+
+
विचार :

रविजी, चितवन विकासको तपाइँहरूको मोडल पनि रेनु दाहालको जस्तै हो ?

सिंगो सामाजिक सञ्जाल राष्ट्रवादको ज्वरोले ग्रस्त भएको बेला, बालेनको ‘ग्रेटर नेपाल’ले तहल्का पिटेको बेला, हिन्दी फिल्म निषेधसँगै ‘राष्ट्रवाद’को उभार आइरहेको बेला ‘एल निनो’जस्तो खडेरीका कारण करोडौंलाई भोकै पार्न सक्ने तर भीडलाई जुरुकजुरुक नउचाल्ने विषय तपाइँहरूको प्राथमिकतामा परोस् नै कसरी?

जीवन क्षेत्री जीवन क्षेत्री
२०८० असार १९ गते १०:५४

माननीय रवि लामिछानेजी !

नेपालमै विकासको मानक स्थापना गरेको भनेर प्रचारित चितवनस्थित भरतपुर महानगरको विकासको अनुहार चार दिन अगाडि मैले खिचेको यो एउटै फोटोले देखाउँछः

यहाँ महानगरका केटाकेटीका डाइपरदेखि उनीहरू जन्मने बेला निस्केका सालनालसम्म छन्। फुटेका सिसादेखि अपरेशनमा काटेर मरेका जनावरसम्म छन्। तिनलाई महानगरले ट्रकमा ओसार्छ, नदी किनारमा लगेर यसैगरी फाल्छ। त्यसमध्ये कति नदीमा बगेर जान्छ, कति किनारमा बसेर जमिरहन्छ।

भरतपुर महानगरको फोहोर, विकार, संक्रमण सबै यसरी नदीको छेउमा फालिन्छ। त्यो बग्दै तल जान्छ।

भरतपुर महानगरको यो खाने दाँत हेरेपछि अब हेरौं देखाउने दाँत कस्तो छः

झण्डै एक किलोमिटर फरकमा देख्न पाइने यी दुई दृश्यले चितवनको एउटै महानगर तथा तपाइँको निर्वाचन क्षेत्रको उल्लेख्य हिस्सा ओगट्ने क्षेत्रको विकासको मोडलबारे धेरै कुरा बोल्छन्।

एकातिर छँदाखाँदाको बालुवाको तट मासेर कथित ‘सी बिच मोडल’का नाममा कंक्रिटको महँगो संरचना बनेको छ अर्कोतिर फोहोर व्यवस्थापन जस्तो नगरी नहुने काम अलपत्र र असरल्ल छ।

उसो त माथिको पहिलो तस्वीरमा देखाइएको भूभागको छेउमा विकासको योजना भरतपुर महानगरसित नभएको हैन। त्यो विकासका लागि हालै भरतपुर महानगरले यस्तो सूचना निकालेको थियोः

अर्थात्, भरतपुर महानगर वडा नं. ३ मा एउटा अटोल्याण्ड बन्नेछ जहाँ महानगरकै शब्दमा ‘पहुँच सडक, वर्कशप प्लटहरू, हरित क्षेत्र, भित्री सडकहरू, खानेपानी, ढल निकास र फोहोर प्रशोधन प्लान्ट’ बन्नेछन्।
तर जहाँ यी सबै संरचना बन्दैछन्, त्यो ठाउँ अहिले यस्तो छः

अर्थात्, कंक्रिटले भरिएको शहरको बीचमा नदी किनारमा एउटा सानो हरियो टापु छ जहाँ घना झाडी छ। जसले बर्खाभरि उर्लंदो नारायणीबाट बस्ती बचाउँछ। अनि वर्षैभरि शहरवासीलाई अक्सिजन दिन्छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रका मुख्य वनबाट बस्तीतिर भड्किने गैंडा लगायतका वन्यजन्तुलाई आश्रय दिन्छ। नारायणगढ क्षेत्रको भूमिगत जलाधारलाई पानी आपूर्ति गर्छ।

अटोल्याण्ड बनाउने योजना भनेकै त्यो हरियाली मास्ने योजना हो। त्यहाँको बहुमूल्य जमिन तजबिजका भरमा मानिसहरूलाई प्रयोग गर्न दिने र त्यसबापत असुली गर्ने योजना हो।

