+
+

मोदीलाई तेस्रोपल्ट प्रधानमन्त्री बनाउन भाजपाका पाँच रणनीति

२०२४ को चुनावलाई भव्य बनाउन भाजपाले मन्त्रिपरिषद हेरफेरसँगै केही रणनीतिक काम थालेको छ, जसले मोदीलाई नेहरुपछि तेस्रोपल्ट प्रधानमन्त्री बन्ने दोस्रो नेताका रुपमा ल्याउने उसको अपेक्षा छ ।

एजेन्सी एजेन्सी
२०८० असार १५ गते ११:३२

तीन साताअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शासनको नवौं वर्षगाँठ मनाउन व्यस्त थिए भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्ता । अहिले उच्च नेतृत्व तथा शुभेच्छुक संगठनका नेता चुनावी बहसमा केन्द्रित छन् । लोकसभा चुनावमा ५० प्रतिशत मत सुरक्षित गर्ने तयारीमा भाजपा छ ।

सन् १९५७ मा भएको लोकसभा निर्वाचनमा जवाहरलाल नेहरू नेतृत्वको कंग्रेसले बाहेक कुनै पनि गठबन्धनले यो प्रतिशत कटाउन सकेका छैनन् । त्यस बेला कंग्रेसले ४७.८ प्रतिशत मत ल्याएको थियो ।

सन् २०१९ मा अति लोकप्रिय रहँदा पनि भाजपाले ३७.३६ प्रतिशत मत ल्याएको थियो भने नेशनल डेमोक्रेटिक एलायन्स (एनडीए) मा आवद्ध दलको मत जोड्दा ४५ प्रतिशत मत थियो ।

विगत चार वर्षयता हेर्ने हो भने एनडीएका प्रमुख तीन घटकले गठबन्धन छोडेका छन् । शिरोमणि अकाली दल, जनता दल युनाइटेड र शिव सेना त्यस घटकमा छैनन् । शिव सेना विभाजित भएर बनेको नयाँ शिव सेनाले चुनाव नै सामना गर्न बाँकी छ ।

भाजपाले यसपटक फेरि सत्ताको म्यान्डेट पाएमा मोदी लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्ने भारतका दोस्रो प्रधानमन्त्री हुनेछन् । भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरु लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बनेका थिए ।

मोदीको तेस्रो कार्यकाल सुरक्षितका लागि सत्ताविरोधी स्वर कम गर्नुपर्ने महसुस भाजपाले गरेको छ । त्यसलै उसले १६० निर्वाचन क्षेत्रमा विशेष प्राथमिकतामा राख्दै त्यहाँ अतिरिक्त ध्यान केन्द्रित गरेको छ ।

कर्नाटक र हिमाञ्चल प्रदेशको परिणामपछि भाजपाले आफ्नो सञ्चार शैली सच्याउनुपर्ने आवश्यकता महसुस गरेको छ । त्यसैले भाजपाले अहिले विगतमा टिकट नपाएका काबिल तर असन्तुष्ट कार्यकर्तालाई फकाइरहेको छ ।

सन् २०२४ को चुनावमा सफलता हात पार्न भाजपाले ५ रणनीति अघि सारेको छ । पहिलो, एनडीएको पुनर्गठन । दोस्रो, संगठनको व्यवस्थापन । तेस्रो, क्याबिनेट पुनर्गठन । चौथो, नयाँ उम्मेदवार खोजी र पाँचौं जनताबाट प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने नीति ।

एनडीएको पुनर्गठन

गत जुन ४ मा आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले भाजपाका नेता तथा संघीय गृहमन्त्री अमित शाहलाई भेटेका थिए । उनले गठबन्धनबारे छलफल गरेको बुझिएको छ । मुख्यमन्त्री नायडुको दल तेलगु देसाम पार्टीले सन् २०१८ मा एनडीए छोडेको थियो । आन्ध्र प्रदेशमा आम चुनावसँगै विधानसभा चुनाव पनि हुन बाँकी छ ।

यस्तै, भाजपाले शिरोमणि अकाली दलसँग पनि गठबन्धन पुनर्गठन गर्न छलफल चलाइरहेको छ । टीडीपी केन्द्रीय सरकारले आफूलाई समर्थन गरिरहेको देखाउन चाहेको छ भने शिरोमणी अकाली दलले पञ्जाबमा हिन्दु मत बटुल्न चाहेको छ ।

सन् २०१४ मा एनडीएले आन्ध्र प्रदेशमा लोकसभाको २५ सिटमध्ये १७ मा जीत निकालेको थियो । तीमध्ये २ सांसद भाजपाका थिए  । सन् २०१९ मा भने त्यहाँ टिडीपी र भाजपाका उम्मेदवारको जमानत नै जफत भयो । पञ्जाबमा सन् २०१४ र २०१९ को चुनावमा एनडीएलाई निकै गाह्रो परेको थियो । पञ्जाबमा भाजपाले सधैँ असन्तुलन सहितको गठबन्धन रहेको बताउँदै आएको छ भने अकालीको नेतृत्वले भाजपाको सम्मान नगरेको आरोप लगाउँदै आएको छ । गत लोकसभाको उपनिर्वाचनमा भाजपाले १५ प्रतिशतमात्रै मत बढायो । भाजपालाई पञ्जाबमा ग्रामीण क्षेत्रका मतदाता आकर्षित गर्नुपर्ने आवश्यकता छ । यसपटक पनि उसले अकालीसँग गठबन्धन गर्नसक्छ ।

