+
+

सुरुङ ‘ब्रेक थ्रु’ पछि पनि सुनकोशी–मरिणको प्रगति ३० प्रतिशत मात्र

आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत र चालु आव हालसम्मको भौतिक प्रगति १२५.७५, समग्र वित्तीय प्रगति २७.७३ र चालु आवको वित्तीय प्रगति ९२.१५ प्रतिशत पुगेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ वैशाख २६ गते १९:२२
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको माथिल्लो स्टेशन । सिन्धुली र रामेछाप सीमानामा रहेको सुनकोसी नदीको पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङ खनिएको हो। तस्वीर : शंकर गिरी/अनलाइनखबर

२६ वैशाख, काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ बुधबार ‘ब्रेक थ्रु’ (छिचोलिएको) छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् । सिन्धुली र रामेछाप सीमानामा रहेको सुनकोसी नदीको पानीलाई बाँध बाँधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा खसालेर बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याइने छ ।

त्यसपछि धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित अगाडि बढेको आयोजनाको सुरुङ ब्रेक थ्रुपछि पनि समग्र भौतिक प्रगति भने २९.९३ प्रतिशतमात्र छ ।

आयोजना निर्देशक मित्र बरालका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा आयोजनाको लक्ष्यअनुसार भने भौतिक र वित्तीय प्रगति राम्रो देखिएको छ ।

आयोजनाको समष्टिगत भौतिक प्रगति ३० प्रतिशत र चालु आव हालसम्मको भौतिक प्रगति १२५.७५ प्रतिशत छ । आयोजनाको समग्र वित्तीय प्रगति २७.७३ प्रतिशत र चालु आवको वित्तीय प्रगति ९२.१५ प्रतिशत पुगेको छ ।

२०७६/७७ मा सुरु भएको आयोजना २०८५/८६ मा सक्ने लक्ष्य छ । सुरुङ ब्रेक थ्रु गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।

आयोजना ४९ अर्ब ४२ करोड ३१ लाख लागतमा निर्माण हुँदैछ । यो आयोजनाबाट सिँचाइसहित मरिण नदीमा पानी पथान्तरण गरी प्राप्त हुने ६६.२९ मिटरको ‘ग्रस हेड’ उपयोग गरी ३१.०७ मेगावाट जलविद्युत् उत्पादन लक्ष्यसमेत लिइएको छ ।

यो आयोजनाले मधेश प्रदेशका पाँच उर्वर भूमि रहेका जिल्लामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याइ कृषि उत्पादकत्व बढाउने र जलविद्युत् उत्पादनबाट समग्र अर्थतन्त्रमा टेवा पुग्ने जनाइएको छ ।

तर, जुन गतिमा सुरुङ खन्ने काम सम्पन्न भयो, सोही गतिमा अन्य काम अगाडि नबढ्दा भने तोकिएको समयमा समग्र आयोजना सम्पन्न हुनेमा भने अझै शंका छ ।

कुन–कुन संरचना निर्माण हुँदैछन् ?

आयोजना अन्तर्गत सिन्धुली खुर्कोटदेखि दुई किलोमिटर माथि (सुनकोसी र तामाकोसी दोभानभन्दा करिब ९ सय मिटर तल) सुनकोसी नदीमा हेडवर्क्स  (ब्यारेज) निर्माण हुनेछ ।

विद्युत् गृह, सर्ज साफ्ट, स्विचयार्ड भने सिन्धुली कमलामाई नगरपालिका–२ कुसुमटारमा रहने गरी डिजाइन गरिएको छ, जुन मरिण नदी किनारमा पर्छ ।

सुनकोसी नदीबाट ६७ घनमिटर प्रतिसेकेन्ड पानी मरिण नदीमा खसाली धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ सुविधा पुर्‍याइने छ ।

सुनकोसी नदीमा हेडवर्क्स सहित इन्टेक, सेट्लिङ बेसिन, पावर कल्भर्ट तथा अन्य आवश्यक संरचना निर्माण गरिने छ । यो आयोजनाका कारण लोकमार्ग समेत डुबानमा पर्ने भएपछि त्यसलाई स्थानान्तरण समेत आयोजनासँगै अगाडि बढाउनुपर्ने भएको छ ।

पटक–पटकको समस्याबीच टीबीएमको सफल प्रयोग

आयोजना अन्तर्गत पहिलो चरणको काम सुरुङ निर्माणको थियो । जसका लागि चाइना ओभर्सिस इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक) ले निर्माण जिम्मा पाएको थियो ।

२० फागुन २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना शिलान्यास गरेका थिए । त्यहाँ ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रयोग गरी सुरुङ खनिएको हो ।

कुल १३.३ किलोमिटर लामो सुरुङ खन्ने काम भने २८ असोज २०७९ बाट सुरु भएको थियो । खन्न सुरु गरेको दुई वर्षमा सक्ने लक्ष्य लिइए पनि सुरुङ पाँच महिना अगाडि नै खनिसकिएको हो ।

यसका लागि टीबीएम र आयोजनाले विश्वकीर्तिमान कायम गरेको निर्माण कम्पनीले दाबी गरेको छ । यद्दपि, यो आयोजनामा प्रयोग भएको टीबीएमलाई नै रोक्ने गरी जमिनभित्र आएको अवरोधले चार पटकसम्म काम रोकिएको थियो ।

आयोजनाका अनुसार प्रतिकुल भौगोलिक अवस्थाका कारण टीबीएम अगाडि बढ्न नसक्ने प्रकृतिको समस्याले पहिलो पटक ५ जनवरी २०२३ मा मेसिन रोकिएको थियो ।

त्यसबेला बाइपास सुरुङ निर्माण गरेर रासायनिक इजेक्सन गरी समस्या समाधान गरिएको थियो । दोस्रो पटक ३१ मार्च २०२३ मा समेत सोही समस्या देखिएको थियो । तर, समस्या समाधान गरी एक महिनापछि २६ अप्रिल २०२३ मा काम सुचारु भएको थियो ।

आयोजनाका अनुसार त्यसबेला समेत टीबीएमको कटर हेडको माथि तथा दाँयाबाँयाबाट समेत धुलो झर्ने समस्या देखिएको थियो ।

त्यसैगरी तेस्रो पटक अक्टोबर २०२३ मा टीबीएम अड्किएको थियो । १० अक्टोबर २०२३ मा मेसिन अड्किएपछि बाइपास सुरुङ बनाएर १३ दिनको प्रयासमा २३ अक्टोबरबाट मेसिन सुचारु गरिएको थियो ।

अन्तिम पटक रोकिएको समस्या समाधान गरी पुनः सुरुङ खन्ने कामलाई गति दिइएको थियो । आयोजनामा टीबीएमले एक महिनामा १ हजार ५०३.३ मिटर सुरुङ खनेर रेकर्ड राखेको छ ।

बुधबार भएको सफल ब्रेक थ्रुसँगै नेपालको दोस्रो आयोजनामा टीबीएमको सफल प्रयोग भएको छ । यसअघि भेरी–बबई डाइभर्सन परियोजनामा यसको सफल प्रयोग भइसकेको छ ।

दोस्रो चरणका कामको प्रगति के छ ?

आयोजना प्रमुख बरालका अनुसार दोस्रो चरणको कामअन्तर्गत बाँध, सर्ज साफ्ट, विद्युत् गृह र हाइड्रो मेकानिकल लगायत संरचना निर्माणको काम रहेको छ ।

यसका साथै खुर्कोटबाट करिब दुई किलोमिटर काठमाडौंतर्फ सुनकोसी नदीमा १ सय ५८ मिटर लम्बाइको बाँध निर्माण हुँदा बीपी राजमार्गको ९ सय ६५ मिटर सडक डुबानमा पर्ने छ ।

साथै, सडकको केही भागमा बाँधको संरचना इन्टेक, अप्रोच कल्भर्ट, सेट्लिङ बेसिन, हेडपन्ड जस्ता संरचनासमेत बन्ने भएका छन् । यसरी कुल २.९६ किलोमिटर सर्भिस रोड निर्माण काम जारी छ ।

हेडवक्र्स निर्माण गर्न निर्माण व्यवसायी पटेल–रमण जेभीसँग १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ । साथै, निर्माण कम्पनीबाट प्रारम्भिक तयारीका काम सुरु गरिसकेको आयोजनाले जनाएको छ ।

इलेक्ट्रोमेकानिकल निर्माण तथा जडान कार्यअन्तर्गत त्यसको लागत अनुमान तयारी कार्य भइरहेको आयोजनाको भनाइ छ । १३२ केभी ट्रान्समिसन लाइन निर्माण कार्यअन्तर्गत प्रारम्भिक वातावरणीय परीक्षणको काम जारी छ ।

मरिण नदी नियन्त्रण अन्तर्गत प्याकेज १ (दुई किलोमिटरसम्म) तटबन्ध निर्माण कार्यका लागि जय माा स्वर्गद्वारी–सिद्धकाली–कालिका भगवती जेभीसँग ७ करोड १३ लाख रुपैयाँमा सम्झौता भई निर्माण सुरु भएको छ ।

साथै, मरिण नदी नियन्त्रण कामअन्तर्गत प्याकेज २ को लागत अनुमान तयारीको काम भइरहेको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण अन्तर्गत सिन्धुलीतर्फको मूल्यांकन र वितरणको काम सकिएको छ ।

रामेछापतर्फ डुबानमा पर्ने जग्गा मूल्यांकन भई मुआब्जा वितरणको काम अन्तिम चरणमा पुगेको छ । वातावरणीय व्यवस्थापन योजना अन्तर्गत डुबान प्रभावित क्षेत्रमा दुइटा लिफ्ट सिँचाइ निर्माण सम्झौता सम्पन्न भई निर्माणको काम भइरहेको छ ।

यस आयोजनामार्फत सुनकोसी तावा (कमला) डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रारम्भिक अध्ययनको काम समेत अन्तिम चरणमा रहेको आयोजनाले उल्लेख गरेको छ।

साथै, सिन्धुली कुसुमटारमा रहेको मरिण नदीमा पानी खसाली ३१.०७ मेगावाट विद्युत् उत्पादनपछि ६७ घनमिटर पानी बागमती दोभानसम्म पुग्दा उपलब्ध हुने हेडबाट कास्केड गरी उत्पादन हुन जाने कास्केड पावर जेनेरेसनको पूर्व सम्भाव्यता अध्ययनको काम समेत भइरहेको आयोजनाको भनाइ छ ।

यस्तो छ प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री दाहालले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए । प्रधानमन्त्री दाहालले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरे ।

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

‘सुरुङमार्गको ब्रेक थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ, ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ,’ प्रधानमन्त्री दाहालले भने ।

ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न उनले निर्देशन दिए ।

देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न उनले अपिल गरे ।

यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधि उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको उनले बताए ।

प्रधानमन्त्री दाहालले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयात असन्तुलन कम गर्न मद्दत पुग्ने बताए ।

तस्वीरहरू : शंकर गिरी

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?