स्पेनको मड्रिड जस्ता शहरले जलवायु संकटजन्य प्रकोपहरू खप्न ठूलो खर्चमा शहर छेउको ३५ हजार हेक्टरमा विशाल नयाँ वन हुर्काउन संघर्ष गरिरहँदा भरतपुर शहरले बचेको एकाध हेक्टर वन समेत मास्ने प्रयासमा छ।

त्यसबाहेक अहिले भरतपुरकी मेयरलाई ‘सौन्दर्यकरण’को ज्वरोले समातेको छ।

सिकिस्त बिरामीलाई उपचारको सट्टा सजधज गरे झैं खाली सार्वजनिक जमिन देख्यो कि त्यहाँ कंक्रिट भरेर सौन्दर्यकरण नाम दिइहाल्ने यो ज्वरोको पारा नयाँ वर्षको बजेटसँगै चढेको छ।

माननीय रविजी, भरतपुरको विकास मोडलबारे थप बुझ्न तपाइँको निर्वाचन क्षेत्र चितवन–२ बाट सुरु भएर चितवन–३ मा गएर रापतीमा मिसिने केरुंगा घोलको यो नक्सा हेर्नुस् तः

यो चित्रको बीचबाट बग्ने खोला जस्तै देखिने यो घोलको भरतपुर जस्तो घना बस्ती भएको ठाउँका लागि के महत्व होला? त्यो बुझ्न गुगल नक्सालाई अझ नजिकबाट हेरौं तः

गुगलले यी नक्सा लिएयता पक्कै यी ठाउँमा परिवर्तन भएको छ। कंक्रिटका घर र बाटोहरू थपिएका छन्। तर पनि के प्रष्ट छ भने खानेपानी, खेतीपाती र कृषि उद्यमका लागि यो घोलको भूमिका अतुलनीय छ। यसको छेउछाउमा रहेका माछापोखरीले भलै हिउँदमा मोटरले जमिनमुनिको पानी तान्छन् होला तर त्यो भूमिगत जलाधार भर्ने फेरि पनि अरु जमिनभन्दा धेरै अवधिसम्म पानी रहने यस्तै घोलले हो।

यो घोलले बनाएको सिमसारमा हजारौं किलोमिटर परबाट आगन्तुक चराहरू आउने र जाने गर्छन्। यसको वरिपरिको निजी जमिनमा जति कंक्रिटका संरचना थपिंदै जान्छन्, भूमिगत जलाधार रिचार्जमा यसको भूमिका झनै थपिंदै जान्छ।
तर हालै आएको भरतपुर महानगरको बजेट अनुसार यो ‘कुरूप’ घोलको अब सौन्दर्यकरण र पर्यटन विकास हुनेछ। त्यसका लागि महानगरले हालै यस्तो सूचना निकालेको छः

उक्त योजना अनुसार घोल मेटेर फुटपाथ सहितको नहर जस्तो संरचना बनाइनेछ। भरतपुरकी मेयर रेनु दाहालका अनुसार अबको आर्थिक वर्षमा घोल ‘संरक्षण र व्यवस्थापन’का लागि सघन शहरी विकास तथा भवन निर्माण आयोजनाले १८ करोड रुपैयाँ विनियोजन नै गरिसकेको छ। भरतपुर महानगरको गुरुयोजना अनुसार घोल सम्बन्धी सबै काम गर्न १ अर्ब ३७ करोडको बजेट लाग्नेछ।

माननीय रविजी, यति भनिसकेपछि तपाइँसँग मेरा केही प्रश्न छन्ः
१) तपाइँको निर्वाचन क्षेत्रमा विकासको यो मोडलमा तपाइँको सहमति हो?
२) नदी मिचेर धमाधम कंक्रिटका संरचना बनाउनु र घोल–सिमसार मेटेर कंक्रिटको नहर बनाउनुलाई तपाइँ सौन्दर्यकरण मान्नुहुन्छ?
३) शहरभरिको फोहोर जम्मा पारेर नदीमा बगाउने फोहोर व्यवस्थापन तपाइँका लागि स्वीकार्य हो?
४) चितवन विकासको तपाइँको गुरुयोजनामा अहिलेकी मेयरका झैं कंक्रिटका ‘सुन्दर’ संरचना मात्रै छन् कि पिउने स्वच्छ पानी र सास फेर्ने सफा हावा पनि पर्छ?

