+
+
ब्लग :

जीपीएमा होइन, जिन्दगीमा सफलता खोजौं

जीपीएको भूतमा नबहकिनुहोस्, जिन्दगीमा सफल हुन सिकाउनुहोस् । आज धेरै जीपीए ल्याएको छोराछोरी भोलि त्यति नै ल्याउँछन् भन्ने के ग्यारेन्टी छ ? अंकमा होइन, अभावमा पनि बाँच्न सिकाउनुहोस् । जीपीएमा होइन, जिन्दगीमा सफल हुन सिकाउनुहोस् ।

यमुना अर्याल यमुना अर्याल
२०८० असार २६ गते १०:२२

एकजना आफन्तलाई एसईईको नतिजा आएको थाहा पाउनासाथ फोन गरें, ‘छोरीको रिजल्ट के भयो ? कति जीपीए ल्याइछन् नानीले ?’

साहित्यमा निकै रुचि राख्छिन् नानीले, बेलाबेलामा कविता पनि लेख्छिन् । मिहिनेती, इमानदार स्वभावकी नानीको पढाइप्रति निरन्तरको लगाव देख्थें, पक्कै राम्रो नतिजा ल्याइन् भन्नेमा संशय थिएन ।

मेरो कौतूहलमा ती आफन्त खासै खुशी देखिइनन् ।

‘खै के भन्नु र ? ल्याउन त ल्याई तर उसले जति सोचेकी थिई त्यस्तो भएन … । हेर्नु न … जम्मा ३.६५ जीपीए मात्रै आएछ ।’
यो जीपीएलाई प्रतिशतमा परिणत गर्दा झन्डै ८९ प्रतिशत हुने रहेछ । तर पनि यी आफन्त खुशी देखिइनन् ।

‘सोच त सबैको शतप्रतिशत नै हासिल गर्न सकौं भन्ने हुन्छ नि, … यत्रो नम्बर ल्याउँदा पनि किन बेखुशी ?’ आमा मार्फत नानीलाई बधाई भनिदिएँ ।

‘खै एकपटक नानीलाई फोन दिनु न उसैलाई बधाई दिन्छु’ मेरो कुरा सुनेर ती आफन्त एकैछिन बोलिनन् ।

नानीको मनमा के छ थाहा छैन तर आमाको मनमा फिटिक्कै चैन रहेनछ भन्ने कुरा थाहा पाइहालें ।

‘हेर्नु न सोचेजति नम्बर नआएपछि, एकोहोरो रोएर बसेकी छ, कोही कसैसँग बोलेकी छैन । कति दुःखी भएकी छ, बोल्दिन रे…पछि कुरा गर्छु भनी … ।’

‘ठिकै छ’ भनेर फोन राखें । अबको पाँच वर्षपछि मेरो छोराको पनि एसईई दिने बेला आउँछ, त्यो बेलाको तस्बिर दिमागमा फनफनी घुम्न थाल्यो । हामीले कस्तो कुरा रटाएका छौं बच्चालाई ? साँच्चै त्यो नानीले सोचेको जीपीए कति हो ? उसको सोच अनुसारको जीपीए के कारणले आएन ? किन ऊ यत्रो नम्बर ल्याउँदा पनि खुशी हुन सकिनँ ?

उसलाई किन योभन्दा बढी जीपीएको अपेक्षा भयो ? कति जीपीए आएको भए ऊ खुशी हुन्थी होला ? यो कुरा न आमाले सोचिन् र न त्यो छोरीलाई बुझाउन खोजियो । बस् जीपीएमा रनभुल्ल भइरहेको छ सफलताको माहोल ।

हामी आफू जे हुन सकेनौं, त्यो आफ्ना बच्चालाई बनाउन चाहन्छौं । हामी जे गर्न असमर्थ भयौं त्यो कुरा छोराछोरीबाट पूरा होस् भन्ने चाहन्छौं ।

अपेक्षा राख्नुपर्छ तर कुन हदसम्म … ? आशा गर्नुपर्छ तर, कुन लेबलसम्म ? छोरी बेखुशी हुँदा आमाले सम्झाउनु पर्दैन ? बुवाआमा नै योभन्दा कम आयो भने … ?

कम्तीमा यति ल्याउनुपर्छ नत्र ?

यति धेरै प्रश्नका तीरहरू तेर्सिएका हुन्छन् नि, ती प्रश्नको जवाफ बच्चाले जे गर्दा, जसो गर्दा पनि दिन सक्दैनन् । बा-आमाको हुकुमी शासनका पर्याय धेरै देखिन्छन् ।

ती आफन्त आफूले तीनपटक जाँच दिएर आई.ए. पास गरेकी हुन् । ब्याक पेपर दिंदै आफूले परीक्षा पास गरेको उनलाई हेक्का छैन । जब आफूलाई ३५ नम्बर ल्याउन नसकेर तीनपटक एउटै विषयको परीक्षा दिनुपरेको थियो । उनकी छोरीले एकैपटकमा ९० नम्बर हाराहारीमा ल्याउँदा पनि खुशी हुन नसक्ने कस्तो मनस्थिति सृजना गरेका छौं हामीले ? ती १५ वर्षकी छोरीलाई के नै बढी थाहा होला र ?

