+
+

जसपालाई फकाउन संसदीय दलको बैठकमै पुगेका थिए प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते १९:५१

१३ असार, काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पास गर्‍यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मत विभाजन मागेपछि भएको मतदानमा बजेटको पक्षमा १४७ मत खसेको छ ।

प्रतिनिधिसभाका कुल २७५ सदस्य (दुई निलम्बितसहित) मध्ये २५५ मतदानमा सहभागी भएका थिए । उनीहरुमध्ये १०८ जनाले विपक्षमा मत दिएका छन् ।

बजेट पास गर्न चाहिने बहुमत जुटाउन भने प्रधानमन्त्री प्रचण्डले निकै मिहिनेत गर्नुपर्‍यो । बजेटलाई लिएर सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीका सांसदहरु असन्तुष्ट थिए ।

कांग्रेस र माओवादीले सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दा पनि सत्ता गठबन्धनकै अरु दलले निर्णय गरेका थिएनन् ।

बुधबार विहान एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गर्‍यो । सिंगापुर भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएलगत्तै शुक्रबार प्रचण्ड, देउवा र माधवकुमार नेपालबीच छलफल भएको थियो । त्यो छलफलमा प्रधानमन्त्री प्रचण्डले बजेट संशोधन नगरी मिलाउन सकिनेसम्म मिलाउने र बजेट सन्तुलित बनाउने वचन दिएका थिए ।

जसपाले भने बुधबार मध्यान्ह संसद बैठकस्थल नजिकै संसदीय दलको बैठक राखेको थियो ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् कार्यालयको बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिइरहँदा जसपा सांसदहरुले भने बजेट सन्तुलित नभएको भन्दै संसदीय दलमा विरोध गरिरहेका थिए । एक सांसदका अनुसार जसपा नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई संसदीय दलको बैठकस्थलमै आउन आग्रह गरे ।

संसदमा सम्बोधन सकिएपछि प्रचण्ड जसपा संसदीय दलको बैठक बसिरहेको संघीय संसद भवनकै शंकर हलमा पुगे । उनले अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवका साथै सबै सांसदहरुसँग एक एक गरी सम्वाद गरे । ‘बजेट सन्तुलित भएन, बजेटमा मधेशको अपमान भयो भन्ने धेरै माननीयको विरोध थियो’, एक सांसद भन्छन्, ‘प्रधानमन्त्रीले सम्बोधन गर्छु, मलाई विश्वास गर्नुस् भन्नुभयो ।’

त्यसपछि जसपाले ह्वीप जारी गर्‍यो । संसदीय दलका प्रमुख सचेतक प्रदीय यादवले जारी गरेको ह्वीपको सूचनामा बजेट पास गर्ने सर्वसम्मत निर्णय भएको उल्लेख गरिएको छ र जसपाका सबै १२ जना सांसदले हस्ताक्षरसमेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका नेताहरुसँग पनि सम्वाद गरेका थिए । तर उसले मत दिएन । तर सरकारमा भएका ५ दल कांग्रेस, माओवादी, जसपा, जनमत, लोकतान्त्रिक समाजवादीका साथै राष्ट्रिय जनमोर्चाले मत दिने भएपछि बहुमत (१३८) सहजै कट्ने भयो र प्रतिनिधिसभाबाट आगामी आर्थिक बर्षको बजेट पास भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?