हेर्नुहोस् यही वर्ष अप्रिलमा चितवनको वायु प्रदूषणको अवस्थाः

तस्वीर स्रोतः कशिश दास श्रेष्ठको ट्वीट

५) अहिले यहाँको स्थानीय सरकारमा तपाइँहरूको पार्टीको उपस्थिति छैन। त्यसैले अहिले भइरहेको अन्धाधुन्ध विनाशका लागि तपाइँहरूको प्रत्यक्ष जिम्मेवारी पनि छैन। तर मानिलिनोस्, अबको स्थानीय चुनावमा तपाइँको पार्टीले भरतपुर महानगर जित्यो। तर अहिले बनेका कंक्रिटका संरचनाका कारण जमिनको मरुभूमिकरण तीव्र भयो, यसै तल सर्दै गएको भूमिगत जलाधार झनै सुक्दै गयो भने तीव्र रूपमा जनसंख्या बढिरहेको चितवनले कहाँको पानी पिउँछ? कुन पानीले खेतीपाती गर्छ? उद्योगधन्दा केले चलाउँछ? कंक्रिटको यस्तै विनाशकारी विकासका कारण डुबान लगायत समस्या झन् बढे भने त्यसको उपचार के हुन्छ?

के त्यसका लागि अहिलेदेखि नै तपाइँहरूको योजना हुनुपर्दैन?

राजनीतिमा होस् वा नागरिक तहमा गलतलाई गलत भन्ने मानिसहरू हुँदै नभएका भने हैनन्।

नारायणगढ छेउमा नगरवनको जंगल मासेर अटोल्याण्ड बनाउने योजनाको स्थानीयले दह्रो प्रतिरोध गरिरहेका छन्। त्यो जंगल पर्ने भरतपुर महानगरको वडा नं. ३ का जनप्रतिनिधि लगायत सबैले बहिष्कार गरेपछि माथिको विज्ञापनमा आह्वान गरिएको सार्वजनिक सुनुवाइ हुन सकेन।

त्यसबाहेक नारायणी बचाउ अभियानका युवाहरू दिनरात खटेर यस्तो विनाशकारी आयोजनाको प्रतिवाद गरिरहेका छन्। स्थानीयसित समन्वय गरेर नदीको दोहनविरुद्ध अभियान चलाइरहेका छन्।

तर २००७ सालमा राणाहरूको जहानियाँ शासन गए पनि भरतपुरमा अहिले जंगबहादुरकै झल्को दिने खालको शासन छ। स्थानीय सरकार यति ढिठ, अनुत्तरदायी र दोहनकारी छ कि स्थानीयहरू र त्यहाँका जनप्रतिनिधिहरूको त्यत्रो प्रतिवादका बाबजुद फर्जी सार्वजनिक सुनुवाइ गरेरै भए पनि नगरवनको जंगल मास्ने सुरसारमा छ।

स्थानीयको बहिष्कारसँगै सार्वजनिक सुनुवाइ रद्द भइसकेपछि हालै आएको भरतपुर महानगरको नीति तथा कार्यक्रममा यसो भनिएको छः बीपी शान्ति नगरवन क्षेत्रलाई निजी क्षेत्रसँगको सहकार्यमा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय पूर्वाधारका रूपमा विकास गरिने, अन्य सामुदायिक वनहरूलाई पनि दिगो पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै लगिनेछ।

अर्थात् अमूल्य वन र बहुमूल्य सार्वजनिक जमिनलाई दोहन गरिनेछ।

माननीय रविजी, पछिल्लो चुनावमा यति धेरै मानिसले विश्वास गरेको तपाइँको पार्टीले ‘मौनम् स्वीकृति लक्षणम्’को व्यवहार देखाएर त्यही स्थानीय सरकारको दोहन कार्यलाई मलजल गरेजस्तो देखिएको छ।

