+
+

आधा असार सकिंदा २२ प्रतिशत मात्रै धान रोपाइँ

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० असार १९ गते २०:१०

१९ असार, काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ ।

यो वर्ष सरकारले १४ लाख ९५ हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरेको छ । तर, १७ असारसम्म देशभर कुल ३ लाख २९ हजार ४३६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन २२.०२ प्रतिशत मात्रै हो । गतवर्ष यस अवधिमा ४० प्रतिशत भन्दा धेरै क्षेत्रफलमा रोपाइ भइसकेको थियो ।

देशभरको धान रोपाइँको विवरण संकलन गर्ने कृषि विभाग अन्तर्गतको बालीविकास तथा जैविक विविधता संरक्षण केन्द्रकाअनुसार गत वर्ष २२ असार र अहिलेको १७ असारसम्मको विवरण हेर्दा २७ प्रतिशत कम क्षेत्रफलमा कम मात्रामा रोपाइँ भएको पाइएको छ ।

‘गत वर्ष २२ गतेसम्म ४९.३३ प्रतिशत (६ लाख २ हजार ३४२ हेक्टर) क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्षको तुलनामा रोपाइँ भएको अवधि (दिन) मा केही फरक भए पनि रोपाइँको ट्रेनमा धेरै अन्तर देखिएको छ,’ केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले भने, ‘रोपाइँ कम हुनुको पहिलो कारण मनसुन नै हो ।’

यस अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा झण्डै आधा क्षेत्रफलमा रोपाइँ सकिएको छ भने धान धेरै फल्ने मधेशमा निकै कम मात्रामा रोपाइँ भएको छ ।

कोशी प्रदेशमा १६ प्रतिशत रोपाइँ

विभागकाअनुसार पूर्वी नेपालको कोशी प्रदेशमा ५७ हजार ८१४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यो वर्ष यो प्रदेशमा ३ लाख ४० हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारको अनुमान छ ।

गत वर्ष २२ असारसम्म यो क्षेत्रमा एक लाख ८ हजार क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष २२ असारसम्म प्रदेशमा ३१.९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएकामा यस वर्ष १६.९६ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

मधेश प्रदेशमा सबै भन्दा कम रोपाइँ

धान उत्पादनको सबै भन्दा उर्वर भूमी मधेश प्रदेशमा ९.५२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

कृषि विभागकाअनुसार प्रदेशमा ३८ हजार २७५ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ । प्रदेशमा ४ लाख एक हजार ६५० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । जबकि गत वर्ष २२ असारसम्म ५६ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको थियो । गत वर्ष असार तेस्रो सातासम्म प्रदेशमा ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

बागमती प्रदेशमा २७ प्रतिशत रोपाइँ

१७ असारसम्म बागमती प्रदेशमा ३३ हजार ६८२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन २७.३० प्रतिशत हो ।

यो वर्ष प्रदेशमा एक लाख २३ हजार ३६४ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । २२ असार २०७९ मा प्रदेशमा ४२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थिो ।

गण्डकीमा १७ प्रतिशत रोपाइँ

विवरणअनुसार प्रदेशमा १७.५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन १७ हजार १७४ हेक्टर हो ।

मन्त्रालयले यस वर्ष प्रदेशमा ९७ हजार ८५१ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरेको छ । गत वर्ष २२ असारसम्म प्रदेशमा ६२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

लुम्बिनीमा २४ प्रतिशत रोपाइँ

प्रदेशमा यस अवधिमा ७५ हजार ९८३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । जुन कुल रोपाइँ योग्य क्षेत्रफलको २४.४२ प्रतिशत मात्रै हो ।

गत वर्ष यस अवधिमा प्रदेशमा एक लाख ७१ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो । जुन ५३ प्रतिशत हो ।

कर्णाली र सुदूरपश्चिममा ४५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ

विभागकाअनुसार असार तेस्रो सातासम्म आइपुग्दा यि दुई प्रदेशमा रोपाइँ मध्य भएको छ । कर्णाली प्रदेशमा कुल क्षेत्रलको ४५.०२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ४८.९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कर्णालीमा यो वर्ष ४५ हजार ३८७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । यस अवधिमा २० हजार ४३४ हेक्टरमा रोपाइँ सकिसकेको छ । गत वर्ष यस अवधिमा प्रदेशमा २१ हजार ८९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशमा यो वर्ष एक लाख ७५ हजार ७६३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । ८६ हजार ७२ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ भने बाँकी भू–भागमा पनि रोपाइँ जारी छ ।

मनसुनले ढिलाइ तर रोपाइँ नियमित 

कृषि विभागले मनसुनमा भएको ढिलाइ कारण यो वर्ष रोपाइँ केही ढिलो भएको देखिएको छ ।
तर, रोपाइँका लागि पर्याप्त समय भएको र मनसुन पनि सक्रिय रहेका कारण किसानहरु आत्तिनु पर्ने अवस्था छैन । खडेरीका कारण बिउ राख्न केही ढिलाइ भएकाले पनि किसानहरुले बिस्तारै धान रोपाइँ गरिरहेका छन् ।

महानिर्देशक हरिबहादुर केसी मनसुन ढिलाइले रोपाइँ धकेलिए पनि रोपाइँमा कुनै किसिमको अप्ठ्यारो हुने अवस्था नरहेको बताउँछन् ।

पहाडी जिल्लामा पर्याप्त पानी परेका कारण रोपाइँ राम्रोसँग भएको र तराईको क्षेत्रमा रोपाइँ गर्ने समय रहेको उनको भनाइ छ ।

‘मनसुन यसै त केहीदिन ढिला प्रवेश गर्‍यो । अहिले पनि सबै प्रदेशमा सक्रिया अवस्थामा नरहेका कारण रोपाइँ केही ढिलाइ भएको हो ।’ केसीले भने ,‘तर, समय पर्याप्त भएको र मनसुनी अवस्था पनि राम्रो रहेका कारण सबै ठाउँमा रोपाइँ हुनेमा आशंका गर्नु पर्दैन ।’

मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा पनि किसानहरु रोपाइँ तयारीमा जुटेका कारण केही दिनमा रोपाइँ विवरणमा वृद्धि हुने विभागको अनुमान छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?