+
+
कोशीमा सत्ता समीकरण :

कांग्रेस–माओवादीको प्रस्ताव पर्खिरहेका छौं : भक्ति सिटौला

हरि अधिकारी हरि अधिकारी
२०८० असार १७ गते १५:१६

१७ असार, विराटनगर । कोशीमा एमाले नेतृत्वको सरकार विघटन भएपछि राजनीतिक दलहरु अर्को सरकार गठनको गृहकार्यमा छन् ।

शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत पुर्‍याउन नसकेपछि पदमुक्त भए पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरिसकेका छैनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका दलहरु नयाँ सरकार गठनको गृहकार्यमा छन् । सरकार गठनका लागि निर्णायक मानिएको राप्रपा भने सहयोग माग्न दलहरुले कस्तो प्रस्ताव लिएर आउँछन् भनेर पर्खिरहेको छ ।

संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सहकार्यका लागि प्रस्ताव पर्खिरहेको बताउँछन् । यसै सन्दर्भमा सिटौलासँग अनलाइनखबरका हरि अधिकारीले गरेको कुराकानी :

कोशीमा नयाँ सरकार गठनको गृहकार्य भइरहेको छ, सरकार गठनका लागि राप्रपाको मत निर्णायक छ, सरकार गठनको तयारीमा रहेको नेपाली कांग्रेस, माओवादीसहितको गठबन्धनले तपाईहरुसँग के कुरा गरेको छ ?

अहिलेसम्म गठबन्धनका साथीहरुसँग सरकार गठनका विषयमा औपचारिक सम्वाद भएको छैन । प्रदेश प्रमुखबाट सरकार गठनको प्रक्रिया सुरु नभएकाले पनि होला ।

अनौपचारिक सम्वाद त भइरहेको होला नि ?

व्यक्तिगत सम्बन्धका कुराहरु भइरहेका छन् । यो राजनीतिक विषयमा त्यस्तो (सहकार्य) खालको कुराकानी भएको छैन ।

तपाईहरु सहभागी सरकार ढलिसकेपछि राप्रपाको पोजिसन के हुन्छ ?

साथीहरुको औपचारिक प्रस्ताव आएपछि के गर्ने भन्ने कुरा तय गर्छाैं । के कसरी प्रस्ताव आउछ, कस्तो कुरा गर्छन । उनीहरुको कुरा सुनिसकेपछि हाम्रा आदर्श, सिद्धान्त र एजेण्डालाई ख्याल राखेर उनीहरुसँग कुरा गर्नुपर्छ ।

प्रदेशमा राप्रपा निर्णायक शक्ति हो, त्यसैले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने तपाईहरुको दाबी छ भन्ने सुनिन्छ नि ?

त्यस्तो विषयमा उहाँहरुसँग छलफल भएको छैन । आलोपालोको कुरा भएको छैन ।

आलोपालोको प्रस्ताव आए के गर्नुहुन्छ ?

हामी यो सत्ता शिकारीले बिलो (सिकारको मासु भाग लगाउनु) बाँडे जस्तो आलोपालो गरेर बाँड्नु हुँदैन भन्ने मान्यता राख्छौं ।

राजनीतिक स्थिरतामा जोड दिन्छौं । अस्थिरताका कारणबाट तमाम कुराहरु बिग्रिएका छन् । विकास, समृद्धिका कुरा बिग्रिएका छन् । अहिले आलोपालोमा त्यति धेरै चाख राख्दैनौं ।

कस्तो प्रस्ताव आए सहकार्य हुनसक्छ अब ?