कतिसम्म भने नदी बचाउ अभियानका साथीहरूले ‘यो विषयमा केही त बोलिदेऊ’ भनेर अनुरोध गर्दा पनि तपाइँहरूको पार्टीको कुनै पनि तहबाट यस विषयमा सार्वजनिक अडान आएको देखिंदैन।

हुन त कहाँको तपाइँ देशमै ठूलो मतान्तरले निर्वाचित जनप्रतिनिधि, कहाँको हामी सडकछाप अभियन्ताहरू, यस्ता विषयमा हाम्रो अपील तपाइँले सुन्नुपर्छ भन्ने शायद छैन र सुन्नु हुने पनि छैन। यस्ता लेख पढेर बर्बाद गर्नलाई शायद तपाइँसँग वा तपाइँको दलका कुनै पनि नेता वा जनप्रतिनिधिसँग समय पनि छैन।

तपाइँको पार्टीबाट निर्वाचित भएर संसदमा पुगेका हाम्रै साथीभाइले त अब हाम्रा कुरा सुन्न छाडेका छन् भने तपाइँबाट हामीले त्यति धेरै अपेक्षा राख्नु पनि शायद न्यायोचित हुँदैन।

तर कथं कदाचित् तपाइँले यी वाक्य पढिहाल्नुभयो भने एक चोटि ठण्डा दिमागले सोच्नोस् तः तपाइँलाई वास्तवमै भगवानको अवतार झैं मान्ने र तपाइँका आलोचकहरूको ठाडठाडै प्रतिवाद गर्ने मेरा बाको पुस्ताका बाआमाको तपाइँमाथि कति भरोसा छ?

सार्वजनिक सम्पत्ति देख्नासाथ सौन्दर्यकरण वा अरु कुनै बहानामा दोहन गरिहाल्ने, आसेपासेलाई भाग लगाइहाल्ने, प्रश्न उठाउनुपर्ने भूमिकामा भएकाहरूलाई पैसाको बुजो लगाइहाल्ने अहिलेको घनचक्करलाई मौन सहमति दिइरहने हो भने त्यो भरोसा थामिइरहला?

साझा सम्पत्तिको दोहन, पर्यावरणको विनाश, भ्रष्टाचार र अपराधको अहिलेको गठजोडलाई समयमै चुनौती नदिने हो वा त्यसैमा सामेल हुने हो भने भोलि तपाइँहरूको ‘डेलिभरी’ व्यवहारमा कस्तो होला?

अर्को चुनावकै कुरा गर्ने हो भने, मलाई लाग्छ, अबका चार वर्ष भजन–कीर्तन मात्रै गरेर बसे पनि तपाइँले चितवनबाट चुनाव जित्नुहुन्छ। शायद तपाइँहरूले कुनै लट्ठीलाई यहाँको मेयरको उम्मेदवार बनाउनुभयो भने त्यसले पनि अबको चुनाव जित्छ।

शायद त्यसैले होला, तपाइँहरूमा कुनै हतारो छैन। तर के चुनाव जित्नु नै तपाइँहरूको साध्य हो त?

स्थानीय पर्यातन्त्रको अभिन्न अंग रहने घोल र सिमसार सुन्दर हुन्छ कि कुरूप? कंक्रिटको नहरको छेउमा बनेको कंक्रिटकै मूर्ति राम्रो कि साइबेरिया वा त्यस्तै दूरदराजबाट यहाँको सिमसारका माछा खान हजारौं किलोमिटर उडेर आउने रंगीचंगी चरा राम्रो? शायद यी प्रश्नको जवाफ तपाइँहरूसँग छैन।

नदी भनेको पानी, जलचर प्राणीहरू र ढुंगा–बालुवा हो कि कंक्रिटका पर्खालका बीचमा बग्ने पानी? यो त झनै भारी प्रश्न भइहाल्यो।

आखिर तपाइँहरूले पार्टीको चुनावी घोषणापत्रमा लेख्नुभएकै छः कुनै पनि परम्परागत सैद्धान्तिक वाद वा विचारबाट स्वतन्त्र रहेर राज्यमा विधिको शासन लागू गर्न तथा आम मानिसको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न आवश्यक देखेमा कुनै पनि वाद, विचार, सिद्धान्तलाई साधनका रूपमा प्रयोग गर्न र त्याग्न स्वतन्त्र छ भन्ने चाहिं बुझाउँछ।

