+
+
कोशी सरकारबारे सत्ता गठबन्धनको निर्णय :

मुख्यमन्त्री टुंगियो, बाँकी नै छ अंकगणितको संकट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते २१:२०
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा (बायाँ) र माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो ।

१८ असार, काठमाडौं । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्री को पहिला भन्ने विवाद टुंग्याएका छन् । तर निकै अप्ठ्यारो अंकगणितका कारण संकट भने कायमै रहेको नेताहरु बताउँछन् ।

एमाले नेतृत्वको सरकारका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत नपाएसँगै कोशीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । तर पाँचदलीय गठबन्धनमा मुख्यमन्त्री आलोपालो गर्ने भन्ने पनि समझदारी छ । तर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबीच को पहिला मुख्यमन्त्री हुने भन्ने सहमति जुट्न सकेन ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेपछि गठबन्धनका नेताहरु आफ्नो नाममा सहमति जुटाउन  काठमाडौं आए । उनीहरुले आफ्नो दल मात्र होइन, गठबन्धनमा आवद्ध दलका नेताहरुलाई भेटे ।

अनि सोमबार पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बस्यो । बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सञ्चारकर्मीहरुलाई भने, ‘गठबन्धनमा भएका दलहरुको तर्फबाट कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सल्लाह दिने निर्णय भएको छ ।’

एक नेताका अनुसार कोशीको मुख्यमन्त्री पाउनुपर्ने माओवादीको दाबी कायमै थियो । हाल कांग्रेसले ३ वटा प्रदेश सरकारको नेतृत्व गरिरहेको र कोशी आफूहरुले लिएपछि समान ३ वटा हुने माओवादी नेताहरुको तर्क थियो । प्रधानमन्त्रीकै दलको मुख्यमन्त्री हुँदा सहज हुने भन्दै माओवादी नेताहरुले कोशीमा पहिलो पालोमा आङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने तर्क गरेका थिए ।

तर कांग्रेसले अहिले आफूहरुको चार मुख्यमन्त्री भए पनि भोलि माओवादीको पनि हुने बताए । सुदूरपश्चिम प्रदेशमा १०–१२ महिनापछि माओवादीको मुख्यमन्त्री हुने भन्दै कांग्रेसका एक नेता भन्छन्, ‘फेरि गणितका हिसाबले पनि हामी अगाडि भयौं ।’

अरु दलले पनि पहिलो पालो कांग्रेसलाई दिंदा हुने बताएपछि माओवादी नेताहरु सहमत भए । अब कोशी प्रदेशमा पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्ने बाटो खुलेको छ ।

टरेको छैन संकट

पाँचदलीय गठबन्धनमा को पहिला मुख्यमन्त्री बन्ने बाटो खुले पनि सरकार गठन सहज देखिएको छैन ।

किनकी प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ र, उसले हाल सरकारमा रहेको ६ सिट भएको राप्रपालाई आफूसँगै राख्न प्रयास गरिरहेको छ ।

एमाले र राप्रपा एक ठाउँमा भएको अवस्थामा पाँचदलीय गठबन्धनलाई मुख्यमन्त्रीमा दाबी गर्न सकस हुनेछ । किनकि माओवादी केन्द्रबाट निर्वाचित बाबुराम गौतम सभामुख छन्, जो सरकार गठन प्रक्रियामा सहभागी हुन मिल्दैन । उनलाई नगन्ने हो भने पाँचदलीय गठबन्धनसँग पनि ४६ सिट (कांग्रेस २९, माओवादी १२, एकीकृत समाजवादी ४ र जसपा १) मात्र हुन्छ, जुन ९३ सदस्यीय प्रदेशसभाको बहुमतका लागि एक कम हो ।

गठबन्धनका कतिपय नेता प्रदेश प्रमुखको आह्वान अनुसार मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने क्रममा संसदीय दलका नेताहरुले हस्ताक्षर गर्ने भएकाले सरकार गठन हुनसक्ने दाबी गर्छन् । त्यसो भएको अवस्थामा पनि संकट टर्दैन ।

किनकि संविधानको धारा १६८ (२) अनुसार नियुक्त भएका मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ । कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘अहिले सरकार बनाइहाले पनि भोलि प्रदेशसभाबाट विश्वासको मत लिने बेला ४६ हुन्छ । किनकि त्यो बेला सभामुखले मतदान गर्न मिल्दैन ।’

त्यसैले अहिले नै राप्रपासँग सहमति गर्ने आफूहरुको प्रयास रहेको उनले सुनाए । त्यही क्रममा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेका छन् । यद्यपि लिङ्देनले सरकार गठनमा सघाउने ठोस वचन दिएका छैनन् । कांग्रेसका एक नेता भन्छन्, ‘भरे भोलि थप छलफल गर्छौं ।’

नेताहरुका अनुसार पहिलो पालोमा मुख्यमन्त्री नपाएको माओवादीको असन्तुष्टि पनि सम्बोधन गर्नुपर्नेछ भने जसपालाई पनि गठबन्धनमा राखिराख्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?