+

पछि हट्यो क्यान, मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

२०८० असार  १७ गते १९:०४ २०८० असार १७ गते १९:०४
पछि हट्यो क्यान, मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

१७ असार, काठमाडौं । स्थानीय सरकार र सर्वसाधारणबाटै चर्को विरोध भएपछि नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने निर्णय स्थगित गरेको छ ।

१५ असारमा बसेको क्यान बोर्ड (कार्यसमिति) बैठकले मूलपानी (माथिल्लो) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरी संघका संस्थापक जयकुमार नाथ शाह स्मृति अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गर्ने निर्णय गरेको थियो ।

क्यानको यो निर्णयप्रति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीसँगै स्थानीयबासिन्दाले चर्को विरोध जनाएका थिए । उनीहरु आफूहरुको पहिचान बनेको क्रिकेट रंगशालाको नाम फेर्नेबेला समन्वय नगरिएको भन्दै असन्तुष्ट थिए ।

आइतबार दिउँसो पनि स्थानीयबासिन्दाले रंगशालाको नाम परिवर्तनको निर्णयविरुद्ध मूलपानीमै रहेको क्यान केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

‘हामीसँग समन्वय नगरी हाम्रो अस्तित्वमै प्रश्न उठ्ने गरी निर्णय भयो,’ कागेश्वरी मनोहरा नगर प्रमुख उपेन्द्र कार्कीले अनलाइनखबरसँग भने, ‘यो मैदानको नाम मूलपानी नामाकरण हुने शर्तमा जग्गा उपलब्ध गराइएको हो ।’

आइतबारै क्यान अध्यक्ष चतुरबहादुर चन्दले कागेश्वरी मनोहरा नगर प्रमुखलाई सम्बोधन गरी स्थानीयको आत्मसम्मान बुझेर नगर प्रमुख, स्थानीय बुद्धिजीवी, राजनीतिक दलका नेतालगायत सबै सरोकारवालासँग छलफल गरी सहमतीमै नामाकरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जारी गरेको वक्तव्यमा स्थानीय क्रिकेट सरोकारवालालाई कुनै प्रकारको ठेष पुर्‍याउने संघको उद्देश्य नरहेकोसमेत प्रष्ट पारिएको छ ।

को हुन् जयकुमार नाथ शाह ?

जयकुमार नाथ शाह नेपाल क्रिकेट संघमा सबैभन्दा लामो समयसम्म नेतृत्वमा रहेका व्यक्ति हुन् । क्यान नेपालकै सबैभन्दा पुरानो खेल संघ (स्थापना २००४) क्यानमा शाहले २०२० देखि २०६२ सालसम्म अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

शाहकै कार्यकालमा आधुनिक नेपाली क्रिकेटको सुरुवात भएको थियो । उनले घरेलु क्रिकेट प्रतियोगिता आफ्नै नामबाटसमेत सञ्चालन गरेका थिए ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी), एसियाली क्रिकेट परिषद (एसीसी)को आवद्धता, एसोसियट मान्यतासम्म उनको कार्यकालमा सम्भव भएको थियो । सन् १९९८ मा एसोसियट मान्यता पाएपछि नेपालले नियमित रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको थियो ।

२०७४ भदौमा निधन हुनुअघि उनी ९० वर्षका थिए ।

उनले क्यानको नेतृत्व छाडेको अर्को वर्षदेखि राखेपको स्वामित्वमा रहेको जग्गा लिजमा लिएर क्यानले आफ्नै लगानीमा म्ूलपानी (माथिल्लो) मैदान निर्माण सुरु गरेको हो । तत्कालीन अध्यक्ष विनयराज पाण्डेका अनुसार एसीसीबाट प्राप्त १ करोड अनुदानमार्फत यो मैदानको निर्माण सुरु भएको हो । पछि सरकारले दिएको आर्थिक सहयोगबाट अहिलेको संरचना निर्माण गरिएको हो ।

एसीसी प्रिमियर कपका दौरान बैशाख १७ गते यूएई र ओमानबीच सेमिफाइनल खेल यो रंगशालामा खेलाइएको थियो । सो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसँगै मूलपानी मैदान अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपालको दोस्रो मैदान बनेको हो ।

कागेश्वरी मनोहरा नगरपालिका नेपाल क्रिकेट मूलपानी मैदान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय