+
+
गफ स्टेसनमा संगीतकार आशिष अविरल :

‘नेपालमा नयाँ प्रयोग गरिएका गीत चल्न गाह्रो छ’

पहिलेभन्दा नेपाली संगीत खस्किएको पनि उनलाई लाग्छ । ‘अहिले टिकटकमा पाँच सेकेण्डको हुकले तानेन भने त्यो गीतमा लगानी गरेको कम्तीमा पाँच लाख डुब्छ । त्यसैले अहिले श्रोतालाई होल्ड गरिरहन सक्ने गीत ल्याउनुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘सँगै गीतलाई कालजयी बनाउन पनि जरुरी छ । किनकि यस्ता गीतहरु अहिले आउनै छाडे ।’

खेम रिसाल खेम रिसाल
२०८० असार २२ गते १८:२८

काठमाडौं । डेढ दशकअघि नरेन्द्र प्यासीको स्वरमा रहेका दुई गीत ‘तिमीले दिने माया’ र ‘तिमीबिनाको जीवन’ ब्लकबस्टर बने । हुन त ‘बास्ना’ एल्बमा समावेश अरु गीत पनि रुचाइए, तर पनि यी दुई गीतको चर्चा भने व्यापक भयो । यो एल्बमका संगीतकार हुन् आशिष अविरल ।

यसपछि संगीतकार तथा एरेन्जर आशिष नेपाली सांगीतिक क्षेत्रमा स्थापित नै भए । त्यसअघि दोहोरी संगीतबाट करिअर थालेका उनले आफ्नो रुचिको जनरा सुगम संगीतमा काम गर्न पाए र कहिले पछाडि फर्केर हेर्नुपरेन ।

‘बास्ना’ एल्बममा आइपुग्नु अगाडिको संघर्ष सम्झिंदा भने आशिष आफूलाई कहाली नै लाग्ने बताउँछन् । अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा उनी भन्छन्, ‘म बागलुङको मान्छे । त्यहाँ खासगरी लोक तथा दोहोरी नै बढी चल्थे । काठमाडौं आएर आधुनिक गीत गर्छु भन्दा धेरैले हियाउँथे,’ उनी सुनाउँछन्, ‘गाउँमा हुँदा गिटार, तबला, ढोलक देख्न पाएकै थिइनँ । तैंले पनि संगीत गर्छस् र भनेर यहाँ धेरैले हियाउँथे पनि । फर्केर हेर्दा कहाली नै लाग्छ ।’

अहिले आशिष नेपाली सांगीतिक क्षेत्रको स्थापित संगीतकार भइसकेका छन् । यति मात्रै होइन, उनी अब्बल एरेन्जर र रेकर्डिस्ट पनि हुन् । उनी थोरबहुत गायक पनि हुन् । उनले फिल्म ‘ए मेरो हजुर ३’ मा गाएको ‘परान परान’ गीत निकै लोकप्रिय छ । तर पनि आशिषको खास परिचय संगीतकार र एरेन्जर नै हो ।

कम्पोज गर्नु र एरेन्ज गर्नुमा कुन चाहिं गाह्रो काम हो ? यो प्रश्नमा उनी भन्छन्, ‘गाह्रो दुवै हो तर पनि मूल कुरा लय नै हो । लयले नै बाजागाजाको संयोजन खोज्ने हो । दुवै काममा कतै गएर मिल्ला कि भन्ने चाहिं चुनौती हुन्छ ।’

आशिषले संगीत भरेका एकसे एक गीत हिट छन्  । तिमीले दिने माया र तिमीबिनाको जीवनबाट सुरु भएको हिटको शृंखला माया हो माया, माया लुकीलुकी, नाइँ मलाई थाहा छैन, यो कुरा गोप्य नै राखौंला, म बाँचेकै, परान परान, जिन्दगी नै भन्दिनँ, फूलैफूल दिन्छौ कि, छुनुमुनुसम्म आइपुग्दा पनि उही गतिमा निरन्तर छ ।

सबै गीत हिट भइरहेको व्यक्तिका कुनै गीत ‘असफल’ भइदिंदा अर्थात् युट्युबमा भ्युज कम हुँदा मनमा खेल्ने कुरा चाहिं के हुन्छ ? आशिष भन्छन्, ‘गीत हिट हुने कुरामा देश, काल र परिस्थितिले पनि भूमिका खेल्छ । अहिलेको चाहनाअनुसार गर्न सकियो भने राम्रो हुन्छ । सधैं उही रफ्तारमा सफलता मिल्छ भन्ने हुँदैन । पहिले आफूलाई मन पर्‍यो भने श्रोतालाई पनि मन पर्छ भन्ने लाग्छ । मलाई यो गीत राम्रो हुन्छ भनेर सोचेको प्राय: सफल नै भएका छन् गीत ।’

