+
+

‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १३:३२

काठमाडौं । ‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिजका प्रतिनिधिबीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतापछि टुकी आर्ट्सले प्रेस वक्तव्य जारी गर्दै ‘भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठूलो हुने जनाएको छ । ‘यो कुराले समग्र नेपाली फिल्म उद्योगलाई नै माथि उठाउन राम्रो भूमिका खेल्ने कुरामा दुईमत छैन,’ वक्तव्यमा उल्लेख छ ।

सम्झौताअनुसार सेभेन सिजले अमेरिकी चेनहरु रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहित केही स्वतन्त्र सिनेमा घरमा प्रदर्शन हुने जनाएको छ । अमेरिकामा मात्र १२ सय शो हुने उल्लेख छ । क्यानडामा १५० शो हुने जनाइएको छ ।

अष्ट्रेलियामा इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५०० शोसहित फिल्म प्रदर्शन गर्ने जनाइएको छ । मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० शो गर्ने तयारी भएको उल्लेख छ ।

मध्यपूर्वको निप फिल्म्स, अष्ट्रेलियाको जानवी इन्टरटेनमेन्ट र अमेरिकाको नेपाल एलेभन इन्टरटेनमेन्ट मिलेर सेभेन सिज कम्पनी स्थापना गरेका हुन् । कम्पनीले अबदेखि नेपाली फिल्मलाई विश्वव्यापी प्रदर्शन गर्नेदेखि नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा भूमिका खेल्ने लक्ष्य लिएको सेभेन सिजका रमेश ढकालले जानकारी गराए ।

लामो समयदेखि मध्यपूर्वमा फिल्म वितरण गर्दै आएका ढकालले सेभेन सिजनले विश्वव्यापी वितरणमा ८० प्रतिशत हिस्सा ओगट्ने बताए । कम्पनीकै अर्का प्रतिनिधि विनोद पौडेलले पनि लामो समयदेखि अष्ट्रेलियामा नेपाली फिल्मको रिलिज गर्दै आइरहेका छन् । सेभेन सिजले अष्ट्रेलियालाई नेपाली फिल्मको वृहत बजार बनाउन प्रयत्न गर्ने पौडेलले बताए ।

यसबाहेक ‘भष्मे डन’लाई जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमामा १०० शोसहित प्रदर्शनको तयारी भइरहेको जनाइएको छ । साथै भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा दशैंको फूलपातीको दिनमा फिल्म रिलिज गर्ने जनाइएको छ ।

‘पशुपतिप्रसाद २ : भष्मे डन’लाई दीपेन्द्र के खनालले निर्देशन र खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् । फिल्ममा विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?