+
+

प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण : सरकार गठनमा सभामुखको गणना नहोस्

अनलाइनखबर अनलाइनखबर
२०८० असार २१ गते १६:२३

२१ असार, विराटनगर । नयाँ सरकार गठनको दाबी गर्दा सभामुखको प्रयोग गर्न नहुने भन्दै नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रदेश प्रमुख पर्शुराम खापुङलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहीबार कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धनले सभामुखलाई पनि गणना गरेर सरकारमा दाबी पेश गर्ने तयारी गरेपछि कामचलाउ मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका हुन् ।

सभामुख बाबुराम गौतमलाई पनि बोधार्थ दिइएको ध्यानाकर्षण पत्र बुझाउन मुख्यमन्त्री कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता भक्तिप्रसाद सिटौला सहित एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी लगायतलाई लिएर पुगेका थिए ।

२०७९ साल पुस २४ गते नियुक्त भएका कार्की असार १५ गते पदमुक्त भएका थिए । प्रदेश प्रमुखले असार १७ गते पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका थिए । उनको आह्वान आज ५ बजे सकिंदैछ ।

गठबन्धन दलले सभामुख बाबुराम गौतम समेतलाई गणना गरेर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुखसहित १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन् । कांग्रेस, माओवादी, समाजवादी र जसपाको गठबन्धनमा सभामुखसहित ४७ सांसद छन् ।

सरकार गठनमा गठबन्धनले संविधान विपरीत सभामुखको प्रयोग गर्न खोजेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहेको छ ।

‘मैले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा मत विभाजन हुँदा प्रस्तावको पक्षमा ४६ मत प्राप्त गरेको तथ्य स्पष्ट नै छ । सो संख्याबाहेक माननीय सभामुखलाई गणना नगर्दा नयाँ सरकार गठनका लागि मौजुदा प्रदेशसभा सदस्य संख्याको बहुमत संख्या अर्थात् ४७ नपुग्ने अवस्था देखिएको छ । तर, माननीय सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्नको सम्भावना प्रति हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ’, एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउँदा एमालेले सभामुखले गत पुस २८ गतेको प्रदेशसभा बैठकमा दलको आबद्धता त्यागको घोषणा गरेको विवरण पनि बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?