 
																			२० असार, काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको छ ।
असार मसान्त नजिकिंदै गर्दा सेयर बजारमा गिरावट भएको छ । आर्थिक वर्षको अन्तिममा व्यावसायिक खाता क्लोजिङ गर्नुपर्ने भएकोले सेयर बिक्री गर्ने चापले नेप्सेमा उच्च गिरावट भएको छ । असार मसान्तमा बैंक ऋणको सावाँ तथा ब्याज र व्यवसायीले कर बुझाउने समय भएकोले सेयर बिक्रीको चाप छ । तर, बजार थप घट्ने अपेक्षमा लगानी गर्न लगानीकर्ता तयार नहुँदा नेप्सेमा गिरावट भएको हो ।
असार मसान्तमा क्लोजिङको समय भएकोले बैंकहरूले तरलता सहज भएपनि थप ऋण प्रवाह गर्दैनन् । विगतमा व्यवसायिले असारको ब्याज तिर्न चालुपूँजी कर्जाको सीमा बढाउने गरेको भएपनि राष्ट्र बैंकले चालुपूँजी कर्जा सम्पत्ति मार्गदर्शन ल्याएर ऋण तिर्न चालुपूँजी कर्जा प्रयोग गर्न नसक्ने व्यवस्था गर्नुको साथै त्रैमासको अन्तिम महिनामा चालुपूँजी कर्जाको सीमा बढाउन नसक्ने व्यवस्था गरेको छ ।
जसले गर्दा आसार मसान्तमा व्यवसायीले ब्याज तिर्न अन्य विकल्पहरु प्रयोग गर्दा नेप्सेमा सेयर बिक्रीको पनि चाप आएको हो । जसले गर्दा बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको र ब्याजदर घट्दा पनि नेप्से पनि घटीरहेको छ ।
पछिल्लो ५ कारोबार दिनमध्ये चार दिन नेप्सेमा गिरावट भएको छ । गत साताको बुधबार सहित आइतबार र सोमबार पनि नेप्से गिरावट भएको थियो । मंगलबार दोहोरो अंकले बढेको नेप्से बुधबार पुनः घटेको हो । गत सातको मंगलबार २१८६.३६ अंकसम्म पुगेको नेप्से बुधबार २०४९.४४ को विन्दुमा बन्द भएको छ । बुधबार सबै उपसूचकहरुमा गिरावट हुँदा जीवन बीमा कम्पनीहरुको उपसूचक सवार्धिक ३.३१ प्रतिशतले गिरावट भएको हो । जीवन बीमा कम्पनीहरुको सेयरमूल्यमा बढी गिरावट हुँदा उक्त उपसूचक पनि तुलनात्मक रुपमा बढीले गिरावट भएको छ । बैंकिङ उपसूचक सबैभन्दा कम ०.९० प्रतिशतले गिरावट भएको हो ।
नेप्सेमा उच्च अंकको गिरावट भएपनि कारोबार रकम भने मंगलबारको तुलनामा बढेको छ । मंगलबार करिब साढे ३ अर्बमा सीमित भएको कारोबार रकम बुधबार ३ अर्ब नाघेको छ । लगातार ५ अर्ब माथिको कारोबार भइरहेको बजारमा नेप्से घट्न सुरु भएसँगै सोमबार ४ अर्बमा झरेको कारोबार रकम मंगलबार साढे २ अर्बमा झरेको थियो ।
बुधबार नेप्सेमा ५३ हजार १०३ वटा कारोबारमा ८० लाख ९२ हजार ९६९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७ करोड ४० लाखको कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको १३ करोड ९१ लाख रुपैयाँ र सोल्टी होटलको सेयर ९ करोड ५८ लाख रुपैयाँको कारोबार भएको हो ।
नेप्सेमा बुधबार कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये सिटी होटल र रावा इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । सिटी होटलको सेयर नेप्सेमा सूचीकृत भएपछि लगातार बढिरहेको छ । यस्तै रावा इनर्जी लिमिटेडको सेयरमूल्य नेप्सेमा सूचीकृत भएर कारोबार बुधबारदेखि कारोबारमा आएकोमा बुधबार नै सकारात्मक सर्किट लागेको हो ।
यस्तै बीपीडब्लु लघुवित्त र मोदी इनर्जी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । मोदी इनर्जीको सेयरमूल्य नेप्सेमा सूचीकृत भएर बुधबार कारोबार सुरु भएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4