+
+

फ्रान्समा रोकिएन हिंसा, पेरिसबाहिर पनि प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १३:१२
Photo Credit : Reuters

१७ असार, काठमाडौं । प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि फ्रान्समा जारी हिंसात्मक प्रदर्शन थप चर्किएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले पेरिसवासीलाई घर बाहिर निस्किन बन्देज लगाइरहेको बेला फ्रान्सको दक्षिणी शहर मार्सेलीमा पनि हिंसा फैलिएको छ ।

त्यहाँ शनिबारदेखि नै हिंसा जारी छ । त्यहाँको भिडियो फुटेजमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको र मानिसहरुबीच भागदौड मच्चिएको देखिन्छ । हिंसा फैलाएको आरोपमा त्यहाँ हालसम्म ५६ जना पक्राउ परिसकेका छन् ।

स्थानीय मिडियाहरूका अनुसार प्रहरी र प्रदर्शनकारीले एकअर्कामाथि आक्रमण जारी राखेका छन् । सामाजिक सन्जालमार्फत् आह्वान गर्दै मानिसहरु एकजुट भएर प्रदर्शन गरिरहँदा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ ।

पेरिसका मेयरको घरमा आगजनी प्रयास

आन्दोलनकारीहरु झनै उग्र बन्दै गएको देखिन्छ । समाचार संस्था एएफपीका अनुसार दंगाको पाँचौं दिन प्रदर्शनकारीले पेरिसका मेयरको घरमा पसेर कारमा आगजनी गरेका छन् । प्रदर्शनकारीको हमलामा परी मेयरका श्रीमती र एक बच्चा घाइते भएका छन् । मेयर भिन्सेन्ट जीनब्रुनले ट्वीट गरेर परिवार सुतिरहेको बेला प्रदर्शनकारीले घरमा आगजनीको प्रयास गरेको बताएका छन् ।

फ्रान्सका विभिन्न सडकमा अहिले करिब ४५ हजार प्रहरी स्थिति नियन्त्रणका लागि परिचालित छन् । गृह मन्त्रालयले हिंसाको आरोपमा पछिल्लो पटक ४८६ जना पक्राउ परेको जनाएको छ । गत शुक्रबार १३ सय र बिहीबार ९०० आन्दोलनकारी पक्राउ परेका थिए ।

सामाजिक सञ्जालमा आन्दोलनकारीप्रति ऐक्यबद्धताको आह्वान गरेपछि ठूलो संख्यामा मानिसहरु सडकमा निस्किएका छन् र यसले प्रहरीमाथि चुनौती थपिएको छ । हिंसा र आगजनीका कारण लगातार दोस्रो दिन पनि राति ९ बजेपछि पेरिसमा बस र ट्राम चलेका छैनन् ।

प्रदर्शनकारीले सहरका धेरै ठाउँमा आगजनी गरेका छन् । विशेष प्रहरी बलले उत्तरी सहरमा फ्ल्याग मार्च गरेको देखिएको छ । धेरै ठाउँमा दमकलले आगो निभाएको देखिएको छ ।

यसैबीच, प्रहरीको गोली लागेर मारिएका किशोर नाहेल एमको अन्तिम संस्कारमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका बीबीसीले लेखेको छ । ट्राफिक स्टपमा नरोकेको भन्दै प्रहरीले नाहेललाई नजिकैबाट गोली हानेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?