 
																			२१ असार, काठमाडौं । बाँदरले क्षति पुर्याएको कृषि बालीको क्षतिपूर्ति दिने सरकारको तयारी गरेको छ । यसका लागि वन तथा वातावरण मन्त्रालयले निर्देशिका तयार पारेको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलका अनुसार जंगली जनावरले क्षति पुर्याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको हो । ‘उक्त निर्देशिकामा बाँदरले क्षति पुर्याएको कृषि बालीमा पनि क्षतपूर्ति दिने विषय समावेश छ’ सचिव पौडेलले अनलाइनखबरसँग भने । उक्त निर्देशिका कार्यान्वयनमा भने आइसकेको छैन।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले निरन्तर रुपमा बाँदरले कृषि बालीमा क्षति पुर्याएको विषय उठाउँदै आएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा समेत सांसदहरुले जंगली जनावरले कृषि बालीमा क्षति पुर्याउँदा किसान मारमा पर्दै आएको भनी सरकारको ध्यानाकर्षण गराएका थिए ।
जनावरका लागि जंगलभित्रै फलफूल
बाँदर लगायतका जंगली जनावरका लागि जंगलभित्रै फलफूलको बिरुवा रोप्ने प्रस्ताव सांसदहरुले गरेका छन् ।
वन तथा वातावरणमन्त्री डा. विरेन्द्र प्रसाद महतो, वन तथा वातावरणमन्त्रालयका सचिव डा. रेवती रमण पौडेललगायतको उपस्थितिमा भएको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको छलफलमा भाग लिँदै सांसदहरुले यस्तो प्रस्ताव गरेका हुन् ।
जंगलभित्रै फलफुल उत्पाद हुने वातावरण बनाइदिँदा जंगली जनावरहरुले मानव वस्तीमा पसेर दु:ख नदिने सांसदहरुको विश्वास छ । ‘जंगलभित्रै खाली भएको क्षेत्र हुन सक्छ । त्यहाँ फलफूलको बिरुवा लगाइदिऊँ । यसो गरियो भने बाँदर लगायतका जनावर जंगलमै अलमलिनेछन् । आहारका लागि मानववस्ती छेउ नआउन पनि सक्छन् ‘ समिति सदस्य सूर्यप्रसाद ढकालले भने ।
जंगलभित्रै फलफूलका बिरुवाहरु रोप्न र फलाउन सके बाँदर मात्रै नभएर बँदेल, हात्ती, निलगाईलगायतका अन्य जंगली जनावरहरुले कृषि बालीमा क्षति नपुर्याउन सक्ने विश्वास एमालेकै अर्का सांसद ज्वाला कुमारी शाहलाई विश्वास छ ।

अर्का सांसद अमृतलाल राजवंशीले जंगली जनावरहरुलाई के कस्ता फलफूल मन पर्छ त्यसबारे अध्ययन गरेर जंगलभित्र फलफूलका बिरुवा रोप्ने योजना बनाउन सरकारलाई सुझाव दिए । हात्तीलाई केरा मन पर्ने उल्लेख गर्दै उनले हात्ती भएको क्षेत्रमा केराका बिरुवा रोप्न सकिने बताए ।
अर्का सांसद मानबीर राईले बाँदरको व्यवस्थापन गर्नका लागि वातावरण तयार भए विदेश निर्यात गर्न पनि सकिने बताए । ‘मिल्छ भने बाँदर बिदेश निर्यात गरौं । जति निर्यात गरे नि हुन्छ’ समिति बैठकमा सांसद राईले भनेका छन् ।
जवाफमा जंगली जनावरले क्षति पुर्याएका बालीको क्षतिपूर्ति किसानलाई दिने गरी निर्देशिका तयार भएको बताए । नयाँ निर्देशिकामा कृषि बालीमा बाँदरले क्षति पुर्याए क्षतिपूर्ति दिने विषय समेटिएको सचिव पौडेलले जानकारी दिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4