सबै धेरै नम्बर ल्याउनेहरू सफल हुँदैनन् । बच्चाहरूलाई सधैं जित्न होइन, हार्न पनि सिकाउनुपर्छ । हार्नु कमजोर हुनु होइन, थप मजबुत हुनु हो भन्ने ज्ञान दिऊँ । नम्बर भन्दा ठूलो जिन्दगी हो, यो कुरा बुझौं

उनीहरूलाई बुवाआमा, आफन्त जसले जे भनेका छन्, जस्तो सिकाएका छन्, त्यस्तै प्रभाव पर्ने होइन र ? छोरीलाई बधाई दिने, आएको नम्बरमा खुुशी दिलाउने काम त अभिभावकको हो नि तर उसको यति आएछ, फलानाको पनि यति आएछ, तेरो किन यति कम नम्बर ? यस्ता प्रश्न सोध्न थालेपछि बच्चाको दिमागमा कस्तो प्रभाव पर्छ ? अंकको हाउगुजी कति डरलाग्दो ?

यो एउटा प्रतिनिधि घटना मात्रै हो, हामी आफ्ना छोराछोरीलाई यति धेरै दबाब दिन्छौं कि त्यो दबाबको बोझ कति हदसम्म बच्चाले थेग्न सक्लान् ? त्यो हेक्का राख्न सक्दैनौं ।

एकदिन मेरो एकजना सहकर्मीले सुनाएकी थिइन्, ‘छोराले कम नम्बर ल्यायो भनेर पटक-पटक गाली गरेको त एकदिन उल्टै मलाई, मम्मी तपाईंको सर्टिफिकेट देखाउनुस् त कति नम्बर ल्याउनुभएको रहेछ’ भनेर प्रतिप्रश्न गर्‍यो । त्यो दिनदेखि अझ राम्रो गर, गर्नुपर्छ भनें तर कहिल्यै पनि थोरै नम्बर ल्याइस् भनेर कराउने काम गरिनँ ।’

आफ्नो नम्बर देखाऊँ भने सबैमा ‘गान्धी डिभिजन’ छ । छोराले असी, पचासी ल्याउँदा पनि कम ल्याइस् भन्दै कराउने म कुन नैतिकताले गाली गरौं ? त्यसपछि उसलाई हौसला दिएँ, अझ राम्रो गर भनें ऊ साँच्चिकै राम्रो हुँदै गयो । दबाबले बच्चामा ईष्र्या पनि जगाउने रहेछ भन्ने बुझाइ ती सहकर्मीको थियो ।

यो मात्रै होइन सामाजिक सञ्जालमा आफ्ना छोराछोरीहरूको ए प्लस नआएको भन्दै ग्वाँ-ग्वाँ रोएका भिडियोहरू अपलोड गरेर बा-आमाले लाइक कमेन्टको ओइरो पाइरहेका दृश्यहरू छ्याप्छ्याप्ती देखिन्छन् ।

जीपीएको भूतमा नबहकिनुहोस्, जिन्दगीमा सफल हुन सिकाउनुहोस् । आज धेरै जीपीए ल्याएको छोराछोरी भोलि त्यति नै ल्याउँछन् भन्ने के ग्यारेन्टी छ ? अंकमा होइन, अभावमा पनि बाँच्न सिकाउनुहोस् । जीपीएमा होइन, जिन्दगीमा सफल हुन सिकाउनुहोस् ।

नम्बरको कुरा एकातिर, बा-आमाको रुचि अर्कातिर हुन्छ । छोराछोरीको इच्छा एउटा बा-आमाको शिक्षा अर्कैतिर हुन्छ । धेरै नम्बर ल्याउनासाथ डाक्टर, इन्जिनियरतिरै बा-आमाको दृष्टि पुग्छ भलै छोराछोरीलाई एक पटक पनि सोध्ने गरिंदैन ।

अरूलाई देखाउन, अर्काको सामु नाक राख्न पनि छोराछोरीको चाहना भन्दा बा-आमाको चाहना हाबी हुन पुग्छ । छोराछोरीको मनस्थिति बुझौं, उनीहरूको चाहना बुझौं, कुन विषय पढ्दा उनीहरू खुशी हुनसक्छन् त्यो कुरा बुझौं ।

जबर्जस्ती मामाका, फुपूका, बडाबाका छोराछोरीको दाँजोमा जबर्जस्ती आफ्ना छोराछोरीलाई मिसाउने काम नगरौं ।

