+
+
ब्लग :

२०८४ सम्म कसरी थेग्रिएला राजनीति ?

सिक्किमको लेण्डुप दोर्जेदेखि युक्रेनका जेलेन्स्कीसम्म अरु देशहरूले पनि भोगिसकेका छन् । रूपमा भयंकर राष्ट्रवादी र अन्तर्यमा परिचालित पात्रहरू हामीले नेपाली राजनीतिमा नभोगेका होइनौं ।

राजु थापा राजु थापा
२०८० असार २४ गते १५:५५

राजनीति मूलतः विचार, सिद्धान्त र भू-राजनीतिक हावाले प्रभावित हुन्छ । विगतमा छिमेकी देशहरू भारत र चीनमा भएका राजनीतिक परिवर्तनको असरस्वरूप नेपालमा पनि प्रजातान्त्रिक र साम्यवादी शक्ति उदय भएको तथ्य नेपालको सन्दर्भमा सबैलाई ज्ञान भएको कुरा हो ।

राज्य व्यवस्था संचालनको क्रममा जनताको भोगाइ एवं वरिपरिको राजनीतिक वातावरणका आधारमा जनताको आबद्धता प्रभावित र निर्धारित भएको पनि उत्तिकै सत्य हो । त्यो विरासत आजसम्म पनि कुनै न कुनै रूपमा कायम छ । दुवै शक्तिहरूको विभिन्न उप-ग्रहहरू पनि बनेका छन् । त्यो पुनरुत्थानवादीदेखि वैकल्पिक भनिएका दल समूहसम्म देख्न–बुझ्न कठिन छैन ।

दरबार हत्याकाण्डसम्म आइपुग्दा नेपालको राजतन्त्रको अन्त्य पनि यही अन्तरविरोधका कारण हुन पुगेको हो । यता वैकल्पिक भनेर बनेका र बन्दै गरेका शक्तिहरूमा पनि अन्तर्यमा हुने विवाद, बहस अन्ततः यहीं आएर जोडिएको छ । पूँजीवाद र साम्यवादको विकल्प समाजवाद हो भनिएको छ । विभिन्न उपसर्ग र प्रत्यय जोडेर समाजवाद भनेर लेख्नेहरूको, विकल्प देख्नेहरूको समेत आन्तरिक बहस चल्दै जाँदा लेफ्ट सेन्टर कि राइट सेन्टर मध्ये कुन मान्ने भन्नेमा पुग्छन् ।

आफ्नै आत्मालाई नढाँटिकन भन्ने हिम्मत राख्ने हो भने वैकल्पिक भन्नेहरूको पुरानै विरासत झल्काउने गरेको थुप्रै उदाहरण छन् । अहिले भएको यो बहस यसरी नै भावी दिनहरूमा हुने निश्चित छ । एउटै भनिएका पार्टीहरूमा यही अन्तरविरोध कहिल्यै निख्रिने देखिंदैन !

२०८४ सम्म दुई वा तीन शक्ति

साम्यवादी र पूँजीवादी दुई धार स्वाभाविक रूपमा ध्रुवीकृत हुने नै छन् । तेस्रो ध्रुव भन्ने भौतिक विज्ञानले मान्दैन तथापि समाज विज्ञान निरपेक्ष भौतिक विज्ञान भन्दा फरक ढंगले चल्न खोज्छ । राजनीतिक शक्ति समाजको प्रतिनिधित्व गरेर बन्ने हो । मानव समाज वस्तुगत र आत्मगत अन्तरविरोधका कारणले बहुध्रुवीय बन्न पुग्छ ।

त्यसभित्र भोगाइ, अपेक्षा, स्वार्थ, आवश्यकता आदि तत्वहरू प्रभावी बन्छन् । समग्र राजनीतिक वातावरण दुई ध्रुवतर्फ वेगसाथ अघि बढ्यो भने तेस्रो भन्ने अस्तित्व नरहन पनि सक्छ यद्यपि त्यो वेगमा उल्झनहरू आए भने त्यसैको बाइप्रोडक्ट देखा पर्न सक्छन् ।

त्यसो भयो भने राजतन्त्रको अस्तित्व सेरेमोनियल, बेबी वा सांस्कृतिक उपमा जोडेर भए पनि राख्नुपर्छ भन्ने अर्को शक्ति रहन सक्छ । अझ क्षेत्रीय रूपमा प्रतिनिधित्व गर्ने र कुनै मनोवैज्ञानिक आधारमा केही अस्तित्व खोज्ने कुनै शक्ति झिनो उपस्थिति देखाउन पनि सक्छन् ।

केही समय पहिले समाजवादी मोर्चा बनाएर बृहत् ध्रुवीकरणको संकेत साम्यवादी खेमाबाट भइसकेको छ । त्यसको थप बहस नेकपा पुन:स्थापना आदि तर्फ पाइला बढाइरहेको देख्न सकिन्छ ।

अर्कोतिर नेपाली कांग्रेसमा पुरानो पुस्तालाई अक्षम ठान्दै नवोदित राष्ट्रिय स्वतन्त्र पार्टीमा हाम्फाल्दै गरेका दृश्यले रास्वपालाई कुन ध्रुवतिर तान्ने भन्ने शक्ति त्यहाँ प्रदर्शन गर्न खोजेको देखिन्छ । बहसको क्रम कांग्रेसको नयाँ पुस्ता भनिएका गगन, विश्वप्रकाशहरू रास्वपामा पुग्ने कि स्वर्णिम वाग्लेहरू कांग्रेस फर्कने ? सम्म पुगेको पनि अवस्था छ । यसले पनि ध्रुवीकरणकै सांकेतिक सुरूवात गर्दछ ।