यता बिहार महाराष्ट्रमा पनि भाजपालाई जनता दल र उद्धव ठाकरे नेतृत्वको शिव सेनासँगको दुरी घटाउनुपर्ने अवस्था छ । भाजपाले, महाराष्ट्रमा उद्धव ठाकरे नेतृत्वको शिव सेनाले सहानुभूतिको मत पाउने आकलन गरेको छ । यसले भाजपा र एकनाथ सिन्डे नेतृत्वको शिव सेनालाई कठिन चुनौती दिने उसको आकलन छ ।

यता बिहारमा पनि निकै जटिल परिस्थिति रहेको भाजपाको अध्ययन छ । त्यहाँ परम्परागत दलले भाजपाविरूद्ध महागठबन्धन गरेका छन् । भाजपाले चिराग पासवानलाई एनडीएमा ल्याउन पहल गरिरहेको छ । भाजपाले त्यहाँका विभिन्न दललाई एनडीएमा ल्याउने कसरत स्वरूप विकासशील इन्सान पार्टी, हिन्दुस्तानी आम मोर्चा लगायतसँग दलित समुदायको मत तान्न छलफल गरिरहेको छ ।

संगठन व्यवस्थापन

भाजपाले जेपी नड्डाको नेतृत्वमा रहेको संगठनलाई व्यवस्थित बनाउन खोजेको छ । गत जनवरीमा भाजपाले उनको कार्यकाल अर्को वर्षसम्म थप गरेको थियो । भाजपाले चार महासचिव र ६ सचिव हटाएर त्यसलाई अन्य एकाइमा समायोजन गर्न खोजेको छ ।

भाजपाको विधानले पदाधिकारीको संख्या तोके पनि भाजपाले पार्टीमा महासचिवको संख्या ६ सम्म पुर्यायो । पदाधिकारी नथोपर्ने बरू अन्यत्रको जिम्मेवारी दिएर खटाउने योजनामा भाजपा पुगेको छ ।

क्याबिनेट पुनर्गठन

मोदीले संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । हाल मन्त्रिपरिषदमा रहेका केही मन्त्रीलाई हटाएर मोदीले संगठनात्मक काममा खटाउने भएका छन् । वातावरण मन्त्री भुपेन्द्र  यादवलाई हटाएर उनले चुनाव केन्द्रित संगठन विस्तारमा खटाउने भएका छन् ।

अनुभवको आधारमा अन्यत्र जिम्मेवारी दिन र  स्थानीय राजनीतिको जोड घटाउ गरेर नयाँ पुस्तालाई अवसर दिनका लागि मोदीले मन्त्रिपरिषद् पुनर्गठन लागेका हुन् ।

मोदीको क्याबिनेट ७० वर्ष पुगेका मन्त्रीमा रक्षामन्त्री राजनाथ सिंह, पेट्रोलियम मन्त्री हरदिप पुरी, ऊर्जा मन्त्री आरके सिंह लगायत छन् । यिनीहरूलाई पनि अन्यत्र जिम्मेवारी दिने मोदीको तयारी छ ।

नयाँ उम्मेदवारको खोजी 

विधानसभाका केही चुनाव हेर्दा भाजपाले नयाँ अनुहार खोजेको थियो । त्यो रणनीति भाजपाका लागि धेरै हदसम्म काम लागेको थियो । भाजपाका रणनीतिकारहरूले हाल सांसद रहेकाहरूको कार्यप्रगति नियालिरहेका छन् । त्यसका आधारमा नयाँ कति, पुराना कति उम्मेदवार उठाउने भन्ने कुरा तय हुने बताइएको छ ।

प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री 

भाजपाले आगामी चुनावबाट आफ्नो नेतृत्वमा सरकार बनेमा प्रत्यक्ष निर्वाचितलाई मात्रै मन्त्री बनाउने तयारी गरेको छ । जनताबाट प्रत्यक्ष निर्वाचितले मात्रै जनता केन्द्रित निर्णय लिनसक्ने भएकाले यस्तो नीति लिन लागेको अमित शाहको भनाइ छ ।

अमित स्वयंले पनि सन् २०१९ मा राज्यसभा छोडेर गान्धिनगरबाट लोकसभामा चुनाव लडेका थिए । त्यसपछि उनले पार्टी र सरकार दुबैमा आफ्नो बलियो पकड बनाए । यसपटक राज्यसभामा रहेर मन्त्री बनेकाहरूलाई लोक सभामा भिड्न भाजपाले सन्देश दिएको छ ।

पार्टी अध्यक्ष नड्डा सहित क्याबिनेटमा रहेका १२ मन्त्रीलाई लोकसभामा भिड्ने तयारी गर्न भाजपाले भनेको छ । राज्यसभाबाट मन्त्री भएकाहरूमध्ये पियुष गोयल, निर्मला सिथारमन, अश्विनी वैष्णव, एश जयंशकर  र भुपेन्द्र यादवले हालसम्म कुनै पनि चुनावको सामना गरेका छैनन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?