+
+

जेलमा चिनेको साथीसँग मिलेर अपहरण, फिरौती लिएको दुई महिनापछि पक्राउ 

हरि अधिकारी हरि अधिकारी
२०८० असार २७ गते १९:२२

२७  असार, विराटनगर । सुनसरीका दुई युवकको अपहरण गरी फिरौती लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारतीय गिरोहसँग मिलेर चिनजानकै साथीको अपहरण गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का २९ वर्षीय सन्तोष बस्नेतलाई  पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार बस्नेतले भारतीय नागरिक इम्तियाजसहितको गिरोहसँग मिलेर बराहक्षेत्र नगरपालिका-५ का १९ वर्षका सौगात भण्डारी र २२ वर्षका छविलाल आचार्यको अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए ।

प्रहरीका अनुसार सौगात भण्डारी, छविलाल आचार्य, हरि आचार्य र सुनिल गरी २५ वैशाखको दिउँसो भारतको बेला बजारमा किनमेल गर्न गएका थिए । त्यहाँबाट फर्किँदा सौगात र छविलाल चढेको मोटरसाइकल नियन्त्रणमा लिँदै इम्तियाजसहित सात जनाको समूहले उनीहरुको अपहरण गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका सन्तोष बस्नेत र अपहरणमा परेका दुई युवाबीच सामान्य चिनजान थियो ।

अपहरणकारीले बन्धक बनाएर राखेको भोलिपल्ट  वैशाख २६ गते सौगातका बाबुलाई फोन गरेर ५०  लाख रुपैयाँ फिरौती मागेका थिए । धम्कीसहितको फोन आएपछि सौगातका बाबुले फिरौतीवापत  वैशाख २६ गते सन्तोष बस्नेतलाई १ लाख ५० हजार रूपैयाँ बुझाएका  थिए । प्रहरीले सन्तोषको घरबाट सो रकम पनि बरामद गरेको डीएसपी राईले बताए ।

अपहरणमा परेका सौगात र छविलाल भने वैशाख २७ गते अपहरणकारीको कब्जाबाट फुत्किएर नेपाल आएका थिए  । प्रहरीका अनुसार अपहरणकारीले दुवै जनालाई भारतको बेला बजारको भित्री एरियामा स्थान परिवर्तन गर्दै बन्धक बनाएर राखेको थियो । उनीहरुले आफूहरु शौचालयको झ्यालबाट भागेर नेपाल आएको बताएका छन् ।

घटनाको  जानकारी पाएपछि अनुसन्धान सुरु गरेको प्रहरीले असार २५ गते बस्नेतलाई सुनसरीको बराहक्षेत्र–१ स्थित झण्डा चोकबाट पक्राउ गरेको हो ।  बस्नेत अपहरणको योजना बनाउने, फिरौती रकम माग्ने तथा रकम बुझ्ने कार्यमा संलग्न  भएको प्रहरीको दाबी छ । डीएसपी  राईका अनुसार बस्नेत र बन्धक बनाउने अपराधिक पृष्ठभूमिका भारतीय नागरिक इम्तियाज लागूऔषध कारोबारी पनि हुन् ।  इम्तियाज सीमा क्षेत्रमा हुने अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ  ।

बस्नेत लागूऔषध मुद्दामा भारतको सुपौल जिल्ला काराबारमा १० महिना बसेर छुटेको पाइएको  डीएसपी राईले बताए । सन्तोषको भेट भारतीय नागरिक इम्तियाजसँग जेलमै भएको थियो । ‘यी दुई जना जेलमा सँगै हुँदा चिनजान भएको  देखिन्छ’ उनले भने  ।

बस्नेतको घरबाट प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा फेन्सिडलगायतका लागूऔषध पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?