+
+
अन्तर्वार्ता :

डोनाल्ड लु भेटेपछि परराष्ट्रमन्त्री : एसपीपीको कुरा उठेन, बंगलादेशसँग विद्युत् व्यापारबारे कुरा भयो

हाम्रो भारतसँगको व्यापार घाटा घटाउन सक्ने, बंगलादेशसँग विद्युत् व्यापार लाई व्यवस्थित गर्न सक्ने कुरा उठायौं । उहाँले बंगलादेशका प्रधानमन्त्रीसँग आफूले कुरा गर्दा बंगलादेश नेपालसँग बिजुली व्यापार गर्न इच्छुक रहेको जवाफ पाएको सुनाउनुभयो ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० असार २९ गते १९:२२

एक वर्षपछि काठमाडौंमा ओर्लिएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग भेटवार्तापछि परराष्ट्रमन्त्री एनपी साउदसँग अनलाइनखबरका प्रश्नहरु :

एक वर्षपछि फेरि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आउनुभयो । के कुरा भयो

उहाँ (डोनाल्ड लु) ले एमसीसी अन्तर्गतका कार्यक्रमहरुको कार्यान्वयनमा भइरहेको प्रगतिबारे चासो राख्नुभयो ।

नेपालले यसलाई संसदबाट अनुमोदन गरिसकेको हुनाले एमसीसीका परियोजनाहरु आगामी अगस्टबाट कार्यान्वयनको चरणमा जानेछन् । नेपाल यसका लागि तयारी अवस्थामा छ भनेर हामीले राख्यौं ।

नेपालका तर्फबाट यसका अलावा के कुरा राखियो ?

नेपाल सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने सोच अन्तर्गत अघि बढिरहेको हुनाले यस लक्ष्य प्राप्तिका लागि अमेरिकी सहयोग निरन्तर हुनुपर्छ भनेर हामीले उहाँसँग प्रस्ताव राखेका छौं ।

अहिले नेपालले अमेरिकाबाट पाइरहेका सहयोगहरु निरन्तर हुनुपर्ने अपेक्षा राखेका छौं ।

यसका अलावा नेपालीलाई अमेरिका जाने भिसाको मितिमा धेरै लामो ग्याप रहने गरेकाले त्यो समय-अन्तर घटाइदिन आग्रह गर्‍यौं।

उहाँले काठमाडौंस्थित अमेरिकी दूतावासको क्षमता अभिवृद्धि गरेर त्यो ग्याप छोटो गर्ने बताउनुभएको छ । साथै हामीले अमेरिकाका लागि भिसा महँगो भएको समस्या राख्यौं । उहाँले त्यहाँको कानुन अन्तर्गत भिसा शुल्क सम्बन्धी नियम निर्देशित रहेको बताउनुभयो ।

यसपल्ट भएको अर्को कुरा चाहिं अमेरिकी डायस्पोरामा नेपालीहरुको उपस्थितिले नेपाल-अमेरिका सम्बन्धलाई सकारात्मक दिशातर्फ अघि बढाएको चर्चा भयो ।

अमेरिकाको अर्थतन्त्र विकासमा नेपालीहरुले गरेको योगदानको डोनाल्ड लु ले उच्च प्रशंसा गर्नुभएको छ ।

अमेरिकी समाजमा नेपाली समुदायको उपस्थिति यसैगरी बलियो हुँदै जाओस् भन्ने हामी चाहना राख्छौं भनी उहाँले भन्नुभयो ।

डोनाल्ड लु को अघिल्लो भ्रमणमा एसपपीलगायत मुद्दाले राजनीति कटनीति निकै तरंगित रह्यो । यसपल्ट त्यसको बारेमा के कुरा उठ्यो ?

त्यस्तो कुनै कुरा उठेन । एसपीपीको सन्दर्भ आएको छैन । दुईवटै देशका बीचमा यसको कार्यान्वयनलाई लिएर कुनै विवाद छैन । समयमा सम्पन्न गर्नुपर्छ भन्ने स्पष्ट छ ।

एसपपीको चाहिँ कुरै उठेन र ?

अहँ ।

एमससीको तोकिएको समयमा परियोजनाहरु नसकिने सम्भावना पनि छ । नेपालले चाहेजति लाभ नलिन पनि सक्छ, समयका कारणले । यसलाई सहज बनाउने बारेमा अमेरिकाको भूमिका के होला भन्नेमा केही कुरा भयो ?

धेरै कुराहरु भएका छन् । हाम्रो भारतसँगको व्यापार घाटा घटाउन सक्ने, बंगलादेशसँग विद्युत व्यापार लाई व्यवस्थित गर्न सक्ने कुरा उठायौं । उहाँले बंगलादेशका प्रधानमन्त्रीसँग आफूले कुरा गर्दा बंगलादेश नेपालसँग बिजुली व्यापार गर्न इच्छुक रहेको जवाफ पाएको सुनाउनुभयो ।

एमससीमा अरु केही अपेक्षा रहेछ ?

नेपाल आफैं संसदबाट पारित गरेर कार्यान्वयनमा प्रतिबद्ध भइसकेकाले यसमा थप सोधिराख्न आवश्यक भएन ।

 नेपालले चीनसँग बीआरआई परियोजना अघि बढाउने सहमति गरेकोबारे अमेरिकाले पक्कै चासो राख्यो होला ?

अर्को देशसँगको परियोजनाबारे अमेरिकासँग छलफल गर्ने कुरै भएन नि !

तै पनि यो स्तरको भ्रमण हुनुका पछाडि केही न केही मुख्य चासो त पक्कै होला ?

दुई देशका बीचमा जुन स्तरको सम्बन्ध छ, यो अझै घनिष्ट हुनुपर्छ भन्ने नै हो । अब दुवैतर्फबाट उच्च स्तरीय भ्रमण हुनुपर्छ भन्ने दुवैतर्फको सहमति छ । उहाँको भ्रमण सौहार्दपूर्ण नियमित भ्रमण मध्येको एउटा हो ।

परराष्ट्रमन्त्रीका रुपमा तपाले उहाँसँग कुरा गर्नुभयो । प्रधानमन्त्री प्रचण्ड पत्नी वियोगको शोकमा हुनुहुन्छ । उहाँका तर्फबाट अमेरिकी सहायक मन्त्रीसँग कसले कुरा गर्‍य?

उहाँको र प्रधानमन्त्रीको पनि भेट हुँदै छ नि !

तर शोक व्यक्त गर्ने बाहेक कुनै औपचारिक कुरा होला र ?

भेट भएपछि सबै कुरा भइहाल्छ नि ! विस्तृत रुपमा नभए पनि कुरा त भइहाल्छ । विषयवस्तु क्याटागोरिकल्ली नभए पनि कुरा चाहिं हुन्छ ।

उसोभए निकट भविष्यमा कुनै उच्चस्तरीय भ्रमणको तयारी हुनेवाला छ ?

उच्चस्तरीय भ्रमण हुनुपर्छ भन्ने छ । त्यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ ।

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?