+
+

२५ वर्षदेखिको राष्ट्रिय रेकर्ड तोड्ने लक्ष्यमा आयुष

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १४:३१

२१ असार, काठमाडौं । आयुष कुँवर आसन्न एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिन निकै उत्साहित छन् । अछामका २८ वर्षीय युवा जो देशका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियागितामा प्रतिनिधित्व गर्न जाँदैछन् । जुलाई १२ देखि १६ (असार २७ देखि ३१) गतेसम्म थाइल्यान्डको बैंककमा हुन लागेको च्याम्पियनसिपमा उनले १०० र २०० मिटर दौडमा भाग लिने छन् ।

पहिलो पटक आफ्नो देशलाई कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गराउन पाउँदा आफू निकै खुसी रहेको आयुषले बताए । ‘पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाइरहेको छु । देशलाई प्रतिनिधितव गर्न पाउनु निकै गर्वको कुरा हो । यो एउटा सपना थियो जुन साकार हुँदैछ ।’

एशियाका ३७ देशका खेलाडी सहभागी हुने यो प्रतियोगितामा उनले कुनै पदकको लक्ष्य राखेका छैनन् । तर उनी २५ वर्षअघि बनेको राष्ट्रिय रेकर्ड तोड्न चाहेको बताउँछन् । ‘नेपाल जापान चीन जस्ता देशहरुको अगाडि त कमजोर नै छ ।

तर मेरो लक्ष्य भनेको १०० मिटरमा १०.७१ सेकेण्ड तथा २०० मिटरमा २१.९२ मिनेटको इलेक्ट्रोनिक राष्ट्रिय रेकर्ड तोड्नु हो’, प्रतियोगिताकै लागि दशरथ रंगशालामा दैनिक पसिना बगाइरहेका आयुषले भने । यी दुवै रेकर्ड रामकृष्ण चौधरीले सन् १९९८ को आठौं दक्षिण एसियाली खेलकुदमा बनाएका थिए ।

छ वर्षअघिको राष्ट्रिय खेलकुदमा एपीएफबाट प्रतिस्पर्धा गरेका उनी रिले दौडमा स्वर्ण पदक जित्ने टिमको सदस्य थिए । ‘आजको दिनसम्म मैले जितेको सबैभन्दा ठूलो उपलब्धी नै यहि हो’, उनले भने ।

नवौं राष्ट्रिय खेलकुदमा १०० मिटर दौडतर्फ चौथो भएका थिए भने चोटका कारण २०० मिटरमा भाग लिन सकेनन् । ‘१०० मिटरमा चौथो भएँ तर २०० मिटरमा मेरो ह्यामस्ट्रिङको समस्याले गर्दा पूरा गर्न सकिन’, आयुषले भने ।

सानैबाट खेलकुद प्रेमी ६ फिट अग्ला उनको विद्यालयस्तरमा पनि दौडदेखि अन्य खेलकुदमा लगाव थियो । उनले सन् २०१२ मा विद्यालयस्तरबाट राष्ट्रपति रनिङ शिल्ड खेलेका थिए । बूढानीलकण्ठ विद्यालयमा पढेका उनी त्यतिबेला पहिलो पटक दशरथ रंगशालामा कुद्न पाउँदा निकै खुसी भएका थिए । उनी पहिलो पटक २०० मिटर र ४०० मिटरका लागि उक्त प्रतियोगिताका लागि छनोट भएका थिए ।

त्यसपछि भएका प्रतियोगिताहरुमा राम्रो गर्न थालेपछि उनलाई विभागीय टिमहरुबाट प्रस्तावहरु आए । सोही प्रस्तावहरुले उनलाई खेलकुदमा लागिरहन प्रेरणा पनि मिल्यो ।

वित्तीय विश्लेषक पेशा अँगालेका उनी खेलकुदलाई पनि समय मिलाउँछन् । विभागीय टिम एपीएफसँग आवद्ध भएका उनी भन्छन्, ‘खासै ठूलो कुरा होइन रहेछ । एथ्लेटिक्सको अभ्यास प्रायः बिहानमा हुन्छ, सकेर अफिस जान सकिन्छ ।

मलाई खेलकुदमा रहेको लगावका कारण पनि मलाई यो दुवै कुरा मिलाउन गाह्रो भएन । इच्छा भए पछि सकिँदो रहेछ’, कुँवरले व्यस्तता र खेलकुदलाई राम्रो सँग मिलाएर लगिरहेको बताए ।

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा उनीसँगै शिवराज पार्की, सोमबहादुर कुमाल, मुकेश पाल, दीपक अधिकारी, फुलमति राना र राजपूरा पछाई पनि सहभागी हुने छन् ।

उनीहरुसँगै उनले राष्ट्रिय प्रशिक्षकहरुको निगरानीमा तयारी गरिरहेका छन् ।

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई शिवम् सिमेन्टले प्रायोजन गरेको छ । एथेलेटिक्समा एक्सपोजरको कमी रहेको र प्रायोजक पनि नपाइरहेको स्थितिमा यसपटक पाएको सहयोगले हौसला बढेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?