+
+

साउने सोमबारको व्रत भोलिदेखि गरिंदै, पशुपतिनाथमा तयारी पूरा

रासस रासस
२०८० असार २४ गते १८:१८

२४ असार, काठमाडौं। चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ ।

यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चन्द्रमास अनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ ।

समितिका सदस्य एवं धर्मशास्त्रका ज्ञाता प्रा. डा. देवमणि भट्टराई गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबारमा व्रत लिनुपर्ने निर्णय सिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

धर्मशास्त्रका विज्ञबीच यस वर्षको अधिकमासको साउनमा परेको सोमबार व्रत गर्ने कि नगर्ने भन्नेमा मतान्तर देखिएको छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा रहेको समितिका पूर्वअध्यक्ष समेत रहनुभएका धर्मशास्त्रका ज्ञाता प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास अनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ । साउने सोमबारका लागि सबै तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।  साउनको शनिबार र सोमबार पशुपतिनाथ मन्दिरमा हजारौं भक्तजनको भीड लाग्ने गर्छ ।

चान्द्रमास अनुसारको पहिलो शनिबार पनि पशुपतिनाथको दर्शनमा लाखभन्दा बढी नै भक्तजन आएको कोष संस्कृति संरक्षण महाशाखाका निमित्त निर्देशक गौरीशङ्कर पराजुलीले बताए ।

साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पनि कार्यकारी निर्देशक खतिवडाले बताए ।

चान्द्रमास अनुसार साउन महिना लागेदेखि नै विशेषगरी भारतीय मूलका भक्तजनको भीड लागेको जनाइएको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?