आशिषलाई संगीतमा नयाँ-नयाँ प्रयोग गर्न मन लागिरहन्छ, कम्पोजदेखि एरेन्जसम्म । तर पनि नेपालमा यस्तो प्रयोग गर्न जोखिमपूर्ण लाग्छ रे उनलाई । नेपालमा फरक संगीत सुन्ने आम श्रोता तयार नै नभएको उनको बुझाइ छ । ‘बच्चालाई स्कुलदेखि नै संगीत र बाजागाजाबारे शिक्षा दिनुपर्छ ।  तिनै बच्चाहरु पछि गएर कलाकार बन्ने हुन् । कलाकार नबने राम्रो श्रोता अवश्य बन्नेछन् । तर नेपालमा यस्तो संस्कार नै विकास हुन सकेन,’ उनी भन्छन्, ‘संगीतकर्मीले गरेका नयाँ नयाँ प्रयोग पनि स्वीकार्न र मूल्यांकन गर्ने श्रोताको कमी छ अझै ।’

उनी एउटा दार्शनिक कुरा सुनाउँछन्, ‘जुन खालको म्युजिक सुनिन्छ, मस्तिष्कको सोच पनि त्यस्तै हुन्छ । विभिन्न बाजागाजाले मस्तिष्कलाई नै चलायमान बनाइदिन्छ । दिमागमा नै बत्ती बालिदिने रहेछ ।’

आशिष मानिस बढी तार्किक बन्दै जाँदा भावनाको पाटो कमजोर हुने बताउँछन् । भावना कमजोर हुँदा सिर्जना पनि कमजोर हुन पुग्ने उनको बुझाइ छ । ‘तर्क अगाडि आउँदा भावना मर्दै जान्छ । आजभोलि बढी तर्क खोज्दा दिमाग बढी चल्छ । शब्द शब्दमा तर्क खोज्दा शृंगार हुँदैन,’ उनी भन्छन् ।

गफ स्टेसनमा आशिषले देशको राजनीतिक परिस्थितिबारे पनि आफ्ना धारणा राखे । अहिलेको सबै राजनीतिक विकृतिमा वर्तमान शासकीय स्वरुपलाई उनी दोषी देख्छन् । ‘देशको समस्याको जडमा हामी जाँदैनौं । राजनीतिक अस्थिरता हुनुमा संसदीय प्रणालीको दोष देख्छु म । बेथितिको कारण नै हाम्रो शासकीय स्वरुप हो भन्ने लाग्छ । त्यसैले यस विषयमा सोच्नुपर्ला राजनीतिक दलहरुले,’ उनको सुझाव छ ।

आशिष अविरल र गायक नरेन्द्र प्यासीको सहकार्य गज्जबकै छ । तर पछिल्लो समय भने निकै पातलिएको देखिन्छ सहकार्य । नरेन्द्र विदेशमा बस्ने भएकाले सहकार्य पातलिएको आशिष बताउँछन् । ‘दाइ (नरेन्द्र प्यासी) अमेरिकामा बस्नुहुन्छ । त्यसैले काम कम भएको हो । अब पुराना गीतको रिमेकसहित केही नयाँ गीत पनि ल्याउने तयारीमा छौं,’ उनी भन्छन् ।

अहिले नेपाली श्रोता-दर्शकले फरक स्वादका सांगीतिक कोसेली खोजिरहेको आशिषले ठम्याएका छन् । पहिलेभन्दा नेपाली संगीत खस्किएको पनि उनलाई लाग्छ । ‘अहिले टिकटकमा पाँच सेकेण्डको हुकले तानेन भने त्यो गीतमा लगानी गरेको कम्तीमा पाँच लाख डुब्छ । त्यसैले अहिले श्रोतालाई होल्ड गरिरहन सक्ने गीत ल्याउनुपर्ने अवस्था छ,’ उनी भन्छन्, ‘सँगै गीतलाई कालजयी बनाउन पनि जरुरी छ । किनकि यस्ता गीतहरु अहिले आउनै छाडे ।’

गफ स्टेसनको बिट मार्नेबेला उनले आफ्नो योजनाबारे भने, ‘पञ्चेबाजामा आधारित एउटा ब्याण्ड खोल्ने योजना छ । सरकारी तवरबाट साथ भए यसले चाँडै साकार रुप पाउँथ्यो ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?