मूल रूपमा दुई र सहायक रूपमा बहुध्रुव बन्ने यो पूर्व संकेत हो । २०७९ को निर्वाचन परिणामको संकेत दलहरू सच्याउन खबरदारी भने चर्को स्वरसहित आएकै छ । यो ध्रुवीकरणका लागि दलहरूभित्रको रुपान्तरण भने अनिवार्य शर्त बन्ने छ ।

परम्परागत रूपमा नै भ्रष्टाचार, दम्भ, गुट, उपगुट र थिचोमिचो प्रथा रहने, नेतृत्व पंक्ति यथास्थितिमै रहने, आलोचनात्मक चेत सहितका कार्यकर्ता पंक्ति पाखा पारिने, सिद्धान्त र जनतामा सेवाप्रवाह उस्तै रहने अवस्थामा असन्तुष्टहरूको अर्को ध्रुव शक्तिशाली बनेर उदाउन पनि सक्छ । तर त्यो स्थायी भने रहँदैन किनभने नयाँ बनाउने आवश्यकता बोध सहित भन्दा पनि असन्तुष्टहरूको पंक्ति हावी हुनेछ । यो सत्य नकार्न सकिन्न ।

नयाँ भनिएकाहरूको सामाजिक संजालहरू विगतका साइबर सेना, साइबर फोर्स आदिहरूको कब्जामा पुगिसकेको छ । संभवत: यति धेरै निकृष्ट भाषामा अरुलाई गालीगलौज र लाञ्छना लगाउने काम जति अहिले भइरहेको छ, इतिहासमा कसैले त्यसो गरेन, गर्न सकेन । जर्मनीमा हिटलरको पालामा गोयबल्स शैलीकै झल्को मेटाउन उद्यत भने देखिएका छन् । यसले दिने परिणाम सकारात्मक हुन कदापि सक्दैन ।

 मुलुकको आवश्यकता

विश्व मानव समाज र देशहरू राजनीतिक र धार्मिक आस्थाका आधारमा संचालन भएका छन् । प्रजातान्त्रिक र साम्यवादी दुई सिद्धान्त समग्रमा बहुसंख्यक देशहरूमा छ । केही देशहरूले धार्मिक आस्थाको आधारमा शासन व्यवस्था सञ्चालन गरेका छन् भने न्यून संख्यामा रहेका देशहरूमा पारिवारिक विरासत, वंश आदिको आधारमा संचालित छन् ।

हाम्रो जस्तो भू-राजनीतिक चासो जोडिएको र आफैंमा विकासोन्मुख देशमा चाहिने शक्तिहरू कस्तो हुन सक्छ ? यो विषयले बहसको माग गर्छ । वंशको र धार्मिक आधारमा चलाउन खोज्नु आजको युगमा मूर्खता र लज्जाको विषय बन्छ । आधारभूत रूपमा लोकतान्त्रिक मूल्यमान्यतामा रहेर नै शक्ति निर्माण गर्न जरुरी हुन्छ ।

यो बहसले दुई ठूला छिमेकी र शक्तिशाली देशहरूको स्वार्थ केन्द्रित विगतका राजाहरूदेखि दलहरूसम्मको जस्तै प्रयोगलाई निस्तेज पार्ने विकल्प खोजी भने गर्नै पर्दछ । सिक्किमको लेण्डुप दोर्जेदेखि युक्रेनका जेलेन्स्कीसम्म अरु देशहरूले पनि भोगिसकेका छन् । रूपमा भयंकर राष्ट्रवादी र अन्तर्यमा परिचालित पात्रहरू हामीले नेपाली राजनीतिमा नभोगेका होइनौं ।

अब विगतको शिक्षा सहित राजनीतिकै पुनःनिर्माण आवश्यक छ । पुन:निर्माण गर्दा पुरानो संरचनाको कुनै सामग्री प्रयोग नगर्ने भन्ने हुँदैन । काम नलाग्ने सडेगलेका अनुचित सामग्री हटाएर नयाँ डिजाइन सहित नै बनाउन आवश्यक छ । पुरानो तरिकाले देश खोक्रो पार्ने, अकुत कुम्ल्याउने, सास्ती, झमेला, अन्याय, अत्याचार, सामाजिक विभेद, क्षेत्रीय उत्पीडन, नातावाद, परिवारवाद, झुण्ड, गुट आदि समस्या पूर्णतः हटाउनुपर्छ ।

अनुत्पादक देशभित्रकै शक्ति कामकाजी बनाएर उत्पादनमा जोड्नुपर्छ । बाहिर पुगेको श्रमशक्ति स्वदेशमा नै अट्न सक्ने योजना बनाउनुपर्छ । देशका प्राकृतिक साधन स्रोतहरूको अनुचित सम्झौता गर्नुहुँदैन । दीर्घकालीन सोच सहित पर्यावरणमैत्री विकासका गतिविधिमा तीव्रता दिने आदि कुराले देश समृद्ध बन्न सक्छ ।

जनताको अधिकार सुनिश्चित हुने गरी व्यवस्था चलाउने संकल्प सहित त्यो आफैँभित्रबाट नै सुरूवात गर्न सक्ने शक्ति आवश्यक छ । बहकिएर होइन सुझबुझ, सचेततापूर्वक यस्तो शक्ति बनाउनु अनिवार्य भएको छ ।

परम्परागत दलहरूको माया वा विरासत बचाएर परिवर्तन गर्न सकिंदैन । यस्तो शक्ति निर्माण गर्न पनि संभव बन्नुपर्छ २०८४ सम्म, जसले संसारमा नेपाल एउटा समृद्ध देश भनेर चिनाउन सकोस् । अहिलेका मानव समुदायले पाइरहेका सेवासुविधा र अधिकार दिन सक्षम होस् । २०८४ हालसम्मको निरन्तरता होइन, क्रमभंग बनेर आउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?