको आरोप लागेका गृहका पूर्वसहसचिव गेहनाथ भण्डारीलाई पनि खोजिरहेको छ ।

त्यतिबेला शाखा अधिकृत रहेका भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत पाएका जग्गा सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवनकुमार चापागाईँको नाममा एक रोपनी जग्गा राखेको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि सुधीरकी पत्नी उर्मिला र गेहनाथको पत्नी भुवनकुमारी र सासु सोदाकुमारीलाई मुद्दा चलाए पनि दुई पूर्वसहसचिवलाई भने मुद्दा चलाएन । त्यो बेला गृह प्रशासनबाटै अख्तियारमा पुगेका नविनकुमार घिमिरे अख्तियारमा प्रमुख आयुक्त थिए ।

गेहनाथकी सासु सोदाकुमारीले चार वर्षअघि अख्तियारमा बयानका क्रममा आफूलाई छोरीले बोलाएर जग्गा दिएको बताएकी थिइन् । ‘छोरीले मलाई बोलाएर जग्गा किन्नुपर्ने भयो भनी कुनै कार्यालय जस्तो स्थानमा लगेर सही गर्न लगाइन् । मैले के हो भन्ने थाहा नै नपाई छोरीको भनाइमा लागेर छोरीले जे भनिन्’, उनले भनेकी थिइन, ‘केही समयपछि छोरीले नै त्यो जग्गा बेच्नुपर्ने भयो भनिन्, मैले मन्जुरीनामा दिएँ । हाल मेरो नाममा कुनै पनि जग्गा जमिन छैन ।’

सोदाकुमारीकी छोरी तथा गेहनाथको पत्नी भुवनकुमारीले राणा परिवारबाट आफूले जग्गा किनेको दाबी गरेकी थिइन । र, उनले बयानमा आफूले जग्गा किन्दा पति गेहनाथ राष्ट्रिय योजना आयोगमा शाखा अधिकृत रहेको बताइन् ।

गेहनाथ र सुधीरकुमारले सरसल्लाह नै गरेर भुवनकुमारी र उर्मिलाका नाममा संयुक्तरुपमा जग्गा राखेको सीआईबी स्रोतको दाबी छ । करिव १० वर्ष राखेर उनीहरुले २०६० सालमा त्यो जग्गा ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकारमध्ये एक मानिएका रामकुमार सुवेदीलाई दिए । ‘उक्त जग्गा बकस लिखत पारित गरी खरिद गरेको हो’, उर्मिलाले अख्तियारको बयानमा भनेकी थिइन्, ‘मलाई जग्गाधनीसँग भेटाउने व्यक्ति जग्गा दलाल रामनाथ शर्मा हुन् ।’

ललिता निवास जग्गा अनियमितता छानविन प्रतिवेदन अनुसार, २०४९ कात्तिक २५ र पुस २३ गते गरी दुई पटकको निर्णयबाट ११२ रोपनी ४ आना जग्गा सुवर्णसम्सेरका हकदारहरुका नाममा दर्ता हुने निर्णय भएको थियो ।

ललिता निवासको जग्गा राणा परिवारको नाममा दुईपटक नै फिर्ता दिने निर्णय हुँदा कलाधर देउवा डिल्लीबजार मालपोत कार्यालयको प्रमुख मालपोत अधिकृत थिए । पछि राणा परिवारले इन्द्रबहादुर थापा क्षेत्रीको नाममा दुई रोपनी जग्गा बकस दिएको खुल्यो । अख्तियारले गरेको अनुसन्धानका क्रममा उनी कलाधरको साढुभाइ नाता पर्ने खुलेको थियो । इन्द्रबहादुरले बयानमा भनेका थिए, ‘मेरो साढुदाई कलाधर देउजा मालपोत कार्यालयमा अधिकृत पदमा हुँदा वहाँले बालुवाटारमा एउटा जग्गा छ तपाईले आफ्नो नाममा राखिदिनुहोस् भनी अनुरोध गर्नुभएकाले सहयोगसम्म गरेको हुँ । पछि बिक्री गरिसकेको छु ।’

अर्का मालपोत अधिकृत सुरेन्द्रमान कपालीले पनि भतिजी बुहारी शान्ति मल्ल प्रधानांगको नाममा दुई रोपनी आठ आना जग्गा बकस गरेको भेटिएको थियो । ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउने अर्का योजनाकार धर्मप्रसाद गौतम रहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा पुगेको कागजातबाट देखिन्छ ।

गौतम भूमिसुधार तथा मालपोत विभागमा शाखा अधिकृत हुँदा नीतिगत निर्णयबाट राणा परिवारका नाममा जग्गा फिर्ता हुने भनी निर्णय गरेका थिए । उनले सालाका छोरा नाता पर्ने मोहनप्रसाद भट्टराईको नाममा दुई टुक्रा जग्गा लिएको भेटिएको थियो । तीमध्ये उउटा एक रोपनी १४ आनाको थियो भने अर्को एक रोपनी ३ आनाको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?