+
+

नेप्सेमा २५.३१ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८० असार २७ गते १५:५२

२७ असार, काठमाडौं । सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २५.३१ अंकले वृद्धि हुँदा २०९७.५५ को विन्दुमा बन्द भएको छ ।

असार मसान्तमा आयकरको अन्तिम किस्ता बुझाउने समेय भएकाले केही दिन यता सेयर बिक्रीको चाप बढ्दा नेप्सेमा गिरावट भएपनि बुधबार भने १.२२ प्रतिशतले बढेर बन्द भएको छ ।

बैंकिङ प्रणाली करिब १ खर्बको अधिक तरलताको अवस्थामा पुग्दा अन्तर बैंक ब्याजदर घटेर १ प्रतिशतमा झरेको छ । जसले गर्दा साउनदेखि निक्षेपको ब्याजदरमा कायम गर्दै आएको भद्र सहमति खारेज गर्दै ब्याजदर बजारलाई छोड्ने तयारी बैंकर्स संघले गरेका छन् । यदि भद्र सहमति खारेज नभए पनि साउनदेखि निक्षेपको ब्याजदर थप घट्ने एक बैंकर्सले बताए ।

जसले गर्दा पनि असार मसान्तमा सेयर लगानीकर्तालाई पोजेटिभ प्रभव पर्दा बुधबार नेप्सेमा वृद्धि भएको हो । बुधबार लगानीकर्ताको रोजाइमा हाइड्रोपावर क्षेत्र देखिएको छ । हाइड्रोपावर कम्पनीको सेयरमूल्य लगातार घट्दा निराश देखिएको उक्त क्षेत्रका लगानीकर्ता बुधबार उत्साहित भएका छन् । हाइड्रोपावर उपसूचक बुधबार सर्वाधिक ४.४१ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक १.८७ प्रतिशत र म्युचुअल फण्ड उपसूचक १.७६ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै अन्य उपसूचक १.०४ प्रतिशत र उत्पादनमूलक उपसूचक १.०६ प्रतिशतले बढेको हो । मंगलबार लगानीकर्ताको रोजाइमा परेको वित्त कम्पनी उपसूचक बुधबार भने सर्वाधिक १.९५ प्रतिशतले गिरावट भएको छ । यस्तै होटल तथा पर्यटन उपसूचक पनि ०.८७ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि बढेको छ । लगातार ३ अर्ब माथिको कारोबार भइरहेको बजारमा मंगलबार भने ३ अर्बबाट तल झरेको थियो । बुधबार बजारमा ५९ हजार ५३९ वटा कारोबारमा ८५ लाख ४ हजार ३७८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ३ अर्ब ७८ करोड ७७ लाखको सेयर कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३३ करोड ९४ लाखको कारोबार हुँदा हिमालयन लाइफ इन्स्योरेन्सको ९ करोड २३ लाख र सोल्टी होटलको ९ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २२४ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८५ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १ कम्पनीको सेयरमूल्य भने स्थिर छ । बुधबार कारोबार भएकामध्ये शिवश्री हाइड्रोपावर, सीवाईसी नेपाल लघुवित्त र रिभर्स फल्स हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्ड, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको इकाइमूल्य ९.९९ प्रतिशत, शुभम् पावर कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशत र नेशनल हाइड्रोपावरको सेयरमूल्य ९.९६ प्रतिशतले बढेको छ ।

यता रावा इनर्जी लिमिटेको सेयरमूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द हुँदा नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य ५.२६ प्रतिशत र समृद्धि फाइनान्सको सेयरमूल्य ३.७२ प्रतिशतले गिरावट भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?