+
+

राष्ट्रिय टिममा एक वर्षपछि किशोर

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते ६:५३

२६ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य किशोर महतो मैदानमा परिपक्क बन्दै छन् । धेरै बोल्न नरुचाउने उनी मैदानमा आफ्नो बलबाटै धेरै कुरा देखाउँछन् । जब अवसर पाउँछन्, तब उनी आफ्नो शक्ति देखाउँछन् । अहिलेसम्म नेपालका लागि दुई वटा मात्र ओडीआई खेलेका उनी प्रशिक्षकमा मोन्टी देसाई आएपछि राष्ट्रिय टिमसँगै छन् ।

नेपालले जिम्बाब्वे जानुअघि दक्षिण अफ्रिकामा अन्तिम तयारीका लागि १६ सदस्यीय टोली घोषणा गर्दा टिममा रहे पनि किशोर जिम्बाब्वेमा विश्वकप छनोट खेल्ने १५ सदस्यीय सूचीमा भने अटाएनन् । त्यसपछि उनी ट्राभल रिजर्भको रुपमा रहे ।

तर मुख्य बलर सोमपाल कामी घाइते भएपछि मात्रै किशोरको टिममा इन्ट्री भयो । नेपालले समूह चरणका चारै खेल खेलिसकेपछि मात्रै आईसीसीको प्राविधिक समितिले सोमपालको स्थानमा किशोरलाई टिममा राख्न अनुमति दिएको थियो । जसले गर्दा किशोरले प्लेअफको अन्तिम दुई खेल मात्र खेल्न पाउने थिए । तर यूएईविरुद्ध सातौं स्थानको प्लेअफ सेमिफाइनलमा उनले अवसर पाएनन् । यूएईलाई हराएपछि आयरल्याण्डविरुद्धको सातौं स्थानको प्ले अफ फाइनलमा भने उनी टिममा पहिलो रोजाइमा परे ।

यो खेल उनको एक वर्ष पछिको हो । २२ जुलाई २०२२ मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत उनले स्कटल्याण्ड विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका थिए । त्यसपछि उनले दोस्रो खेल आयरल्याण्ड विरुद्ध खेले । ‘एक वर्ष खेल्न नपाए पनि डिमोटिभ थिइनँ, आफ्नो पालो आउनेमा विश्वास थियो,’ १३ जुलाईदेखि हुने इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न श्रीलंका जानुअघि किशोरले अनलाइनखबरसँग भने, ‘टिमसँग नै थिएँ, खेल्न नपाए पनि । भित्र रहेर सबै कुराहरु हेरिरहेको थिएँ ।’

आयरल्याण्डविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दा उनी १ रनमा अविजित रहे । बलिङमा उनले करण केसीसँग नयाँ बल लिएर आए, जहाँ उनले पूरै १० ओभर कोटा बलिङ गर्दै ५५ रन खर्चेर २ विकेट लिए ।

किशोरले नेपालका लागि पहिलो खेल भने जिम्बाब्वे ‘ए’ टोलीविरुद्ध खेलेका थिए । गत वर्ष मेमा जिम्बाब्वेको ए टोली नेपाल भ्रमण आउँदा उनले नेपालका लागि ५० ओभरको पहिलो खेल खेले । तर जिम्बाब्वे ए टोली भएकाले त्यो खेलले अफिसियल ओडीआईको मान्यता पाउँदैन । त्यस खेलमा उनले ७ ओभरमा एक मेडन राख्दै ४३ रन खर्चेर ५ विकेट लिएका थिए ।

‘श्रीलंका गएर त्यहाँको क्रिकेट बुझन् अनि त्यसै अनुसार प्रदर्शन गर्ने योजना छ । अहिले त्योभन्दा बढी सोचेको छैन,’ किशोर महतोले भने ।

त्यसपछि लगत्तै लिग टु मा अवसर पाउँदै स्कटल्याण्डविरुद्ध डेब्यु गरेपछि किशोर फास्ट बलिङमा विकल्पका रुपमा देखिएका थिए । उनको स्वीङ र लेगकटरमा राम्रो छ ।

नेपालले जिम्बाब्वेमा तीन टेष्ट राष्ट्रसँग खेल्दा किशोरले एक राष्ट्रसँग खेल्न पाएनन्, जुन नेपाल र उनको लागि पनि अनुभव बटुल्ने अवसर बन्यो । त्यो अनुभव अब श्रीलंकामा प्रयोग गर्ने उनी बताउँछन् । जिम्बाब्वे भ्रमण अनुभवी टिमसँग खेल्ने र राम्रो एक्सपोजर बटुल्ने अवसर नेपाली टिमलाई बनेको थियो । ‘समग्रमा हाम्रो जिम्बाब्वेमा टुर राम्रो भयो । व्यक्तिगत रुपमा पनि राम्रो भयो । टिमले राम्रो खेल्यो, नतिजा नआए पनि सिक्ने अवसर पायौं ।’

देसाईले ल्याएको परिवर्तन

मुख्य प्रशिक्षक मोन्टी देसाईको आगमनपछि नेपाली टिममा धेरै परिवर्तन भएको छ । टिम संरचना, मैदानमा गर्ने प्रदर्शन अनि टिमको माहोल र वातावरणमै धेरै परिवर्तन आएको अनुभव उनले गरेका छन् । ‘मोन्टी सरको आगमनपछि टिममा धेरै कुरा चेन्ज भएको छ । मुख्य कुरा टिमको माहोल चेन्ज भएको छ,’ किशोरले भने, ‘उहाँले धेरै कुराहरु सिकाउनु भएको छ । जसले गर्दा टिममा सुधार आइरहेको छ । व्यक्तिगत रुपमा पनि मलाई पनि सिकाउनु भएको छ । मैले पनि सुधार गर्नुपर्ने कुराहरु छन् ।’

देसाईको हृयाप्पी ड्रेसिङ रुम र वान बल ब्याटल मन्त्रले यसअघि लिग टु र एसीसी प्रिमियर कपमा खुबै काम गरेको थियो र प्रशंसा पनि भयो । पछिल्लो पाँच महिनाको अवधिमा नेपाली क्रिकेट यसअघि भन्दा फरक नै देखियो । यसमा प्रशिक्षक देसाईको सकारात्मक सोचले पनि धेरै काम गरेको छ ।

श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कप पछि नेपालले एसिया कप र एसियन गेम्स पनि खेल्नेछ । तर किशोरले धेरै अगाडि नसोचेको र अबको ध्यान इमर्जिङ कपमा हुने उनले बताए । ‘अब इमर्जिङ टिम्स एसिया कप छ । त्यसका लागि सोचिराखेका छौं,’ उनले थपे, ‘श्रीलंका गएर त्यहाँको क्रिकेट बुझन् अनि त्यसै अनुसार प्रदर्शन गर्ने योजना छ । अहिले त्योभन्दा बढी सोचेको छैन ।’

आफूसँगैको खेलाडीहरु राष्ट्रिय टिममा खेलिरहँदा किशोर उपयुक्त समयको लागि पर्खिरहेका हुन्छन् । अहिले फास्ट बलरमा सोमपाल कामी र करण केसी मुख्य बलरको रुपमा छन् । यस्तै मोन्टी देसाईको आगमनपछि गुल्शन झाले पनि नियमित जस्तो अवसर पाइरहेका छन् । युवा बलर प्रतिश जिसीले राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?