+
+

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश प्रस्थान

अशोक घिमिरे/रासस अशोक घिमिरे/रासस
२०८० असार १७ गते ८:०२

१७ असार, छेन्दु (चीन) । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी आज श्रेष्ठ स्वदेश प्रस्थान गरेका छन् ।

उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता गरे । भेटवार्ताका क्रममा उनीहरूबीच दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचार-विमर्श भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल-चीन सीमानाकामा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेपाल सरकारले लगानी प्रणालीमा उल्लेख्य सुधार गरी विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन एवं संरक्षण गर्ने नीति लिएको जनाउँदै नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

भ्रमणका दौरान उनले सिचुवान विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपाल-चीन सम्बन्धका बारेमा सम्बोधन मन्तव्य दिएका थिए । उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान प्रान्तीय लगानी समूहसँग छलफल गरी नेपालमा लगानी वृद्धि गर्न आग्रह गरेका थिए ।

यस्तै सिचुवान एयरलाइन्सका पदाधिकारीसँगको छलफलमा उद्लेद छेन्दु-काठमाडौँ रुटमा हवाई उडान वृद्धि गर्न तथा छेन्दुबाट पोखरा र भैरहवा विमानस्थलमा उडान सुरु गर्न आग्रह गरे ।

छेन्दुमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिधिमण्डलले सन् २००८ को भूकम्पबाट ठूलो क्षति व्यहोरेको सिचुवान प्रान्तको वान चोन काउन्टीको पुनःनिर्माण तथा भूकम्पीय सङ्ग्रहालयको अवलोकन गरेको थियो । नेपाली प्रतिनिधिमण्डलले जिपिङ जलविद्युत् केन्द्र तथा दुजियाङ सिँचाइ प्रणालीको अवलोकन गरेको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार साँझ छेन्दुस्थित महावाणिज्यदूतावासमा आयोजित स्वागत समारोहमा सहभागी ऐउ । उनी सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार चीन आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?