तीन वर्ष पहिलेको कुरा अहिले पनि मानसपटलमा घुमिरहन्छ । एक आफन्तको छोराले ८५ प्रतिशत नम्बर ल्याएर फलामे ढोका पार गरे । बा-आमालाई अरूलाई देखाउनुथियो, जबर्जस्ती विज्ञान संकायमा भर्ना गरिदिए । छोराको चाहना वकिल बन्ने थियो । छोरो सानो भए पनि कानुनी कुरा यति धेरै थाहा थियो कि ऊ विद्वान् वकिलका जस्तै कुरा गथ्र्यो । म कालो कोट लगाउने हो, बहस गर्ने हो भन्थ्यो ।

तर बा-आमाले उसको कुरा सुनेनन् । यत्रो नम्बर ल्याएर पनि कानुन पढ्ने हो ? आफन्तले के भन्छन् ? मामाको छोराले साइन्स पढ्या छ, सानिमाको छोरीले इन्जिनियरिङ पढेकी छ तँ मात्रै … के भन्छन् उनीहरूले ?

त्यो छोरालाई बाआमाले यति धेरै दबाब दिए कि ऊ आफ्नो मन मारेर बाआमाको खुशीको लागि विज्ञान संकायमा भर्ना भयो । एक वर्ष पढ्यो तर उसले दिलदेखि पढेन । पास मात्रै भयो ११ कक्षाको नतिजामा, उता मामा, सानिमाका छोराछोरीले कलेज टप गरेका थिए ।

त्यसपछि भने बाआमालाई निकै तनाव भयो । धेरैतिरको दबाब र छोराको आफ्नै असन्तुष्टिका कारण बरु एक वर्ष ढिला होस्, उसको रोजाइको कानून नै पढाउने निर्णय गरे । छोराले एघार, बाह्र दुवै कक्षामा कलेज टप गर्‍यो ।

हिजो यस्तो विषय पनि कोही पढ्छ ? भन्ने बाआमा मेरो छोराले कलेज टप गर्‍यो, बाआमालाई कलेजले सम्मान गर्‍यो भन्दै छिमेकमा लड्डु बाँड्दै हिंडेका देखिन्थे ।

यदि त्यो बाबुलाई बाआमाको इज्जतकै लागि विज्ञान नै पढाइदिएको भए ऊ विस्तारै डिप्रेसनको शिकार हुन्थ्यो । तर अहिले ऊ आफ्नो रोजाइको विषय पढेकोमा, अब्बल नतिजा ल्याउन सकेकोमा यति खुशी देखिन्छ कि मानौं यो संसारको सबैभन्दा खुशी उही छ जसरी ।

तिनै बाआमाले पोहोर साल एसईई उत्तीर्ण गरेकी छोरीलाई उसकै रोजाइमा वाणिज्य संकायमा भर्ना गरिदिए । बल्ल चेत आयो, यो चेत सबै बाआमामा कहिले आउने ? हामी किन अरूलाई देखाउन चाहन्छौं ?

एकजना आफन्तले सबैका छोराछोरी विदेश गए, उनीहरूलाई देखाउन भए पनि तँ विदेश जा भनेर एक्लो छोरालाई विदेश पढ्न भनेर पठाइन् । रहरले होइन, आमाको करले अष्ट्रेलियामा गएको छोराले यति हन्डर खायो कि न राम्रोसँग पढ्न पायो, न कमाउन सक्यो । उल्टै पैसा पठाएर नेपाल फिर्ता बोलाउन बाध्य भइन् आमा ।

छोराको जाने मनसाय नै छैन, अरूलाई देखाउनको लागि आमाको मन राख्न ऊ विदेश गयो तर न पढ्न सक्यो, न कमाउन … । विस्तारै डिप्रेसनमा छोरो जान थालेको थाहा पाएपछि नेपाल फिर्ता बोलाएँ, अहिले आफ्नै व्यवसाय गरेर बसेको छ, ऊ खुशी छ ।

हामी आफू जे हुन सकेनौं त्यही छोराछोरी होउन् भन्ने चाहन्छौं । हो, आशा राख्न पाइन्छ, छोराछोरीमा लगानी गरेपछि त्यही अनुसारको अपेक्षा राख्नु नाजायज होइन तर मलजल, गोडमेल सबै गर्दा पनि उत्पादन भनेजति आउँदैन नि होइन र ? सबै धनीहरू खुशी हुँदैनन्, सबै धेरै नम्बर ल्याउनेहरू सफल हुँदैनन् । बच्चाहरूलाई सधैं जित्न होइन, हार्न पनि सिकाउनुपर्छ । हार्नु कमजोर हुनु होइन, थप मजबुत हुनु हो भन्ने ज्ञान दिऊँ । नम्बर भन्दा ठूलो जिन्दगी हो, यो कुरा बुझौं ।

लेखकको बारेमा
यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?