गठबन्धनको प्रस्ताव कस्तो आउँछ, त्यहाँ के शर्त आउछन् हेर्छाैं । स्वीकार गर्न सक्ने शर्तहरु भए भने ठीकै छ । स्वीकार गर्न नसक्ने भए प्रतिपक्षमा बस्न पनि सकिहाल्छौं । हामीलाई सत्तामा त्यति साह्रो लोलुपता छैन ।

हाम्रो एजेण्डा, दर्शन र आदर्शलाई कसरी सम्बोधन हुन्छ, राजनीतिक स्थिरता कसरी हुन्छ । त्यो कुरामा चिन्तन हुनुपर्छ । समृद्धि खडा गर्न राजनीतिक स्थायित्व प्रमुख हो । स्थिरतालाई हामी जोड दिन्छौं ।

तपाईहरुको मुद्दा प्रदेश खारेज नै हुनुपर्छ भन्ने छ, मुद्दामा त गठबन्धनसँग कुरा मिल्दैन होला नि ?

हाम्रो एजेण्डा प्रदेश खारेजी मात्रै होइन, संवैधानिक राजतन्त्र पनि हो, सनातन हिन्दु राष्ट्र पनि हो । यी एजेण्डामा एकै पटक साथ दिनुहुन्छ भनेर शर्त तेर्स्याउने पनि होइन ।

हाम्रो मुद्दाका लागि हामी नै तयारी गरिरहेका छौं । यसको म्याचुरिटी पर्खिरहेका छौं । म्याचुअर्ड (परिपक्व) भएपछि परिवर्तन आउँछ भनेर हाम्रा साथीहरु हिँडिरहनुभएको छ ।

अहिलेलाई संविधान खारेज नहुँदासम्म, परिवर्तन नभएसम्म यही बहुमतले बनाएको संविधानलाई पालना गरेर नागरिक कर्तब्यको निर्वाह गरेर विकासमा, राजनीतिक रुपमा जनतासँग जोडिन निर्वाचनमा भाग लिएका हौं । अब कहाँ कुन प्रस्ताव उपयुक्त लाग्छ त्यतै लाग्छौं हामी ।

तपाईंहरु प्रतिपक्षमा बस्दा त सरकार गठन गर्न कठिन छ, मध्यावधि निर्वाचनको सम्भावना देखिन्छ नि ?

प्रतिपक्षमा बस्नु पर्ने परिस्थिति बन्यो भने त बस्नुपर्‍यो नि । प्रतिपक्ष पनि एउटा जिम्मेवार कुरा हो ।

प्रतिपक्षमा बस्न तयार हुनुको अर्थ राप्रपा पनि मध्यवधिमा जान तयार भयो भनेर बुझ्दा हुन्छ ?

मध्यवधिमा जान राप्रपा सबैभन्दा बढी तयार छ नि । राप्रपाले गेन (उपलब्धी हासिल) नै गर्छ जुन किसिमले संगठनको विस्तार भइरहेको छ । पार्टीमा बढोत्तरी भएको छ । यी कुराले राप्रपालाई मध्यवधिमा जान राम्रो हो नि । तर मध्यवधिमा जानका लागि जनता तयार छैनन्, त्यो हामीले बुझेका छौं । मध्यवधिमा गइहाल्ने उपयुक्त समय छैन । राजनीतिक अस्थिरतालाई कसरी अन्त्य गर्ने भन्ने कुरा सोच्नुपर्छ ।

राप्रपाले एमालेसँग रहने कि कांग्रेस–माओवादीसहितको गठबन्धनमा जाने भन्ने निर्णय नगर्दा अन्योल देखियो नि ?

त्यस्तो होइन । हामी कसका मुद्दा के छ त्यो हेर्छाैं, राजनीतिक एजेण्डा हेर्छाैं । समृद्धिका एजेण्डा पनि हेर्छाैं । एमाले भन्दा हामी पृथक पार्टी हो । हामी कांग्रेस र माओवादीलाई समर्थन गर्दैनौं भन्ने होइन । उहाँहरुका प्रस्ताव हेर्छाैं । राजनीतिक रुपमा कसैसँग आग्रह पूर्वाग्रह छैन, सहकार्य गर्न सक्छौं ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?