सम्भवतः यही घोषित विचार–निरपेक्षताका कारण तपाइँहरूलाई पर्गेल्नै कठिन छः शहरछेउको अमूल्य जंगल मासेर नदी किनारमा गाडी मर्मत गर्ने र धुने ठाउँ बनाउने काम सही हो कि गलत? वरिपरिको जमिन मरुभूमिकरण हुने गरी घोल र सिमसार मास्नु सही कि गलत? कुहिने, नकुहिने र संक्रामक सबै फोहोर जम्मा पारेर नदीमा बगाउनु सही कि गलत? कंक्रिटको विकास देखाएर मानिसलाई पिउन सफा पानी र सास फेर्न सफा हावाबाट वञ्चित गर्नु सही कि गलत?

सम्भवतः तपाइँको दलले अहिलेसम्म यस्ता विषयमा छलफल गरेर धारणा बनाउने फुर्सदै पाएको छैन। त्यसैले यस्तो अन्योल तपाइँहरूको दलको केन्द्रदेखि टोलस्तरसम्म देखिन्छ।

माननीय रविजी, म तपाइँको ठाउँमा हुन्थें भने मेरो केन्द्रीय चिन्ता हुन्थ्योः ममाथि रहेको यति धेरै मानिसको यति गहिरो भरोसालाई न्याय कसरी गर्ने होला? उनीहरूका सबै अपेक्षा पूरा गर्न नसके पनि उनीहरूलाई निराश र हतास बन्न नदिन के गर्ने होला?

यो कति संवेदनशील कुरा हो भन्ने बुझाउन म एउटा प्रसंग राख्छु। एक जना साथीले ताप्लेजुङको विकट ओलाङचुङगोला पुगेर फर्केपछि भन्दै थिएः मैले त्यहाँ यस्ता बुढाबुढी भेटें जसले भन्थे मिल्ने भए हामीले पनि रविलाई भोट हाल्ने थियौं।

राज्यले दिने सबै जसो सेवा–सुविधाबाट वञ्चित, उपचार चाहियो भने घरखेत बेचेर हेलिकप्टर चढेर काठमाडौं धाउनुपर्ने, उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बस्नुपर्ने, केटाकेटीको शिक्षा र पोषणमध्ये एउटा रोज्न बाध्य नेपालको ठूलो जनसंख्या, जसको भरोसा तपाइँ जस्ता मानिसहरूमाथि छ, तिनलाई राहत र न्याय दिने बाटो के हो?

चितवनमा घोल सुकाएर मरुभूमि बनाउन खर्च गर्न लागिएको सवा अर्बले दाङ वा पाँचथरमा वीर अस्पताल जत्रै एउटा सरकारी अस्पताल बन्न सक्छ। अथवा त्यस्तै तीन ठाउँमा वीर अस्पतालको एक तिहाइ क्षमताका तीन अस्पताल बन्न सक्छन्। अथवा देशभरिका ओलाङचुङगोला जस्ता सयौं विकट गाउँहरूमा समेत सुरक्षित सुत्केरी सेवा सहितका दश बेडका अस्पताल पुग्न सक्छन्।

तर अधिनायकवादी व्यवस्थामा झैं नेता हेरेर बजेट पठाउँदा चितवनको घोल विनाश र मरुभूमिकरणका लागि अर्बको बजेट आउँछ, नदी र जंगल मास्न करोडौंको बजेट आउँछ, दाङको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आधा दशकमा ठूलो नयाँ भवन बनाउने बजेट जाँदैन, गाउँको स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल जाँदैन।

रविजी, यो जस्तो अश्लील राज्य सञ्चालन के हुन सक्छ?

राज्यका सीमित संसाधनको यस्तो वितरण तपाइँलाई स्वीकार्य हो? के तपाइँ र रेनु दाहालले प्रतिनिधित्व गर्ने चितवनका जनता पहिलो दर्जाका अनि ताप्लेजुङ वा महोत्तरीका जनता दोस्रो दर्जाका हुन्?

