+

अमेरिकी खेलाडी मिलिन्द कुमार काठमान्डु गोर्खाजमा अनुबन्धित

२०८२ कात्तिक  १३ गते १५:३२ २०८२ कात्तिक १३ गते १५:३२
अमेरिकी खेलाडी मिलिन्द कुमार काठमान्डु गोर्खाजमा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजन नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन्।
  • काठमान्डु गोर्खाजले मिलिन्दलाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ र यसअघि दक्षिण अफ्रिकी र नामिबियाका खेलाडीलाई भित्राएको छ।
  • मिलिन्दले हालसम्म विश्वकप लिग २ मा २० खेलमा ८२३ रन बनाएका छन् र सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा छन्।

१३ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेटका लागि काठमान्डु गोर्खाजमा अनुबन्धित भएका छन् । काठमान्डु गोर्खाजले तेस्रो विदेशी खेलाडीको रुपमा ३४ वर्षे मिलिन्दलाई अनुबन्ध गरेको हो ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस र नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई भित्राइसकेको छ ।

मिलिन्द उत्कृष्ट लयमा रहेका छन् । दुबईमा भइरहेको नेपाल सम्मिलित विश्वकप लिग २ मा उनले नेपालविरुद्ध ५० बलमा ७० र यूएईविरुद्ध ८१ बलमा ७१ रन बनाएका थिए । ‘मिलिन्दले अमेरिकी टोलीका लागि ठुलो सफलताका साथ आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्, उनले ब्याटिङमा एकरुपता र संयमता देखाएका छन्,’ काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले भने, ‘फरक परिस्थिति र दबाबमा पनि खेल्न सक्ने उनको क्षमता उत्कृष्ट छ । उनलाई काठमान्डु गोर्खाज परिवारको हिस्साको रुपमा पाउदा हामी निकै उत्साहित छौं ।’

दिल्लीबाट उनले २०११ मा रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए । २०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

२०२१ मा उनी माइनल लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् ।

नेदरल्यान्ड्सको द हेगमा क्यानडाविरुद्ध खेल्दै उनले अमेरिकाबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए । २०२५ को सेप्टेम्बरमा मिलिन्दले नामिबियाको विन्डहकमा नामिबियाविरुद्ध अविजित ७४ र यूएईविरुद्ध अविजित १५५ रन बनाएका थिए ।

यसै वर्षको मेमा उनले क्यानडाविरुद्ध अविजित ११५ र ओमानविरुद्ध ६८ रनको इनिङ्स खेलेका थिए, जसको कारण उनी आईसीसीको महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका थिए ।

हाल चलिरहेको विश्वपक लिग २ मा उनी सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा तेस्रो स्थानमा छन् । उनले २० खेलमा ५८ माथिको औषत र १०० माथिको स्ट्राइक रेटमा ८२३ रन बनाइसकेका छन्, जसमा २ शतक र ६ अर्धशतक समावेश छ ।

साथै उनको नाममा २७ विकेट पनि रहेको छ । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढि रन बनाएका छन् ।

काठमान्डु गोर्खाज मिलिन्द कुमार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय