
२५ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफलमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र यूएनडीपीका आवासीय प्रतिनिधि क्योको योकोसुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो ।
उक्त अवसरमा चेम्बर अध्यक्ष अग्रवालले हरित अर्थतन्त्र विकासमा टेवा पुग्ने गरी व्यावसायिक निरन्तर योजना कार्यन्वयनका लागि पहल गरिने बताए ।
‘जलवायु परिवर्तनका कारण व्यवसायमा पर्ने असरको अध्ययन र त्यससँग सम्बन्धित नीति तर्जुमा गर्न तीनै तहको सरकारसँग पहल आवश्यक छ,’ उनले भने ।
अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगमा विपद् असरे अध्ययन गर्नुपर्ने र त्यसको न्यूनीकरणका लागि बीमा लगायत व्यवस्थामा सचेतना जगाउनुपर्ने बताए ।
यूएनडीपीका आवासीय प्रतिनिधि योकोसुकुले निजी क्षेत्रको संलग्नतामा स्थायी प्रकृतिको विपद् प्रतिकार्य कोष स्थापना गर्नुपर्ने बताइन् ।
उनले जलवायु परिवर्तनले औद्योगिक र व्यावसायिक क्षेत्रमा परेको असर न्यूनीकरणका लागि निजी क्षेत्रले नै अग्रणी भूमिका खेल्दा प्रभावकारी हुने उल्लेख गरिन् ।
चेम्बर र यूएनडीपीले काभ्रे नमोबुद्ध र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माण र जीविकोपार्जनबारे सहकार्य गरेका थिए ।
प्रतिक्रिया 4