सांसद विकास कोष भनिने तजबिजी बजेटको विरोध गर्ने तपाइँको दलले भरतपुरमा निरन्तर विनाश कार्यका लागि आइरहेको र खर्च भइरहेको अर्बौंको बजेटबारे किन मौन छ?

अन्त्यमा तपाइँहरूले गर्न खोजेको भनिएको ‘नयाँ’ राजनीतिले पुराना दलबाट के सिक्न सक्छ भन्ने दुइटा उदाहरण राखेर बिदा हुन्छु।

एक, विकास भन्नासाथ सत्ता र प्रतिपक्ष दुवै पक्ष मिलेर दोहन गर्ने र मिलेरै भोजन गर्ने थिति बसेको बेला पनि नगरवनको कथित अटोल्याण्डको दह्रो प्रतिरोध गरिरहेका छन् एमालेबाट निर्वाचित वडाध्यक्ष र अरु जनप्रतिनिधिहरूले।

सबै तहमा प्रतिपक्षले यत्तिको भूमिका खेल्न सक्ने हो भने यस्ता विनाशकारी आयोजनाहरू देशभर रोकिन सक्ने थिए। तर त्यस खाले कुनै पनि भूमिका खेल्नु अगाडि के सही र के गलत भन्ने आधारभूत चिन्तन र न्यूनतम मानवीय नैतिकता भने तपाइँहरूले विकास गर्नुपर्ने देखिन्छ।

उहाँलाई लाग्छ अब यो देशमा केही गरे भने बालेन र तपाइँ जस्ता नेताहरूले गर्छन्, अरुबाट केही हुँदैन। हुन पनि बुवाले कांग्रेस मेरो पार्टी नभएको जान्दाजान्दै त्यो पार्टीसित बोल्न जान लागेकाले मलाई होच्याउन मात्रै ‘तेरो कांग्रेस’ शब्दावली प्रयोग गर्नुभएको थियो। उहाँलाई अब कांग्रेस, एमाले र माओवादी पार्टीका नाम हैन गालीगलौजका शब्द लाग्छन्।

दुई, अघिल्लो साता एउटा कामले मलाई चितवनबाट काठमाडौं आउनु थियो। मेरो पुस्तक ‘नुन–तेल’ प्रकाशित भए यता मैले खासगरी स्कुल तहमा जलवायु साक्षरता बढाउन मिहिनेत गरिरहेको छु। तर मौका मिलेसम्म नीति–निर्माण तहमा रहेका राजनीतिक दलहरूसितै किन यस विषयमा छलफल नगर्नु भन्ने मलाई लाग्यो। त्यसमाथि ‘एल निनो’ भनिने मौसम प्रणालीले ल्याएको हुनसक्ने लामो खडेरीपछि त्यही बेला पूर्वबाट पसेको मनसुनले नेपालमा ताण्डव मच्चाउन थालिसकेको थियो।

त्यसैले जलवायु परिवर्तनले ल्याउन सक्ने मौसमी विपत्तिहरू र दीर्घकालमा तीसित जुध्न गर्नुपर्ने तयारीबारे पार्टीका नेता–कार्यकर्तासित संवाद गर्ने मेरो इच्छा थियो। यसपटक नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीसित संवाद गर्ने मैले प्रयास गरें।

चितवन छँदै कांग्रेसी संयन्त्रसित संवाद निश्चित जस्तै भएकाले घरमा मैले भनें: म त ‘नुन–तेल’ किताबमा उठाएका जस्ता विषयमा नेताहरूसितै कुरा गर्न जाँदैछु।

‘तेरो कांग्रेसले के गर्छ?’ भन्दै बुवा जंगिनुभयो।

उहाँलाई लाग्छ अब यो देशमा केही गरे भने बालेन र तपाइँ जस्ता नेताहरूले गर्छन्, अरुबाट केही हुँदैन। हुन पनि बुवाले कांग्रेस मेरो पार्टी नभएको जान्दाजान्दै त्यो पार्टीसित बोल्न जान लागेकाले मलाई होच्याउन मात्रै ‘तेरो कांग्रेस’ शब्दावली प्रयोग गर्नुभएको थियो। उहाँलाई अब कांग्रेस, एमाले र माओवादी पार्टीका नाम हैन गालीगलौजका शब्द लाग्छन्।

