 
																			१७ असार, काठमाडौं । शनिबार साँझ स्याङ्जाका छविलाल भण्डारीले नेपाल फर्कंदा वैदेशिक रोजगारीबाट ल्याएको मोबाइलमा धेरै कर लिएको आरोप लगाउँदै फेसबुकमा स्ट्याटस लेखे ।
कोरिया बसेर दुई चार पैसा कमाएर फर्किएको युवाले बोकेको २ वटा फोनमा ४४ हजार १६९ रुपैयाँ कर लिएको भन्दै उनले सरकार र भन्सार प्रशासनलाई गाली गरेका थिए । भण्डारीको उक्त पोष्ट सामाजिक सञ्जालमा भाइरल भयो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवासँग सरकारले गैरकानुनी रुपमा कर लिएको भन्दै सरकार र भन्सार प्रशासनलाई गाली गरिएको पोष्टमा उनका सर्मथक र शुभेच्छुकले पनि गाली गरेका छन् ।
सामाजिक सञ्जालमा निकै आलोचना भएपछि घटनाबारे प्रष्ट्याउँदै त्रिभुवन विमानस्थल भन्सार कार्यालयले आफ्नोबारे गलत प्रचारबाजी भएको दाबी गरेको छ ।
भन्सार कार्यालयकाअनुसार कोरियाबाट फर्किएका युवाले ४ वटा फोन बोकेका थिए । जसमध्ये सरकारले दिएका सुविधामा २ वटा फोन भन्सार छुट सुविधामा भण्डारीले पाएको र २ वटा फोनमा कानुन बमोजिम भन्सार लागेको कार्यालयको दाबी छ ।
कार्यालयका सूचना अधिकारी अम्बिका प्रसाद खनालकाअनुसार फोनका कर तिरेका यात्रु भण्डारीले बोकेको २ वटा फोनको शनिबारको भन्सार मूल्याङ्कन २ लाख ३६ हजार ८३६ रुपैयाँ हो । जसमा १३ प्रतिशत भ्याट र ८ प्रतिशत भन्सार महसुल लगाउँदा कुल भन्सार विन्दुमा तिर्ने महसुल ४४ हजार १६९ रुपैयाँ भएको हो ।
‘उहाँले वैदेशिक रोजगारीका यात्रुले पाउने सुविधा पाइसक्नु भएको हो, सुविधाबाहेका बोकेको फोनमा कानुनसम्मत कर लागेको हो,’ खनालले भने, ‘यात्रुले ल्याउन पाउने सुविधाको फोनमा कर लाग्दै लाग्दैन ।’
उनका अनुसार वैदेशिक रोजगारीमा गएका यात्रुले नेपाल फर्किंदा २ वटा (नयाँ होस् वा पुरानो) मात्र फोन ल्याउँदा कुनै शुल्क लाग्दैन । तर, दुई भन्दा बढी फोन ल्याए कानुनअनुसार १३ प्रतिशत भ्याट र ५ प्रतिशत भन्सार महसुल लाग्छ वा जफत हुन्छ ।
 विमानस्थल भन्सारकाअनुसार स्याङ्जाका यात्रु भण्डारीले ल्याएको मध्ये एउटा फोन आइफोन १४ र अर्को आइफोन १२ हो । यस्तै उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नफोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएका थिए ।
विमानस्थल भन्सारकाअनुसार स्याङ्जाका यात्रु भण्डारीले ल्याएको मध्ये एउटा फोन आइफोन १४ र अर्को आइफोन १२ हो । यस्तै उनले सहुलियतमा एउटा सामसङको नयाँ सिल नफोडिएको र अर्को एक पुरानो मोडलको आइफोन ल्याएका थिए ।
जसमध्ये भन्सारले आइफोन १४ को १ लाख ८० हजार र अर्को आइफोन १२ को मूल्य ५६ हजार ८२६ रुपैयाँ मूल्याङ्कन गरेको हो । जसको कुल मूल्याङ्कन रकम २ लाख ३६ हजार ८२६ रुपैयाँमा ५ प्रतिशत भन्सार महसुल बापत ११ हजार ८४२ रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट १३ प्रतिशत) बापत ३२ हजार ३२७ रुपैयाँ गरी ४४ हजार १६९ रुपैयाँ कर लागेको हो भने ५ सय ६५ रुपैयाँ सेवा शुल्क लागेको हो । यो सबै कर कानुन बमोजिम भएका भन्सार कार्यालयले जनाएको छ ।
प्रक्रिया र विधि मिचेर आयात गरिएको फोनमा लागेको भन्सारलाई लिएर कार्यालयको चरित्र हत्या गरिएको भन्दै भन्सार कार्यालयले घटनाबारे थप प्रष्ट्याउने पनि जनाएको छ ।
अनलाइनखबरको सम्पर्कमा आएका भण्डारीले भने करको विषयले भन्दा पनि आफूलाई विमानस्थलमा गरेको व्यवहारका कारण आफू आक्रोशित भएको बताए ।
१५ असारको साँझ ५ः३० बजे कोरियन एयरबाट काठमाडौं ल्याण्ड भएको भन्सार जाँच पासमा नराम्रो व्यवहार गरिएको भण्डारीको दाबी छ ।
‘भन्सार जाँच पासका लागि मेरो लगेज खोलियो, तर घर पुगेपछि मेरो खोलिएको लगेजमा सामान कम भएको पाएँ । १६ गते बिहान समान हरायो भनेर खोज्न जाँदा कर्मचारीले झर्की र फर्की गरे,’ उनले भने, ‘मोबाइलमा कर भन्दा पनि सामान हराउँदा खोजिदिनुस् भन्दा भएको दुर्व्यहारले मलाई नराम्रो लाग्यो । ’
भण्डारीले आफ्नो हराएको सामान आइतबार बिहान मात्रै फेला परेको बताए । ‘भन्सारले लगेज खोल्दा साथीको लगेजमा मेरो सामान पुगेको रहेछ । साथीले फोन गरेपछि मात्रै मैले आफ्नो सामानबारे थाहा पाएँ’ उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4