भयो के भने, कांग्रेसी संयन्त्रले आयोजना गरेको कार्यक्रममा केही सांसदहरूसहित ५० भन्दा बढी मानिस आए र दुई घण्टाभन्दा बढी समय कार्यक्रममा बसे। सवा घण्टा मेरो कुरा सुने। थप पौने घण्टासम्म आधा दर्जनभन्दा बढीसँग प्रश्नोत्तर भयो। कुनै पनि राजनीतिक दलका व्यक्तिले जलवायु संकटका विषयमा यति चासो दिएको यो मेरो पहिलो अनुभव थियो।

उता तपाइँको दलमा भने चिनजानकै साथीभाइको मद्दतले राम्रै प्रयास गर्दा पनि कार्यक्रमको चाँजो मिलाउन सकिएन।

हामी आम नागरिकका लागि नेताहरूको समय नपाउनु, पर्खेर समय बर्बाद पार्नु सामान्य कुरा हुन्। तर तपाइहरूको पार्टीमा मैले देखेको समस्या भने अर्कै छ। त्यही बेला सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खोलिदिएको थियो। यो त्यही ऐन थियो जसलाई तपाइँहरूले राष्ट्रघाती घोषित गरेर पटक–पटक विज्ञप्ति निकाल्नुभएको थियो।

एउटा कानुनले राष्ट्रघात गरेर देशै बर्बाद पार्न लागेको समयमा जलवायु संकट जस्ता झिनामसिना विषयको बहस गर्न तपाइँहरूलाई फुर्सद नै कहाँ होस् र!

२०७२ सालको संविधान अनुसार तुरुन्तै नागरिकता पाउनुपर्ने युवाहरूले २०८० मा त्यसको सुनिश्चितता गर्ने ‘राष्ट्रघाती’ कानुन कार्यान्वयन भएको खुशीमा माइतीघरमा अबिर जात्रा मनाइरहेका थिए। त्यस्तो देशद्रोह चलिरेहको बेला तपाइँहरूको प्राथमिकतामा अरु विषय कसरी पो परुन्?

सिंगो सामाजिक सञ्जाल राष्ट्रवादको ज्वरोले ग्रस्त भएको बेला, बालेनको ‘ग्रेटर नेपाल’ले तहल्का पिटेको बेला, हिन्दी फिल्म निषेधसँगै ‘राष्ट्रवाद’को उभार आइरहेको बेला ‘एल निनो’जस्तो खडेरीका कारण करोडौंलाई भोकै पार्न सक्ने तर भीडलाई जुरुकजुरुक नउचाल्ने विषय तपाइँहरूको प्राथमिकतामा परोस् नै कसरी?

माननीय रविजी, बजेट आयो भन्दैमा आफ्नै खानेपानीको स्रोत सुकाए पनि फुर्किरहने चितवनवासीले मात्रै तपाइँमाथि भरोसा राखेका छैनन्। सुदूरपूर्वको ओलाङचुङगोलादेखि उत्तरको पाङसाङ र सुदूरपश्चिमको गोकुलेश्वरसम्मका वृद्ध–वृद्धाले तपाइँमा भगवानको अवतार देखेका छन्।

तिनको भरोसा तोडिने अवस्था आयो भने त्यसले कति पीडा सिर्जना गर्ला, कल्पना गर्नोस् त !

जाँदाजाँदै, कहिलेकाहीं हामी जस्ता आम नागरिकका कुरा सुन्दा, सुझाव मान्दा र हामीसित संवाद गर्दा पनि तपाइँहरूको कद घट्ने छैन। कम्तीमा मलाई त्यस्तै लाग्छ। त्यसैले तपाइँहरूसँग सार्थक संवादको अपेक्षा सहित।

उही तपाइँरूको शुभचिन्तक।
जीवन क्षेत्री

लेखकको बारेमा
जीवन क्षेत्री

लेखक तथा विश्लेषक जीवन क्षेत्री भरतपुरमा रहेर स्वास्थ्य सेवा गर्छन् । लेखकले साप्ताहिक रूपमा सिफारिस गर्ने सामग्रीहरू द हिमालयन गेज मा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?